Sunday, April 10, 2016

बूढीगण्डकीमा विश्वकै तेस्रो उच्च बाँध

भीम गौतम / राजधानी
काठमाडौं, २७ चैत
बहुचर्चित १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनामा विश्वकै तेस्रो ठूलो उच्च बाँध ‘डब्बल कर्भेचर आर्च ड्याम’ बन्ने भएको छ । सरकारले उच्च प्राथमिकता दिएर आगामी वर्षदेखि निर्माण अघि बढाउन लागेको बूढीगण्डकी आयोजनामा विश्वकै तेस्रो र दक्षिण एसियाकै पहिलो डबल कर्भेचर आर्च ड्याम बन्न लागेको हो ।
परामर्शदाता कम्पनी ट्राकवेलाले तयार गरेको बूढीगण्डकीको अन्तिम विस्तृत डिजाइन प्रतिवेदन (डीडीआर) अनुसार, नेपालमा २ सय ६३ मिटर उचाइ भएको यस्तो ड्याम बन्न लागेको छ । विश्वमा चीनको थाङलोन नदीमा निर्माण भएको ३ सय ५ मिटर उचाइको जेङपिङ–१ जलविद्युत् हालसम्मकै सबैभन्दा अग्लो डबल कर्भेचर आर्च ड्याम हो । यस्तै, टर्कीको कोरु नदीमा २ सय ७० मिटर उचाइ रहेको युसुफेली बाँध निर्माणाधीन छ । ‘बूढीगण्डकीमा २ सय ६३ मिटरको डबल कर्भेचर आर्च ड्याम बन्दै छ, यो हालसम्मको चीनमा निर्माण सम्पन्न भइसकेको र टर्कीमा निर्माण भइरहेको भन्दा तेस्रो ठूलो बाँध हो,’ बूढीगण्डकी जलविद्युत ्विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले राजधानीसँग भने, ‘आगामी बर्षदेखि निर्माण सुरु गर्ने लक्ष्य राखिएको यो आयोजनाको ठूलो बाँध संसारकै लागि आकर्षण बन्न सक्छ ।’

सिंगलमा एकातिर मात्र भकुन्डोजस्तो आर्च रहनेमा डबल कर्भेचर आर्च ड्याममा भने दाँयाबायाँ, तलमाथि दुवैतिर आर्च रहन्छ । बूढीगण्डकीमा बनाइने ड्यामबाट स्पेल वे भएर बहने पानीबाट ६ झर्ना आउने गरी डिजाइन गरिएको छ । यी झर्नाले धेरै पर्यटकलाई आकर्षण गर्न सक्ने गरी डिजाइन गरिएको छ । ‘डबल कर्वेचर आर्क ड्याम भएको जलाशययुक्त आयोजना एसियामै छैन, यसले धेरै पर्यटकलाई आकर्षण गर्न सक्छ,’ इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका सहप्राध्यापक डा. भोला घिमिरेले भने, ‘यस्ता झर्ना भएको जलाशययुक्त आयोजना अमेरिकाको नियाग्राफलमा पनि छ, चीनमा पनि छ, यहाँ विश्वकै सबैभन्दा बढी पर्यटक जान्छन् ।’
सरकारले बूढीगण्डकी आयोजनालाई कुन मोडेलमा जाने र लगानी कसरी जुटाउने भन्नेबारे पनि हालसम्म निर्णय गरिसकेको छैन । हाल विकास समितिमार्फत अघि बढाउने गरी समितिले काम गरिरहेको भएपनि सरकारले हालै सार्वजनिक गरेको ऊर्जासंकट निवारण दशकको अवधारणा र कार्ययोजनामा यसलाई क्रमशः कम्पनीमार्फत अघि बढाउने उल्लेख छ ।
२ खर्ब ५९ अर्बबराबरको लागत अनुमान गरिएको आयोजनाको वित्तीय व्यवस्थापन गर्नेबारे समेत सरकारले निर्णय गरिसकेको छैन । तर, आयोजनाको डीडीआर र टेन्डर विवरण भने तयार भइसकेको छ । ‘तत्काल निर्णय भएमा आयोजना अघि बढाउन सक्ने अवस्था छ, विस्तृत डिजाइन र टेन्डर डकुमेन्ट पनि तयार छ,’ विकास समितिका अध्यक्ष डा. लक्ष्मी देवकोटाले भने, ‘हालसम्म कसरी अघि बढ्ने भन्ने सरकारले निर्णय गरिसकेको छैन ।’ समितिका अनुसार, निर्माण सुरु भएपछि आयोजना सम्पन्न गर्न कम्तीमा साढे ६ वर्ष लाग्छ ।

विद्युत् उत्पादन बढ्ने

१२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बढ्ने भएको छ । पहिला आरुघाटमा पानीको बहाव मापन गरेकामा पछिल्लो समयमा प्रस्तावित कल्लेरीको बाँधस्थित बहाव मापन केन्द्रमार्फत गरिएको अध्ययनले विद्युत् उत्पादन बढ्ने देखिएको हो ।
पहिले ३३ सय ८२ जिगावाट आवर (जीडब्लूएच) विद्युत् उत्पादन गर्ने प्रक्षेपण गरेकामा आयोजनाको पछिल्लो विस्तृत डिजाइन प्रतिवेदन (डीडीआर) ले ४२ सय ५० जीडब्लुएच विद्युत् उत्पादन पुग्ने देखिएको बूढीगण्डकी जलविद्युत् विकास समितिका अध्यक्ष डा. लक्ष्मी देवकोटाले जानकारी दिए । ‘पहिले ३ सय ४० करोड युनिट उत्पादन गर्ने लक्ष्य राखिएकामा बढेर ४ सय २५ करोड युनिट पुगेको छ, ८५ करोड युनिट थपिएको पहिला ३ सय ४० करोड युनिट उत्पादन गर्ने लक्ष्य राखिएकामा बढेर ४ सय २५ करोड युनिट पुगेको छ,’ उनले भने, ‘प्रतिसेकेन्ड पानीको बहाव पहिला २ सय २२ घनमिटर रहेकामा कल्लेरीमा गरेको अध्ययनले २६ प्रतिशत बढेको देखिएको छ ।’
http://rajdhani.com.np/article/0349580001460294243

No comments: