Saturday, April 2, 2016

१५ वर्षमै प्रतिव्यक्ति आय तेब्बर

भीम गौतम / राजधानी
काठमाडौं, १८ चैत
राष्ट्रिय योजना आयोगले आगामी १५ वर्षभित्र प्रतिव्यक्ति कुल राष्ट्रिय आय तेब्बर बनाउने गरी प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०१६ देखि सन् २०३० सम्मलाई दीर्घकालीन विकास लक्ष्य (एसडीजी) कोे नेपाल प्रतिवेदन मस्यौदा सार्वजनिक गर्दै आयोगले प्रतिव्यक्ति आय २५ सय अमेरिकी डलर पु¥याउने घोषणा गरेको हो ।
सन् २०१४ का अनुसार, हाल नेपालीको प्रतिव्यक्ति आय ७ सय ७२ अमेरिकी डलर रहेको छ । सबै ठाउँबाट सबै स्वरूपका गरिबीलाई अन्त्य गर्ने लक्ष्यअन्तर्गत प्रतिव्यक्ति आयलाई सन् २०१७ सम्म १ हजार २६ डलर, २०२० सम्म १३ सय ६३, २०२२ सम्म १६ सय ४७ र २०२५ सम्म २ हजार २९ डलर पु¥याउने लक्ष्य प्रतिवेदनमा राखिएको छ ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा दिगो विकासका लक्ष्यहरू सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले प्रतिव्यक्ति आयलाई २५ सय अमेरिकी डलर पु¥याउने लक्ष्य राखिएको जानकारी दिए । ‘एसडीजीलाई कार्यान्वयन नेपालले दिगो विकास लक्ष्यहरू निर्धारण गरी प्रारम्भिक मस्यौदा बनाएका छौं, यसलाई ६ महिनाभित्र अन्तिम रूप दिन्छौं,’ खतिवडाले भने, ‘त्यसपछि यसको कार्यान्वयन कार्यविधि र बजेट व्यवस्थापनको काम गर्छौं ।’
उपाध्यक्ष खतिवडाले आगामी वर्षदेखि नै एसडीजीलाई आधार बनाएर बजेट तथा कार्यक्रम बनाउने जानकारी दिए । उनका अनुसार अधिकारमा आधारित भएर एसडीजीका लक्ष्य निर्धारण गरिएको छ ।
सन् २०३० भित्र एसडीजीले प्रतिदिन १ दशमलव २५ डलरभन्दा कम आय भएको जनसंख्या हाल २४ दशमलव ८ प्रतिशत रहेकोमा ५ प्रतिशतमा झार्ने, २३ दशमलव ८ प्रतिशत रहेको गरिबीलाई ५ प्रतिशतमा झार्ने, कुल बजेटमा हाल सामाजिक सुरक्षा खर्चको अनुपात ११ दशमलव ३ प्रतिशत रहेकोमा १५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।
नेपालले सन् २०३० भित्र भोकमरीको अन्त्य गर्ने तथा खाद्य सुरक्षा र उन्नत पोषण प्राप्ति गर्ने र दिगो कृषि प्रवद्र्धन गर्ने लक्ष्य राखी हाल ३६ प्रतिशत रहेको पर्याप्त खाद्य उपयोग नभएका घरधुरी संख्यालाई १ प्रतिशतमा झार्ने, हाल प्रति १ लाखमध्ये २ सय ५८ मातृमुत्युदर रहेकोमा ७० जनामा झार्ने, प्राथमिक तहमा खुद भर्ना दर हाल ९६ दशमलव २ प्रतिशत रहेकोमा ९९ दशमलव ५ प्रतिशत पु¥याउने लक्ष्य पनि अघि
सारेको छ ।
त्यसैगरी साढे ४९ प्रतिशत रहेको खानेपानीको पहुँच ९५ प्रतिशत पु¥याउने, ७४ प्रतिशत रहेको बिजुलीको पहुँच ९९ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । नेपालले तय गरेको लक्ष्यका आधारमा विकास रणनीतिहरू बनाइने, आयोगले बनाउन लागेको त्रिवर्षीय योजनामा पनि समावेश गरिने आयोगले जनाएको छ । लक्ष्यहरू हासिल गर्न प्रविधि बैंकको स्थापना गर्ने तयारी अघि बढाइएको पनि उपाध्यक्ष खतिवडाले जानकारी दिए । सहस्राब्दी विकास लक्ष्यमा विगतमा साधन स्रोतको अभाव, आन्तरिक क्षमता कमजोर, विकास वितरणमा असन्तुलनजस्ता समस्या भोगकाले त्यसबाट पाठ सिकेर सबै लक्ष्यको पहुँच, उपयोगिता र गुणस्तरमा ध्यान दिइने आयोगको भनाइ छ ।
http://rajdhani.com.np/article/0157240001459470589

No comments: