Saturday, April 23, 2016

सोलु कोरिडोरमा लेखा समितिको चासो

मन्त्रीले भने– प्रगति प्रतिवेदन बनाउँदैमा मन्त्रालय हैरान

काठमाडौं÷रास– संसद्को सार्वजनिक लेखा समितिले १ सय ३२ केभीको सोलु कोरिडोर प्रसारण लाइनको ठेक्का प्रक्रियाबारे चासो दिँदै छानबिन प्रक्रिया अघिबढाएको छ । गत भदौमा ठेक्का दिएर यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिँदै ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै छानबिन गरेपछि सर्वोच्च अदालतमा पुगिसकेको यस प्रकरणबारे फेरि लेखा समितिले छानबिन अघि बढाएको हो ।
अदालतले तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीलगायतलाई यस प्रकरणमा सफाइ दिएको छ । समयमै प्रसारण लाइन नबनेमा ४५ प्रतिशतसम्म क्षतिपूर्ति दिनुपर्ने भए पनि लेखा समितिले यसबारे विषय उठान गरेर फेरि ठेकेदार छनोट प्रक्रियाबारे नै छानबिन अघि बढाएको छ ।
बिहीबार उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उर्जा सचिव सुमनप्रसाद शर्मा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बोलाएर जानकारी लिएको थियो । बैठकले तत्कालीन अवस्थामा प्राधिकरण बोर्ड बैठकमा ठेक्का प्रक्रियामा असहमति जनाउने तत्कालीन ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीलाई आज शुक्रबार बोलाएर जानकारी लिने निर्णय गरेको छ ।
बैठकमा उपप्रधान एवं ऊर्जामन्त्री रायमाझीले काम नरोक्ने गरी छानबिन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । ‘अनियमितता भएको भए छानबिन गर्नुस् तर आयोजनाको काम रोक्ने काम नगर्नुस्,’ उनले भने, ‘जलविद्युत्मा समस्यै समस्या थुप्रिएकाले यसलाई समाधान गरी सहकार्य गर्नुपर्ने अवस्था छ ।’ उनले मन्त्रालय आफ्नो काम नगरी अख्तियारदेखि लेखा समिति, कृषि तथा जलस्रोत, प्रधानमन्त्री कार्यालयलगायतमा प्रगति वितरण बनाउनमै केन्द्रित हुनुपरेको बताउँदै यो हैरानीको अन्त्य हुनुपर्नेमाजोड दिए ।
समयमै प्रसारण लाइन नबनाउँदा प्राधिकरण सोलु कोरिडोर क्षेत्रका जलविद्युत् आयोजनालाई ४५ प्रतिशतसम्म हर्जना तिर्नुपर्ने विद्युत् खरिद सम्झौता (पीपीए)मा उल्लेख छ । सोलु कोरिडोरको ठेक्का प्रकरणमा २७ करोड कम कबोलेको ठेकेदार कम्पनीलाई प्राधिकरण सञ्चालक समितिले दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीलगायतलाई कारबाही गर्न निर्देशन दिएको थियो । सोहीअनुसार तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई बर्खास्त गरेका थिए, तर यस प्रकरणमा हालै ज्ञवालीले सर्वोच्च अदालतबाट सफाइ पाइसकेकी छन् ।
http://rajdhani.com.np/article/0132770001461284807

No comments: