हुलाकी राजमार्गको अहिलेको अवस्था के छ ?
राजमार्गको
काम नेपाल र भारत सरकारबीच सम्झौता भई कार्य अघि बढाइएको हो । विभिन्न
चरणमा विभिन्न सम्झौता भएका छन् । सन् २००४ मा नेपाल सरकारले भारत सरकारलाई
जिम्मा लगाएको हो । सन् २००६ मा अर्को सम्झौता भएर विस्तृत अध्ययन
प्रतिवेदनका लागि पनि भारत सरकारलाई जिम्मा लगाइएको हो । सन् २०१० मा यो
कार्यन्वयनको चरणमा गएको हो ।सोही अनुसार भारत सरकारकै आर्थिक सहयोगमा ५ सय
१८ किलोमिटर सडक निर्माण गर्ने कुरा छ । यसमा १९ ओटा सडक पर्छ ।
हुलाकी
राजमार्गलाई तराई सडक भने पनि हुन्छ । यसमा तराईका सबै जिल्लादेखि भारतसँग
जोड्ने ३२ सडक पर्छन् । सबै सडक गरेर १७ सय ९२ किलोमिटर छ । दुई चरणमा सडक
निर्माण कार्य अघि बढाउने सम्झौता भएको छ । भारतसँग पटकपटक सम्झौता भए पनि
यसको कार्यान्वयन भने हुन सकेको छैन । सम्झौतामा सडक भारत सरकारले बनाउने र
पुल नेपाल सरकारले बनाउने भन्ने थियो । पुल नेपाल सरकारले सुरु गरिसकेको छ
। अनुमानित १ सय ५० पुल बनाउनुपर्ने छ । यसमध्ये ४५ ओटा पुल सम्पन्न
भइसकेको छ । ५८ वटा पुल निर्माणाधीन छ । यो वर्ष अरू २८ वटा पुल निर्माणको
काम सुरु गर्दछौं । सबै पुल निर्माणको काम आगामी दुई वर्षभित्र पूरा
गरिसक्छौं ।
सडकको अवस्था त त्यति सन्तोषजनक देखिएन नि ?
सडकको
अवस्था के छ भने भारत सरकारले प्राविधिक सहयोग गर्ने र निर्माण गर्ने
भन्ने छ । यसमा सरकारले सडक पर्ने बनजंगल र जग्गा जमिन, घर टहराको जमिन
खरिद गरिदिने सम्झौता छ । केही कारणले काम अघि बढ्न सकेको छैन । एक अर्का
देशलाई दोष देखाउने काम भईरहेको छ । ६ सय ७ किलोमिटरमध्ये हालसम्म जम्मा ७०
किलोमिटर मात्र निर्माण सम्पन्न भएको छ । त्यसपछि ठेक्का तोडियो र भारतले
आर्थिक सहयोग दिने र नेपालले निर्माण गर्ने सम्झौता भएको छ । हालै नेपालका
प्रधानमन्त्री भारत भ्रमणमा जानेक्रममा यसको सम्झौता पनि भएको छ । बाँकी
सडक निर्माणका लागि टेण्डर आह्वान त भयो तर काम अघि बढेको छैन । यी सडकमा
भारतीय परामर्शदाता त नियुक्त भए तर त्यो हाम्रो आयोजनासम्म आईपुगेको छैन ।
त्यो परामर्शदातासँग नेपालको सम्झौता भएको छैन । राष्ट्रपति विद्यादेवी
भण्डारीको भारतमा हुने भ्रमणको क्रममा सम्झौता हुने कुरा थियो तर भ्रमण
स्थगित भएको मिडियामा आएको छ । अब प्रक्रिया कसरी अघि बढ्छ, अन्योल नै छ ।
भारतीय परामर्शदाता नआईकन सडक निर्माणको काम अघि बढ्दैन । भारतले ढिलो
गर्दा नेपालले पैसा दिने सम्झौता भएको छ, खोई अर्थ मन्त्रालयबाट पैसा आएको
छैन । यसकारण यसमा केही जटिलता छ । यो दुई देशबीचको कुरा छ । अहिले त
हुलाकी राजमार्गको काम केही भएकै छैन ।
दुई देशबीच सम्झौता हुँदा त सडक निर्माण छिट्टै अघि बढाउने कुरा नै थियो क्यार होइन ? अब कसरी अघि बढ्छ त ?
सडक
निर्माण अघि बढाउनका लागि टेन्डर प्रक्रिया नै अघि बढिसकेको छ । कतिपय
सडकको ठेकेदार कम्पनी छनोट भइसकेको छ भने कतिपय हुने चरणमा छन् । पैसा नभई
सम्झौता हुँदैन ।
राजमार्गको लागत कति हो र, कसरी आर्थिक व्यवस्थापन हुँदै छ ?
१७
सय ९२ किलोमिटर लामो हुलाकी राजमार्गमध्ये ६ सय ७ किलोमिटर मात्र भारतीय
सहयोगमा निर्माण हुने भनेको हो । सबै सडकका लागि त ५० अर्ब लाग्छ । भारतीय
सहयोगमा निर्माण हुन बाँकी रहेको ५ सय १८ किलोमिटरका लागि १३ अर्बको लागत
अनुमान छ । यसका लागि भारतले ८ अर्ब रुपैयाँ दिने सम्झौता गरेको छ । ५ अर्ब
पैसा कहाँबाट ल्याउने हो । यो हामीले अर्थमन्त्रालयसँग माग गरेका छौ ।
बाँकी सडक निर्माणबारे कुनै सम्झौता भएको छैन । तराईका धेरै जनतालाई फाइदा
हुने हुनाले धेरैको चासो पनि छ । संसद्को विकास समितिले नेपाल सरकारकै
लागतमा बनाउन भनेर निर्देशन पनि दिएको छ । यी सबै नीतिगत कुरा होइन,
मेरोस्तरबाट हुने होइन । हामीले निर्णय गरेर अर्थ मन्त्रालय पठाइसकेका छौं ।
हुलाकी राजमार्ग बनेपछि के–के फाइदा हुन्छ त ?
हुलाकी
राजमार्ग बनेपछि फाइदै फाइदा हुन्छ । अहिले सबैको ध्यान तराईमा छ । तराईका
धेरै जिल्ला आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका सूचांकमा कमजोर
अवस्थामा छन् । यो आयोजनाले त धेरै माथि उठाउँछ । सडक बनेपछि तराईका करोडौं
जनता प्रत्यक्ष लाभान्वित हुन्छन् । हुलाकी राजमार्गअन्तर्गत बन्ने कतिपय त
राणकालदेखिकै सडक छन् ।
हुलाकी राजमार्ग बनाउने हल्ला चलेको त धेरै भयो तर किन यति ढिलाई ? यति सुस्त ? यसमा गम्भीर चासो नभएर हो ?
यो
बारेमा म भन्न सक्दिन । किनभने म यहाँ आएको धेरै भएको छैन । आएपछि धेरै
साइजमा आईसकेको छ । अध्ययन, लागत अनुमान, डिजाइन लगायतका सबै काम सकिएका
छन् । किन ढिलाइ भयो, यो त नीतिगत तहमा सोध्नुपर्ने विषय हुन् । परियोजना
प्रमुखका रूपमा मैले गर्नुपर्ने काम गरेको छु । अहिले रोकिएको प्रमुख कारण
बजेट नभएर हो । पहिलाको अर्थसचिवले भारत सरकारले नदिएमा नेपाल सरकारबाटै
बजेट व्यवस्थापन गर्ने निर्णय गर्नुभएको थियो तर अहिले अर्थ मन्त्रालयले
बजेट दिइरहेको छैन । यही कारण रोकिएको हो । पैसा नभई त कसरी आयोजना अघि
बढ्छ र । अर्थमन्त्री पनि यसमा हामीले सकारात्मक पाएका थियौ । किन रोकियो
थाहा भएन । पैसाको व्यवस्था नभईकन सडक कहिले अघि बढ्छ र सकिन्छ भन्न सकिने
अवस्था छैन । बजेट व्यवस्था भए पाँच वर्षभित्र हुलाकी राजमार्ग निर्माण
सकिन्छ । तराई क्षेत्रमा सडक निर्माण गर्न अलि सहज छ । हुलाकी राजमार्ग पनि
राष्ट्रिय गौरवको आयोजना हो । अन्य राष्ट्रिय गौरवका आयोजनामा बजेटको
समस्या छैन, यहाँ किन भइरहेको छ । बुझेको छैन । म मध्यपहाडी लोकमार्गमा काम
गरेर आएको, त्यहाँ बजेटको कुनै समस्या थिएन । अहिले पनि छैन । नेपालको सडक
भएकोले सरकारले यसलाई प्राथमिकता दिए समयमै आयोजना सम्पन्न हुन्छ । अहिले त
५ सय १८ किलोमिटर सडक बनाउने हो । बाँकी त के गर्ने हो, अझै स्पष्ट छैन ।
नेपालभित्रै निर्माणका लागि केही समस्या छ र ?
यसमा
प्राविधिक र कानुनी अड्चन त मैले देखेको छैन । व्यवहारिक र प्राविधिक
समस्या पनि देखेको छैन । यो सरकारको नीतिगत कुरा हो । बजेटको व्यवस्था भए
हामी सबै काम अघि बढाउन तयार छौ । यो त तराईका सबै जिल्ला जोड्ने महŒवपूर्ण
सडक हो नि । हामी आयोजना अघि बढाउन पूर्ण तयारीका साथ बसेका छांै ।
अख्तियारी र बजेट आयो भने तुरुन्तै अघि बढाउँछौं । भारतले दिने भनेको ८
अर्ब आयो भने पनि झन्डै ४ सय किलोमिटरको मोटरबाटो निर्माण अघि बढ्छ ।
यसमध्ये ३ सय किलोमिटरको टेन्डर गरिसकेका छौं ।
प्रस्तुतिः भीम गौतम
http://rajdhani.com.np/article/0354407001462934819
No comments:
Post a Comment