Sunday, May 8, 2016

अब भूकम्पपीडितका नाममा स्वतः बैंक खाता

भीम गौतम / राजधानी
काठमाडौं, २५ वैशाख
व्यक्तिगत घर निर्माण गर्न सरकारले दिने अनुदान रकम प्राप्तिका लागि सहज बनाउन भूकम्पपीडितको नाममा स्वतः बैंक खाता सञ्चालन हुने भएको छ । विकट क्षेत्रका भूकम्पपीडितले बैंक खाता खोल्न नै कठिनाइ भइरहेको बेला नेपाल बैंकर्स एसोसिएनको पहलमा सबै पीडितको स्वतः खाता स्थापना गरी सञ्चालन हुने भएको हो ।
तथ्यांक विभागले डिजिटल सर्भे सम्पन्न गरेर पीडितको सूची सार्वजनिक भएपछि सो नाम सम्बन्धित बैंकहरूमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पठाउनेछ । प्राधिकरणले नै उनीहरूको नाममा स्वतः निःशुल्क खाता खोलिदिनेछ । यो सेवा तत्कालका लागि भूकम्पबाट विशेष प्रभावित १४ जिल्लाका भूकम्पपीडितले मात्रै पाउनेछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र एसोसिएसनबीच पटक÷पटकको छलफलपछि बैंकर्स एसोसिएन हाल सबै भूकम्पपीडितहरूको निःशुल्क खाता सञ्चालन गर्न सहमत भएको प्राधिकरणले जनाएको छ । अहिले विकट क्षेत्रका भूकम्पपीडितहरू सदरमुकाम वा सहरी क्षेत्रमा सरकारले तोकेको बैंकमा गएर खाता खोल्नुपर्ने र त्यसपछि गाउँ
फर्केर गाउँ विकास समिति सचिवसँग सम्झौता गरेपछि मात्र अनुदान पाउने व्यवस्था गरिएको थियो ।
कागजपत्रहरू नपुग्दा पटक÷पटक सदरमुकाम पुगेर फर्कनुपर्ने कारण भूकम्पपीडित थप पीडामा परिरहेका बेला प्राधिकरण र एसोसिएसनबीचको यो सम्झौताले अनुदान प्राप्तिका लागि धेरै सहज हुनेछ । सम्झौतापछि भने सहरी क्षेत्रमा ५० बैंक तथा ग्रामीण क्षेत्रमा २० बैंकमार्फत अनुदान रकम भूकम्पपीडितले पाउनेछन् । यी सबै बैंकहरूले शाखारहित बंैकिङ सेवा प्रदान गर्नेछन् । बैंकहरूको पहुँच र सेवाको उपलब्धताको आधारमा भूकम्प प्रभावित क्षेत्रलाई भाग लगाएर छुट्टाछुट्टै बैंकहरूले ती क्षेत्रमा सेवा दिने गरी कार्यविधि तय गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरण स्रोतका अनुसार प्रतिभूकम्पपीडितको खाता खोलेबापत सरकारले बैंकहरूलाई ३ सय २५ रुपैयाँ उपलब्ध गराउनेछ ।
भूकम्पपीडितसँग अनुदान सम्झौता भएपछि हाल डमीको रूपमा रहेको बैंक खाता स्वतः सक्रिय हुने गरी बैंकर्स एसोसिएन सहमत भएपछि यसको अन्तिम मस्यौदा प्राधिकरणले एसोसिएसनमा पठाएको छ । प्राधिकरण स्रोतका अनुसार आज (आइतबार) प्राधिकरण र एसोसिएसनबीच सम्झौता
गर्ने कार्यक्रम राखिएको छ । बिहीबार मस्यौदालाई अन्तिम रूप दिएर शुक्रबार सम्झौता गर्ने कार्यक्रम राखिए पनि
केही कारण रोकिएको थियो । शुक्रबार एसोसिएसन अधिकारीहरूको सुझावलाई समेत समेटेर मस्यौदा पठाइएकाले आइतबार सम्झौता हुनसक्ने प्राधिकरणका
अधिकारीहरू बताउँछन् ।
प्राधिकरण प्रवक्ता रामप्रसाद थपलियाले बैंकर्स एसोसिएनसँगको स्वतः निःशुल्क खाता खोल्ने गरी भएको छलफल अन्तिम चरणमा पुगेको र यसबाट भूकम्पपीडितहरूलाई अनुदान लिन धेरै सहज हुने
जानकारी दिए ।
‘पटक÷पटकको छलफलपछि प्राधिकरण र बैंकर्स एसोसिएन यसबारे अन्तिम निष्कर्षमा पुगिसकेको छ,’ उनले भने, ‘सम्झौता भएपछि भूकम्पपीडितहरूले भोग्दै आएको ठूलो झन्झटको अन्त्य हुनेछ ।’ पछिल्लो समयमा पुनर्निर्माण प्राधिकरणले ३ सय ८३ गाविसका ३ लाखभन्दा बढी भूकम्पपीडितको नाम सार्वजनिक गरिसकेको छ भने व्यक्तिगत घर निर्माणका लागि १३ सय ४६ इन्जिनियर पनि खटाइसकेको छ ।
इन्जिनियर खटाइसके पनि अनुदान सम्झौताका लागि बैंक खाता खोल्दाको झन्झटका कारण व्यक्तिगत आवास निर्माण कार्य प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । अझ विकट क्षेत्रमा एक÷डेढ सयभन्दा बढीले खाता खोलिसकेपछि मात्र बैंकहरूले शाखारहित बैंकिङ सेवा दिने कारण अनुदान पाउनका लागि पीडितहरूले धेरै सास्ती भोग्नुपरेको छ । यो सेवा सुरु भएपछि भने पीडितले राहात पाउनेछन् ।

सबैको नाममा निःशुल्क खाता

अनुदान सम्झौतापछि खाता स्वतः सक्रिय

खाता विशेष प्रभावित जिल्लामा मात्रै

प्राधिकरण र एसोसिएसनबीच सम्झौता आज

http://rajdhani.com.np/article/0504309001462670318

 

No comments: