Saturday, May 7, 2016

अस्पताल र यातायात विभागको विद्युत् लाइन काटियो

भीम गौतम / राजधानी
काठमाडौं, २३ वैशाख
नेपाल विद्युत् प्राधिकरणले जनमैत्री अस्पताल र यातायात व्यवस्था विभागको बिजुलीको लाइन काटिदिएको छ । अस्पतालले ९७ लाख ४२ हजार रुपैयाँ बराबर विद्युत् बक्यौता नतिरेको र यातायात विभागले ४० लाख ६७ हजार रुपैयाँ बराबर बक्यौता नतिरेको भन्दै बिजुली लाइन काटिएको विद्युत् प्राधिकरण काठमाडौं क्षेत्रीय कार्यालय प्रमुख दीर्घायुकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी, २०६८ सालदेखि नै २ लाख २ हजार बिजुलीको महशुल नतिरेको गैरसरकारी संस्था वल्र्ड पिस फाउन्डेसनको पनि बिजुलीको लाइन काटिदिएको छ ।
विद्युत् प्राधिकरणले दुई महिनाभित्र बक्यौता नतिरे लाइन काट्ने प्राधिकरणले पहुँचको आधारमा लामो समयदेखि सो संस्थाको भने लाइन काटिएको थिएन । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले वैशाख महिनालाई चुहावट नियन्त्रण अभियान र बाँकी बक्यौता अभियानअघि बढाउँदै समयमै बिजुलीको बिल नतिर्नेको लाइन काट्ने अभियान सञ्चालन
गरिएको बताए ।
ग्राहक तथा वितरण निर्देशानालय काठमाडांै क्षेत्रीय कार्यालय प्रमुख श्रेष्ठले सात दिनअघि अस्पताललाई जानकारी दिएर महशुल तिर्न अटेर गरेपछि लाइन काटिएको बताए पनि जनमैत्री अस्पतालले भने पहिला कुनै जानकारी नदिई छापामार शैलीमा लाइन काटिएको जनाएको छ । ‘अस्पतालमा अप्रेसन गरिरहेको र आईसीयुमा सेवा गरिरहेको बेला विनाजानकारी अस्पतालको जस्तो संवेदनशील क्षेत्रको लाइन काटियो ।’, अस्पतालका सहायक निर्देशक एवं जेनेरल सर्जन डा. अजय पराजुलीले भने, ‘तत्काल वैकल्पिक व्यवस्था नगरिएको भए धेरै बिरामीको ज्यान जान सक्थ्यो ।’ प्राधिकरणका अनुसार, सात दिनअघि जानकारी दिएर लाइन काट्न जाँदा अस्पतालका कर्मचारी र सुरक्षा गार्डले प्राधिकरण कर्मचारी थुन्ने प्रयास गरेका थिए । अस्पतालका पराजुलीले भने भूकम्पपछि सरकारको निर्देशनमा अस्पतालले धेरै बिरामीको निःशुल्क सेवा गरेको र त्यसकारण प्राधिकरणको महशुल तिर्न अप्ठेरो परेको जनाउँदै लाइन काटिएपछि जेनेरेटरको भरमा स्वास्थ्य सेवा सञ्चालन गर्नुपरेको बताए ।
यातायात व्यवस्था विभागले ट्रली सञ्चालन गरेवापतको ३९ लाख तथा विभागको १ लाख ६७ हजार रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । बक्यौता नतिरेको भन्दै प्राधिकरणले बिजुलीको लाइन काट्दा यातायात विभागको सेवा एक दिन पूर्णरूपमा बन्द भएको र बिहीबार दिउँसोदेखि जेनेरेटरमार्फत सेवा दिइरहेको बताएको छ । विभागका प्रवक्ता वसन्त अधिकारीले बुधबार पूर्णरूपमा सेवा बन्द भएको र बिहीबार दिउँसोदेखि जेनेरेटरबाट सेवा दिइएको जानकारी दिए ।
उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई भेटेर १५ दिनभित्र बक्यौता तिर्ने प्रतिबद्धता जनाए पनि बक्यौता नतिरेसम्म लाइन नजोड्ने बताएको र सेवालाई सुचारु गरिएको जानकारी दिए । विभागका अनुसार, बिजुलीको बाँकी बक्यौता तिर्नका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको छ । प्राधिकरणले पछिल्लो समयमा विद्युत् लाइन काट्ने अभियानलाई देशभरि सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत समयमै बिजुलीको बिल नतिर्ने साना, ठूला सबै ग्राहकको लाइन काट्ने प्राधिकरणले जनाएको छ ।

एक दिन विभागको सेवा ठप्प

छापामार शैलीमा लाइन काटियो ः अस्पताल
कर्मचारीलाई थुन्ने प्रयास गरियो ः प्राधिकरण
http://rajdhani.com.np/article/0632806001462505065

No comments: