Tuesday, March 11, 2014

प्राधिकरणविरुद्ध अख्तियारमा २ सय १० उजुरी

भीम गौतम/राजधानी
काठमाडौं, २७ फागुन । नेपाल विद्युत् प्राधिकरणविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सय १० ओटा उजुरी परेका छन् । विगत आठ महिनामा
प्राधिकरण व्यवस्थापन, कर्मचारीलगायतले अनियमित र गलत कार्य गरेको भन्दै अख्तियारमा उजुरी परेको हो ।
प्राधिकरण स्रोतका अनुसार अख्तियारमा प्राधिकरणका केन्द्रीय तथा शाखा कार्यालयहरूमा विभिन्न ठेक्कापट्टा हुँदा गलत भएको, सरुवा–बढुवामा कर्मचारीहरूले घुस खाएको, प्राधिकरणद्वारा सञ्चालित विभिन्न कार्यक्रम तथा योजनाहरूमा आर्थिक हिनामिना, गरेको, कर्मचारीहरूले आवश्यकताभन्दा बढी धन–सम्पत्ति कमाएको, कर्मचारी नियुक्तिबारे गलत प्रक्रिया अपनाइएको लगायतका उजुरी परेका छन् ।
यसैगरी, ट्रान्सफर्मर, मिटर, तारलगायत कमसल रहेकोबारे समेत उजुरी परेको छ । प्राधिकरणभित्र क्रियाशील अधिकांश कर्मचारी संगठनका नेतृत्वकर्ताहरूविरुद्ध समेत उजुरी परेको छ । प्राधिकरणले डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेका आयोजनाबारे समेत उजुरी परेको छ । २ सय १० मध्ये अधिकांश बेनामे उजुरी छन् । सबै उजुरीको अख्तियारले छानबिन गरिरहेको छ ।
उजुरीमध्ये १ सय ७६ ओटाको तामेली गरिएको र ३४ ओटा कारबाहीको प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ । ५/६ वर्ष अघिदेखिका योजना तथा कार्यक्रमबारे समेत अख्तियारमा उजुरी परेका छन् । अख्तियारमा प्राधिकरणविरुद्ध उजुरी बढेपछि प्राधिकरणको विभागीय कारबाहीका शाखाका कर्मचारीहरू भने अख्तियारले सोधेको उजुरीको प्रतिउत्तर पठाउँदा–पठाउँदा हैरान भएका छन् ।
‘विभागीय कारबाही शाखा अख्तियारले पठाएको पत्रको प्रतिउत्तर पठाउँदा–पठाउँदा हैरान भएको छ, प्रत्येक दिनजस्तो पत्र आइरहेको हुन्छ,’ विभागका एक कर्मचारी भन्छन्, ‘हुँदा–हुँदा प्राधिकरणका अन्य कर्मचारीहरूसमेत आज रातो घरले केही पत्र पठाएन भनेर सोध्न थालिसकेका छन् ।’
अख्तियारले उजुरी पर्नेबित्तिकै तीन दिनदेखि सात दिनको म्याद राखेर तुरुन्तै पत्र पठाउन निर्देशन दिने गरेका कारण पत्र आउनेबित्तिकै विभागीय कारबाही शाखाका कर्मचारीहरूको काम प्राधिकरणको सम्बन्धित निकाय र व्यक्तिलाई पत्र काटेर प्रतिउत्तर पठाउन केन्द्रित हुने गरेको छ ।
ट्रान्सफर्मर प्रकरणमा प्राधिकरणका उच्च अधिकारीहरूसहित पाँच दर्जनभन्दा बढीविरुद्ध अख्तियारले पक्राउ गरेर मुद्दा दायर गरेपछि प्राधिकरणका अधिकांश उच्च कर्मचारी आतंकित बनेका छन् । जसका कारण अधिकांश उच्च कर्मचारीहरू सकेसम्म प्राधिकरणका महवपूर्ण फाइलहरूमा हस्ताक्षर गर्न मान्दैनन् ।
‘तत्कालीन कार्यकारी निर्देशकदेखि विस्तृत अध्ययन नगरी ट्रान्सफर्मर प्रकरणमा स्टोर गर्नेसम्मलाई अख्तियारले पक्राउ गरेर मुद्दा चलाएपछि अधिकांश कर्मचारीको मानसिकता काम गर्ने छैन, उनीहरू कसरी दिन कटाएर अख्तियारबाट जोगिने भनेर कारबाही गरिरहेका छैनन्,’ प्राधिकरण एक उच्च अधिकारी भन्छन् ।
ट्रान्सफर्मर प्रकरणलगायतका कारण प्राधिकरणका कर्मचारीहरूको मानसिकता कमजोर भएको उच्च अधिकारीहरू नै स्विकार्छन् । ‘ट्रान्सफर्मर प्रकरणलगायतका कारण कर्मचारीको मानसिकता गिरेको छ,’ जनसाधन विभागका निर्देशक गोसाइँ केसी भन्छन् ।
उपकार्यकारी निर्देशकद्वारा राजीनामा
प्राधिकरणका उपकार्यकारी निर्देशक माधव लुइँटेलले राजीनामा दिएका छन् । ट्रान्सफर्मर प्रकरणपछि प्राधिकरणभित्र बढेको असहज स्थितिलाई मध्यनजर गर्दै उनले राजीनामा दिएका हुन् ।
अनिवार्य अवकाश पाउन एक वर्ष बाँकी रहेका लुइँटेलले प्राधिकरणका अधिकांश उच्च अधिकारीहरू ट्रान्सफर्मर घोटालामा मुछिएपछि राजीनामा दिएको प्राधिकरण निकट स्रोतले जनाएको छ । ट्रान्सफर्मर प्रकरण चर्केपछि उनी असहज वातावरणमा औपचारिक काममा बढी सहभागी हुँदै आएका थिए ।
प्राधिकरणकै अर्का उपकार्यकारी निर्देशक वीरेन्द्र पाठक ट्रान्सफर्मर प्रकरणकै कारण त्रसित भएर विनाकाम कार्यकारी सचिवालयमा थन्किएर बसेका छन् ।
प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक भए पनि आफूले जिम्मेवारी बहन गर्दा भोलि अख्तियार जानुपर्ने भन्दै तर्सेर काम नगरेका निर्देशक पाठक सचिवालयका अर्का निर्देशक अष्टरत्न शाक्य ट्रान्सफर्मर प्रकरणमा पक्राउ परेपछि सचिवालयको सामान्य काम मात्र गर्दै आएका छन् ।
http://erajdhani.com/en/national/24103-2014-03-11-00-59-15

No comments: