Monday, March 3, 2014

प्राधिकरणसँग छैन वितरण योजना


भीम गौतम/राजधानी

काठमाडौं, १९ फागुन । बर्सेनि ३० अर्बभन्दा महसुल संकलन गर्ने र २६ लाखभन्दा बढी ग्राहक भएको नेपाल विद्युत् प्राधिकरणसँग वितरण योजना छैन भन्दा धेरैलाई पत्यार लाग्दैन तर स्थापना भएको २८ वर्ष पुगिसकेको प्राधिकरणसँग वितरण योजना छैन ।
जलविद्युत् उत्पादन र प्रसारण लाइनको योजना रहेको प्राधिकरणले अहिलेसम्म वितरण योजना भने बनाउन नसकेको हो । वितरण योजना छुट्टै नबनाउँदा ग्राहक वृद्धि, वितरण लाइन विस्तार, स्तरोन्नतिलगायतका कार्य प्राधिकरण हचुवाको भरमा गर्दै आएको छ भने कुनै क्षेत्रमा कस्ता प्रकारका वितरण लाइन छन् भन्ने स्पष्ट विवरण नहुँदा चुहावट नियन्त्रणलगायतका कार्यमा समेत असर परेको छ ।
योजना नहुँदा कुन ठाउँमा के–के वितरण लाइन थप्ने, स्तरोन्नति गर्ने, ट्रान्सफर्मर, सब–स्टेसन थप्नेलगायतका कार्य प्राधिकरणका अधिकारीको एकल निर्णयको आधारमा हुँदै आएको छ । यसकै कारण कुन क्षेत्रमा कस्तो ट्रान्सफर्मर, तार, पोलदेखि के–के छन् र के प्रविधि राख्दा दक्षतायुक्त हुन्छ भन्ने पत्ता लगाउनसमेत समस्या भएको छ ।
योजना भएको भए देशभरिको वितरण स्थितिबारे जानकारी भई वितरणलाई प्राधिकरणले केन्द्रमै बसेर झन् प्रभावकारी र कम चुहावटयुक्त बनाउन सक्ने अवस्था हुन्थ्यो तर एकल निर्णयको आधारमा गर्दा वितरण प्रणालीसमेत असन्तुलित हुने गरेको छ ।
प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डे हालसम्म वितरण योजना नभएको स्विकार्छन् । ‘अहिलेसम्म बनेको छैन, बल्ल बनाउनका लागि एसियाली विकास बैंक ९एडीबी० लाई सहयोगका लागि पत्राचार गरेका छौं,’ उनले भने । उनका अनुसार ५ करोड रुपैयाँ वितरण योजना बनाउनका लागि एडीबीलाई पत्राचार गरिएको र ऋण सहयोगमा पाएमा योजना बनाउनका लागि थप दुई वर्ष लाग्नेछ । योजना बनाउनका लागि प्राधिकरणले प्रक्रिया अघि बढाए पनि अझै पनि टुंगो भने लागिसकेको छैन ।
योजनामा वितरणको लक्ष्यबारे स्पष्ट उल्लेख हुनेछ । कुन कुन वितरण लाइन कसरी बनाउने, कुन कुन क्षेत्रमा के–के क्षमताका बनाउने, प्राविधिक चुहावट कसरी कम गर्ने, कति समयभित्र कति ग्राहकसम्म बिजुली पुर्‍याउने, त्यो पुर्‍याउनका लागि के–के पूर्वाधार बनाउने, भएका पूर्वाधारको स्तरोन्नति कसरी गर्ने लगायतबारे विस्तृत रूपमा योजनामा संलग्न हुनेछ ।
प्राधिकरणले आगामी सात वर्षभित्र २ हजार ३ सय मेगावाट लक्ष्य निर्धारण गरेको छ भने सन् २००० देखि २० वर्षभित्र २ हजार किलोमिटर प्रसारण लाइन बनाउने लक्ष्य अघि सारेको छ । यसरी प्राधिकरणले अहिलेसम्म उत्पादन र प्रसारण लाइनको योजना बनाए पनि वितरण योजना भने नभएको हो । वितरण योजना बनाएमा व्यवस्थित रूपमा योजना अघि बढाउन सकिने प्राधिकरणका अधिकारी बताउँछन् ।
http://www.erajdhani.com/en/business/23660-2014-03-02-23-55-37

No comments: