भीम गौतम\राजधानी
काठमाडौं, १५ चैत्र । नेपाल विद्युत प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयमा मात्र बर्षको एक अर्ब रुपैयाँ बराबरको १४ करोड युनिट विद्युत चुहावट हुन्छ ।
आर्थिक बर्ष २०७१÷०७१ सुरु भएपछिको ६ महिना मात्र ५५ करोड रुपैयाँ बराबरको ७ करोड युनिट विजुली चुहावट भएको क्षेत्रीय कार्यालयले जनाएको छ । यही चुहावटको कारणले थलिएको प्राधिकरणका लागि विराटनगर क्षेत्रीय कार्यालयले अघि सारेको चुहावट नियन्त्रण अभियानले भने पुससम्ममा ११ करोड ५४ लाख रुपैयाँ चुहावट घटाएको छ ।
१८ दशमलब ७८ प्रतिशत बराबर चुहावट रहेको विराटनगर क्षेत्रीय कार्यालयले २ दशमलब ५४ प्रतिशत चुहावट घटाउँदा ११ करोड ५४ लाख रुपैयाँ फाइदा भएको विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख दीपक आचार्यले जानकारी दिए । ‘एक प्रतिशत चुहावट घटाउँदा यस क्षेत्रमा ४ करोड ५८ लाख रुपैयाँ फाइदा हुन्छ, यसको आधारमा चुहावट नियन्त्रण अभियानले ११ करोडभन्दा बढी फाइदा मात्र भएको छ ।’–उनले भने–‘चुहावट नियन्त्रण अभियानलाई अझ तीव्रता दिएका छौ ।’ उनका अनुसार, चोरी चुहावट तथा प्राविधिक चुहावट दुवै नियन्त्रणका लागि प्राधिकरण कार्यक्रम अघि सारेको छ । साउनदेखि नयाँ आर्थिक बर्ष सरु भएपनि ३ महिना अघिदेखि मात्र विराटनगर क्षेत्रीय कार्यालयले चुहावट न्यूनीकरणका लागि विशेष अभियान अघि बढाएको थियो । चोरी चुहावट नियन्त्रणका लागि अभियान चलाएपछि विरानगर क्षेत्रीय कार्यालयमा मिटरको माग भएपनि मिटर अभावको कारण समस्या परेको विराटनगर क्षेत्रीय कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
विराटनगर क्षेत्रीय कार्यालयका अनुसार, गत पुससम्म ३३ करोड ९१ लाख ९ हजार युनिट विद्युत उत्पादनमध्ये ५ करोड ५० लाख ८५ हजार युनिट विद्युत चुहावट छ । ७ करोड युनिट विद्युत चुहावट रहेकोमा १ करोड ५० लाख युनिट बराबरको विद्युतको चुहावट प्राधिकरण क्षेत्रीय कार्यालयले घटाएको छ । विराटनगर क्षेत्रीय कार्यालय अन्तर्गत मोरङ, झापा र सुनसरी जिल्लामा तीन÷तीन तथा तेह्रथुम, संखुवासभा, भोजपुर, धनकुटा र इलाम जिल्लामा १÷१ विद्युत वितरण केन्द्र छन् । ती केन्द्रहरुमा चुहावट नियन्त्रणका लागि अभियान सञ्चालन गरेछि साढे दुई प्रतिशत चुहावट घटेको छ ।
क्षेत्रीय कार्यालयका अनुसार, आर्थिक बर्ष २०६९÷०७० मा दमकमा २५ दशमलब ६२ प्रतिशत चुहावट रहेकोमा २४ दशमलब १९ प्रतिशतमा, इटहरीमा १९ दशमलब ५७ प्रतिशत रहेकोमा १६ दशमलब ९८ प्रतिशत, वेलवारीमा ३४ प्रतिशत ५२ प्रतिशत रहेकोमा २९ दशमलब ७८ प्रतिशत, रंगेलीमा ४४ दशमलब ४३ प्रतिशत रहेकोमा ३९ दशमलब ०४ प्रतिशतमा झारिएको छ । त्यसैगरी अनारमणिमा ३३ दशमलब ८९ प्रतिशत चुहावट रहेकोमा २० दशमलब १७ प्रतिशत, धनकुटाको २६ दशमलब ०६ प्रतिशत चुहावट रहेकोमा २० दशमलब ६० प्रतिशतमा झारिएको क्षेत्रीय कार्यालयले जनाएको छ । कार्यालयले खाँदबारीमा ९ दशमलब ५६ प्रतिशत चुहावट रहेकोमा बढेर १४ दशमलब ३७ प्रतिशत र इलाममा २४ दशमलब ४२ प्रतिशत चुहावट रहेकोमा २४ दशमलब ९४ प्रतिशत बढेर पुगेको क्षेत्रीय कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment