Thursday, March 27, 2014

ऊर्जाका कर्मचारीलाई छुट्टै आचारसंहिता


ऊर्जा मन्त्रालयका कर्मचारीलाई भड्किलो भोज गर्न रोक
–मादक पदार्थ र धूमपान गर्न नपाइने
–राजनीतिक दलको वकालत गर्न नपाइने
–बहुविवाहमा सहभागी हुन नहुने
–उपहार लिन नपाइने
भीम गौतम\राजधानी
काठमाडौं, १२ चैत्र
ऊर्जा मन्त्रालयका कर्मचारीहरूलाई भोजभतेरजस्ता भड्किलो कार्यक्रम गर्न रोक लगाएको छ ।
ऊर्जा मन्त्रालय र त्यसअन्तर्गतका कर्मचारीका लागि पहिलो पटक छुट्टै आचारसंहिता बनाउँदै सो रोक लगाएको हो । ऊर्जामन्त्री राधा ज्ञवालीको स्वीकृतिपछि कार्यान्वयनमा आएको आचारसंहितामा सामाजिक तथा सांस्कृतिक मूल्यमान्यताको संरक्षण र पालनबारे उल्लेख गर्दै भोजभतेरजस्ता कार्यक्रम आयोजना गर्दा कानुन र सरकारको निर्णयहरूको मर्मअनुरूप गर्नुपर्ने उल्लेख छ । प्रचलित कानुनबाट निषेधित मादक पदार्थ, धूमपान र सुर्तीजन्य पदार्थ प्रयोग गर्न नपाउने व्यवस्था पनि आचारसंहितामा गरिएको छ । आचारसंहितामा घुस खान नपाइने र राजनीतिक दलको वकालत गर्नसमेत रोक लगाइएको छ ।
ऊर्जा मन्त्रालयका सहसचिव किरणराज शर्माको संयोजकत्वमा तयार पारेर लागू गरिएको आचारसंहिता ऊर्जा मन्त्रालय तथा ऊर्जा मन्त्रालयअन्तर्गतका विद्युत् विकास विभाग, आयोजना तथा परियोजनाका कर्मचारीहरूलाई लागू भएको छ । ‘ऊर्जा क्षेत्रका कर्मचारीलाई अनुशासनमा राख्न, व्यावसायिकता वृद्धि गर्न, पारदर्शिता र सुशासन कायम गर्न आचारसंहिता निर्माण गरिएको हो,’ संयोजक शर्माले भने, ‘आचारसंहिताले कर्मचारीको प्रशासनिक मूल्यमान्यतामा जोड दिँदै सेवाग्राहीको व्यवहारमा सुधार र आर्थिक अनुशासन र स्वच्छता वृद्धि हुने अपेक्षा गरिएको छ ।’ उनका अनुसार ऊर्जा मन्त्रालय र मातहत निकायका कर्मचारीका लागि पहिलो पटक यो आचारसंहिता निर्माण गरिएको हो ।
कार्यालयसँग सम्बन्धित काम गरे वा नगरेबापत कोहीसँग लेनदेन वा पदीय आचारण प्रतिकूल हुने गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै दान, उपहार, चन्दा वा अन्य लाभ स्वीकार नहुने, नगद, जिन्सी आदि उपहार ग्रहण गर्न नहुने उल्लेख छ । कार्य सम्पादनमा ढिलासुस्ती नगरी र सेवाग्राहीलाई अनावश्यक दुःख एवं झन्झट नदिई कार्य सम्पन्न गर्नुपर्ने र छिटो काम गरिदिएबापत गैरकानुनी लाभ लिन नहुने आचारसंहितामा उल्लेख छ ।
आचारसंहितामा आफ्नो मातहतका कर्मचारीलाई निजी काममा लगाउन नहुने, कर्तव्य पालनको सिलसिलामा प्राप्त सूचना आफ्नो वा अरूको लाभ र स्वार्थका लागि उपयोग गर्न नहुने, राजनीतिक दलको पक्ष विपक्षमा टीकाटिप्पणी गर्न नपाइने उल्लेख छ ।
कार्यालयको कामबाहेक व्यक्तिगत काममा कार्यालयको स्रोत, साधन, सञ्चार उपकरण वा स्रोतको प्रयोग गर्न नहुने, सवारी साधन प्रयोग गर्ने कर्मचारीले दुरुपयोग गर्न नपाउने आचारसंहितामा उल्लेख छ । बालविवाह, बहुविवाह, छुवाछूत र बोक्साबोक्सीजस्ता सामाजिक मूल्य र मान्यता विपरीतका कार्यमा संलग्न हुन नहुने पनि आचारसंहितामा उल्लेख छ । यौनजन्य दुव्र्यवहारमा संलग्न हुन नहुने पनि आचारसंहितामा राखिएको छ ।
आचारसंहिताले आफू कार्यरत निकायको कामकारबाहीमा प्रतिकूल प्रवाह नपर्ने गरी विशेषज्ञ हासिल गरेको विषयमा लेखरचना प्रकाशन गर्न, प्रवचन दिन, गोष्ठी र सेमिनारमा भाग लिन, पूर्वस्वीकृति लिई अध्ययन तथा अध्यापन गर्न, साहित्य, कला, संस्कृति, खेलकुद, ज्ञान, प्रविधि र पेसागत एवं सामाजिक संस्थाहरूमा सदस्य हुन तथा त्यस्ता मञ्चहरूमा भने सहभागी हुन पाउने आचारसंहितामा उल्लेख छ ।

No comments: