–आयोजनामा नो सुरुङ
–अब क्षमता ६३० मेगावाट
–रि–रेगुलेटेड बाँधमार्फत थप ३० मेगावाट विद्युत
भीम गौतम\राजधानी
काठमाडौं, १० चैत्र ।
६ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको बाँधभित्रै विद्युत गृह बन्ने भएको छ ।
आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) गरिरहेको परामर्शदाता फ्रान्सको ट्रयाकबेल कम्पनीले दिएको पहिलो डिजाइन अवधारणामा दिइएका तीन विकल्पमध्ये पहिलो विकल्प छनोट गरेपछि बाँधभित्रै विद्युत गृह बन्ने भएको हो । आयोजनाका अनुसार, पहिलो विकल्प छनोटसँगै विना सुरुङ बुढीगण्डकी आयोजना बन्नेछ ।
परामर्शदाताले पहिलो विकल्पको रुपमा आयोजनाको बाँधभित्रै विद्युत गृह बनाउन सकिने, दोस्रो विकल्पको रुपमा १ दशमलम ५ किलोमिटरको छोटो सुरुङमार्ग र तेस्रो विकल्पको रुपमा ९ किलोमिटरको लामो सुरुङ मार्गको प्रस्ताव गरी प्रतिवेदन दिएको थियो । प्रतिवेदनमा परामर्शदाताले बाँधभित्रै विद्यृत गृह बनाउन सकिने पहिलो प्रस्तावलाई सात कारणले उत्तम विकल्प भएको उल्लेख गदै उक्त विकल्प अपनाएमा ६ सय ३० मेगावाट विद्युत उत्पादन गर्न सकिने उल्लेख थियो । त्यसैगरी पिक आवरका लागि मात्र विद्युत उत्पादन गर्ने गरी आयोजना बनाउन चाहेमा क्षमता बढाएर ९ सय ४५ मेगावाट बनाउन सकिने विकल्प समेत समितिलाई दिएको थियो । २१ मार्चभित्र तीन विकल्पमध्ये एउटा छनोट गरेर पठाउन परामर्शदाताले समितिलाई पत्र लेखेकोमा २३ मार्चमा परामर्शदातालाई पत्र लेख्दै बुढी गण्डकी विकास समितिले पहिलो विकल्प छनोट गरेको छ । ‘पहिलो विकल्पलाई समितिले पनि उत्तम ठानेर छनोट गर्यो ।’ विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले भने–‘समितिले विज्ञहरुको राय लिएर विकल्प रोज्ने निर्णय गरेकोमा सबै विज्ञहरुको राय अनुसार पहिलो विकल्प उत्तम देखाएकोले आइतबार परामर्शदातालाई पत्र पठाएका छौ ।’–उनले भने ।
समितिले पहिलो विकल्प रोजेपछि ६ सय मेगावाट क्षमता विस्तार भएर ६३० मेगावाट पुगेको छ । पहिलो विकल्प रोज्न पत्र पठाएपछि अब परामर्शदाताले पहिलो विकल्पको आधारमा विस्तृत अध्ययन गर्नेछ । डा. देवकोटाका अनुसार, अध्ययनको क्रममा पिक आवरका लागि ९ सय ४५ मेगावाटसम्म पुर्याउन सरकारले पत्र लेखेमा त्यो विकल्प पनि अघि बढाउन सक्ने अवस्था छ ।
भौगोलिक, भौगौर्भिक, हाइड्रोलोजी, निर्माण सम्बन्धी, लागत फाइदा विश्लेषण, रि–रेगुलेटिङ बाँध र वातावरणीय प्रभावको कारणले पहिलो विकल्पलाई उत्तम दिएको प्रतिवेदन दिएको कार्यकारी अध्यक्ष देवकोटाले जानकारी दिए । प्रतिवेदनमा पहिलो विकल्प अनुसार, निर्माण सुरु भएको ७७ महिनाभित्र आयोजनाको निर्माण कार्य पुरा हुनेछ ।
रि–रेगुलेटेड बाँधबाहेक बाँधभित्रै विद्यृत गृह बनाउँदा १ खर्ब ८० करोड लाग्ने परामर्शदाताको विकल्पमा उल्लेख छ । रि–रेगुलेटे बाँध बनाउँदा थप ३० मेगावाट विद्युत बर्षभरि उत्पादन हुने र त्यसका लागि करिब दुई अर्ब रुपैयाँ खर्च हुने प्रतिवेदनमा उल्लेख छ ।
बुढीगण्डकीको क्षमता बढाएर ९ सय ४५ मेगावाट पुर्याउँदा थप १४ अर्ब रुपैयाँ लागत बढ्ने तथा तत्काल उक्त थप लागत नभएमा पछि बढाउन सकिने गरी साढे तीन अर्ब खर्चेर पहिलै संरचना बनाउन सकिने पनि प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार, पहिलो विकल्प अनाएमा प्रति बर्ष २८ सय ८६ गेगावाट हावर विद्युत उत्पादन हुनेछ । त्यसैगरी पहिलो विकल्पमा प्रति युनिट ६ रुपैयाँ पर्नेछ । सात सुचांकको आधारमा पहिलो विकल्पनै उपयुक्र्त देखिएको प्रस्तावमा उल्लेख छ ।
अबको १७ महिनाभित्र डीपीआर सम्पन्न गरी सन् २०२२ भित्र बुढीगण्डकी आयोजनाको निर्माण पुरा गर्ने लक्ष्य समितिको छ ।
No comments:
Post a Comment