भीम गौतम\राजधानी
काठमाडौं, २ चैत्र । विद्युत विकास विभागले जलविद्युत विकासका लागि आवश्यक चार मार्गनिर्देशन (गाईडलाइन्स) निर्माण प्रकृया अघि बढाएको छ ।
जलविद्युत आयोजना निर्माणका लागि अधिकांश विदेशी प्रविधि र प्रकृया अवलम्बन भईरहेको बेला विभागले नेपालीपनको गाईडलाइन्स बनाउन लागेको हो । एक सय दुई बर्षको जलविद्युत इतिहासमा नेपाली परिवेश र भौगोलिक अवस्थाको आधारमा जलविद्युतका मार्ग निर्देशनहरु बन्न नसकेको बेला विभागले बल्ल चारवटा बनाउ लागेको हो । अहिले अधिकांश जलविद्युतका प्रविधिहरुको प्रयोग विदेशी परामर्शदाता, गुगल सर्चको आधारमा प्राप्त सुचना तथा व्यक्तिगत अनुभव र स्वविवेकको आधारमा हुँदै आएको छ ।
विभागले पावर हाउस डिजाइन, अपरेसन एण्ड मेन्टेनेन्स, ग्लोबल इन्फरमेसन सिष्टम (जीआईएस) मा आधारित लाइसेन्स व्यवस्थापन तथा इन्सपेक्सन( निरीक्षण) गाईलाइन्स निर्माण प्रकृया सुरु गरिएको विभागका महानिर्देशक डिल्लीबहादुर सिंहले जानकारी दिए । ‘हामीले एकैसाथ जलविद्युतका लागि आवश्यक चार गाईडलाइन्स बनाउँदैछौ ।’–उनले भने–‘हालसम्म यी चार गाईडलाइन्स नभएकोले विदेशी प्रविधिमा भर पर्नुपर्ने अवस्था छ, अब नेपालको भौगोलिक अवस्था सुुहाउँदो गाईडलाइन्स बनाउँदैछौ ।’
विभागले हालसम्म हेडवर्क डिजाइन र वाटर कन्भेजेन्स सिष्टम गाईडलाइन्स मात्र बनाएको छ । अब नयाँ बन्ने चार गाईडलाइन्स बनेपछि नेपालमा जलविद्युत विकासका लागि आफ्नै छुट्टै गाईडलाइन्स बन्ने विभागको दाबी छ । विभागका अनुसार, हालसम्म पावर हाउस डिजाईन गर्दा फरक फरक देशहरुका विदेशी गाईडलाइन्सहरु उपयोग भईरहेकोमा नेपाली गाईडलाइन्स बन्ने र सबै जलविद्युत आयोजनाहरुमा एकरुपता आउने छ । नेपाली भौगोलिक अवस्था र परिवेशको आधारमा बनाइन लागिएको पावर हाउस डिजाइन गाईडलाइन्स दुई बर्षभित्र पुरा गर्ने लक्ष्य राखिएको छ । पावर हाउस डिजाइन गाईडलाइन्सका लागि साह कन्सल्ट इन्टरनेशनल, ज्वाईन्ट भेन्चर (जेभी)मा ईआरएमी र हाईड्रो कन्सल्ट इन्जिनियरिङ प्रालि तथा सिल्ड कन्सल्टट्यान्ट र उदय कन्सलटेन्सी प्रालिको जेभी गरी तीन परामर्शदाता कम्पनी छोटो सुचीमा राखिएको छ ।
त्यसैगरी जलविद्युत प्लान्ट, सव–स्टेसनस् र प्रशारण लाइनको अपरेसन र मेन्टेनेन्स गाईडलाईन्स समेत दुई बर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य विभागको छ । यसका लागि शाह कन्सेल्टेण इन्टरनेशनल, जीईओसीई कन्सल्ट्यान्ट, हाइड्रो इन्जिनियरिङ सर्भिस र नेपाल कन्सल्ट्यान्ट प्रालिको जीभी तथा ईआरएमसी, सिल्ट र ट्याक हाईड्रो इन्जिनियरिङ प्रालिको जीभीलाई परामर्शदाताको छोटो सुचीमा सुचीकृत गरिसकेको छ । हाल अपरेसन र मेन्टेनेन्स जलविद्युत आयोजनाहरुमा फरक फरक तरिकाले भएकोले गाईडलाइन्स बनेपछि एकरुपता आउने छ । त्यसैगरी विभागले बनाउन लागेको आईएसमा आधारित लाइसेन्स व्यवस्थापन प्रणाली गाईडलाइन्सले नेपालको जलविद्युतको सम्पूर्ण तथ्यांक संकलन हुनेछ । जसको कारणले जलविद्युत आयोजनाका लाइसेन्सदेखि त्यसको जलविद्युतका सबै तथ्य र तथ्यांकहरु संकलन भई लाइसेन्स वितरणदेखि जलविद्युत विकासका लागि समेत सहयोग पुग्नेछ । १८ महिनाभित्र पुरा गर्ने लक्ष्य राखिएको उक्त गाईडलाइन्सका लागि परामर्शदाता छनोट कार्य भईरहेको विभागले जनाएको छ ।
अहिले जलविद्युत आयोजनाका उपकरणदेखि अन्य सामग्री खरिद गर्दा निरीक्षणमा जाने कर्मचारीहरुले बढी मात्रामा स्वविवेकको प्रयोग गर्ने गरेकोमा अब यो गाईडलाइन्स बनेपछि धेरै सजिलो हुनेछ । दुई बर्षभित्र बनाउने लक्ष्य राखिएको उक्त गाईडलाइन्स बनेपछि ड्याम, पावर हाउस, जेनेरेसन, टवाईन, प्रशारण लाइन लगायतका जलविद्युतका सबै अवयवहरुको निरीक्षणका लागि सहज हुनेछ ।
विभागले बनाएको हेडवर्कस गाईडलाइन्स त अहिले पुल्चोक इन्जिनियरिङ कलेजमा पढाई समेत हुने गरेको छ । सबै गाईडलाइन्स बनेपछि जलविद्युतमा नेपाली भौगोलिक र भौगर्भिक अवस्था अनुसार प्रविधि उपयोगमा ल्याउने भएकोले चार गाईडलाइन्सलाई महत्वपूर्ण रुपमा हेरिएको छ । ‘चार गाईडलाइन्सले नेपालको जलविद्युतको प्रविधि उपयोगमा धेरै सहयोग गर्छ, यसले एक रुपता पनि ल्याउँछ, स्वविवेक र अनुभवको आधारमा जलविद्युतको प्रविधि उपयोग गर्ने चलनको अन्त्य हुन्छ ।’–महानिर्देशक सिंहले भने ।
No comments:
Post a Comment