Sunday, March 16, 2014

जलविद्युत कम्पनीद्धारा चार आयोजनामा दुई अर्ब लगानी


भीम गौतम\राजधानी
काठमाडौं, १ चैत्र  । सरकारले जलविद्युत आयोजनाहरुको लगानीका लागि स्थापना गरेको जलविद्युत विकास तथा लगानी कम्पनीले चार जलविद्युत आयोजनामा लगानी गरेको छ ।
स्थापना भएको साढे दुई बर्षसम्म कुनै जलविद्युत आयोजनामा लगानी गरेर पैसा मात्र थोपारेको आरोप खेपेको कम्पनीले चार आयोजनामा २ अर्ब ८ करोड ६० लाख रुपैयाँ लगानी गरेको हो । साथै कम्पनीले विश्व बैकको ऋणमार्फत आएको ४ अर्ब रुपैयाँ काबेली जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले कम्पनी आफैले चार आयोजनाका लागि २ अर्ब ८ करोड ६० लाख रुपैयाँ तथा विश्व बैकमार्फत आएको ४ अर्ब रुपैयाँ कम्पनीमार्फत लगानी गरेको जानकारी दिए । ‘जलविद्युत कम्पनीले पाँच जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ ।’–कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले भने–‘ थप २४ मेगावाट माथिका तीन आयोजनामा लगानीका लागि समेत कम्पनीले अध्ययन गरिरहेको छ ।’
 चुक्ता पुँजी ८ अर्ब जम्मा गरेको कम्पनीको खातामा  व्याज लगायत गरी ८ अर्ब ७९ करोड रुपैयाँ जम्मा भैसकेको छ । जलविद्युत आयोजनाहरुको वित्तिय व्यवस्थापनका लागि ठूलो समस्या भईरहेको बेला जलविद्युत कम्पनीले जलविद्युत आयोजनाहरुमा लगानी गर्न नसकेको भन्दै आलोचना हुँदै आएको थियो ।
कम्पनीका म्याग्दीमा निर्माणाधीन ४२ मेगावाटको मिस्त्री खोलामा ९८ करोड ६० लाख रुपैयाँ, दोलखाको ३० मेगावाटको खानी खोलामा ४० करोड रुपैयाँ, लमजुङको २७ मेगावाटको दोर्दीमा ५० करोड र सोलुखुम्बुको २३ दशमलब ५ मेगावाटको सोलु खोला जलविद्युतमा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । त्यसैगरी विश्व बैकमार्फत आएको ४ अर्ब रुपैयाँ पाँचथर र ताप्लेजुङमा निर्माणाधीन ३७ दशमलब ६ मेगावाटको काबेली जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय समेत कम्पनीले गरेको छ । त्यसैगरी कम्पनीले नेपाल विद्युत प्राधिकरणद्धारा निर्माणाधीन ४०० केभीको नेपाल–भारत जोड्ने ढल्केबर–मुज्जफपुर प्रशारण लाइनमा १४ प्रतिशत लगानी गर्ने निर्णय गरिसकेको छ । उक्त प्रशारण आयोजनाको लागत करिब एक अर्ब रुपैयाँ छ ।
सन् २०१६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तीन आयोजनाहरु मिस्त्री खोलाको कुल लागत ५ अब ७८ करोड ४० लाख र खानी खोलाको कुल लागत ३ अर्ब ३ करोड ४० लाख  र सोलुको कुल लागत ४ अर्ब ९ करोड ९० लाख रुपैयाँ छ । त्यसैगरी सन् २०१७ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दोर्दीको कुल लागत ४ अर्ब २३ करोड ६० लाख छ । मिस्त्रीखोलामा नेपालका सात बैक, खानीखोलामा सात बैक, सोलुमा नौ बैक र दोर्दी खोला जलविद्युत आयोजनामा छ बैंकहरुको ऋण लगानी छ । काबेलीमा भने विश्व बैंकमार्फत अर्थ मन्त्रालय हुँदै आएको रकम  कम्पनीले लगानी गरेको हो ।
कम्पनी आफैले २५ मेगावाटभन्दा माथिका आयोजनाहरुमा लगानी गर्न आफै र अन्य वित्तिय संस्थाहरुसँग मिलेर लगानी गर्न पाउने व्यवस्था छ । १० देखि १५ मेगावाटका आयोजनामा लगानीका लागि अन्य बैकहरुलाई समेत कम्पनीले ऋण दिन पाउने व्यवस्था छ ।
अधिकृत पुँजी ५० अर्ब भएको यस कम्पनीको जारी पूँजी १० अर्ब रुपैयाँ छ । कम्पनीमा नेपाल सरकारको पाँच अर्ब, संगठित संस्थाको तीन अर्ब र सर्वसाधारणबाट दुई अर्ब रहने उल्लेख छ । जस अनुसार सरकारतर्फ अर्थ मन्त्रालयको दुई अर्ब, ऊर्जा मन्त्रालयको एक अर्ब, कानून तथा न्याय मन्त्रालयको एक अर्ब र महालेखा नियन्त्रक कार्यालयको एक अर्ब रुपैयाँ छ । त्यसैगरी कर्मचारी संचयकोषको एक अब तथा राष्ट्रिय वीमा संस्थान र नागरिक लगानी कोषबाट प्राप्त हुनुपर्ने एक÷एक अर्ब रुपैयाँ लगानी छ । सर्वसाधारणतर्फको दुई अर्ब भने शेयर विक्रीबाट उठाईने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।

आयोजना                                                           रकम
मिस्त्री खोला                                           ९८ करोड ६० लाख
खानी खोला                                            ४० करोड
दोर्दी                                                      ५० करोड
सोलु खोला                                            २० करोड
काबेली (विश्व बैकमार्फत)                     ४ अर्ब

No comments: