Sunday, March 23, 2014

मल्टिफ्यूल प्लान्टको दुर्दशा


आम्दानी ८ रुपैयाँ, खर्च ३५
भीम गौतम\राजधानी
दुहबी (विराटनगर), ८ चैत्र । नेपाल विद्युत प्राधिकरणले सरदर प्रति युनिट ८ रुपैयाँमा विजुली बेच्ने गर्छ तर मल्टिफ्यूलमार्फत उत्पादित विद्युतको प्रति युनिट ३५ रुपैयाँ पर्छ ।
सुनसरीको दुहबीस्थित मल्टिफ्यूल प्लान्ट केन्द्रका अनुसार, प्रति लिटर फर्निस आयलको ९० रुपैयाँदेखि ९५ सम्म पर्ने गरेको छ तर प्रति लिटर फर्निस आयलबाट साढे तीन युनिट विद्युत मात्र उत्पादन हुने गर्छ । अझ डिजेल प्लान्टको त प्रति युनिट ४० रुपैयाँभन्दा बढी पर्छ । नेपालमा ३९ मेगावाटको दुहबी र १४ मेगावाटको हेटौडा डिजेल प्लान्ट छन् । केन्द्रका अनुसार, बारम्बार गर्नुपर्ने मल्टिफ्यूलको मर्मत लगायतको कारणले चुहावटबाहेक मात्र प्रति युनिट ३५ रुपैयाँ पर्ने गरेको छ भने प्राधिकरणले सर्वसाधारण ग्राहकलाई प्रति युनिट ४ रुपैयाँदेखि उद्योग व्यवसायलाई लाग्ने प्रति युनिट १२ रुपैयासम्म बेच्ने आधारमा सरदर विजुलीको भाऊ प्रति युनिट ८ रुपैयाँ पर्ने गरेको छ ।
प्राधिकरणका लागि सेतो हात्तीको रुपमा डिजेल÷मल्टिफ्यूललाई लिइने भएपनि तत्काल ठूला जलविद्युत आयोजनाहरु र अन्तरदेशीय प्रशारण लाइन निर्माण नबन्ने भन्दै नयाँ सरकार आउन वित्तिक्कै नयाँ डिजेल÷मल्फिफ्यूल खरिद गर्ने प्रयास सुरु हुन्छ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालदेखि डा. बाबुराम भट्टराईसम्मले ठूलो प्रयास गर्दा पनि असम्भव भएको प्लान्ट खरिदबारे नयाँ उर्जा मन्त्री राधा ज्ञवालीले पनि चासो देखाईन तर एमाले पार्टीका केन्द्रीय नेताहरुदेखि सबैले विरोध गरेपनि उनी पनि पछि हटेकी छिन् । 
मल्टिफ्यूल केन्द्रमा ६ दशमलब ५ मेगावाटका छ प्लान्ट छन् । केन्द्रका इन्जिनियर श्याम सुन्दर झाका अनुसार, एउटा प्लान्ट सञ्चालनका लागि प्रति घण्टा १३ सय लिटर फर्निस आयल खर्च हुन्छ । केन्द्रले प्रत्येक दिन सरदर १२ घण्टा तीन प्लान्ट सञ्चालन गर्ने गरेको छ । जसको दैनिक खर्च ५० रुपैयाँभन्दा बढी छ । केन्द्रका अनुसार, अहिले भार प्रेषण केन्द्रको निर्देशनमा सरदर दैनिक १२ घण्टा तीन प्लान्ट सञ्चालनमा छन् भने सबै प्लान्ट सञ्चालनका लागि तयारी अवस्थामा रहेपनि आर्थिक अभाव र फर्निस आयालको अभावमा पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको छैन । सरकारले डिजेल प्लान्ट र मल्टिफ्यूल सञ्चालन गर्दाको मूल्यान्तर प्राधिकरणलाई दिने प्रतिवद्धता जनाएपनि नदिएपछि मल्टिफ्यूल पूर्ण रुपमा सञ्चालन हुन नसकेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
पूर्ण क्षमतामा मल्टिफ्यूल दैनिक १२ घण्टा मात्र चलाउँदा पनि एक करोड रुपैयाँभन्दा  लाखभन्दा बढी खर्च हुने केन्द्रले जनाएको छ । महंगो भएपनि प्राधिकरणले दैनिक १२ घण्टा लोडसेडिङ सीमित गर्नका लागि व्याकअफको रुपमा केन्द्रको प्लान्ट सञ्चालन गर्दै आएको छ । ‘मल्टिफ्यूल सेत्तो हात्ती पालेसरहनै छ तर वाध्यतावश चलाईरहेका छौ, प्रति युनिट ३५ रुपैयाँभन्दा बढी पर्छ ।’–मल्टिफ्यूलका एक कर्मचारीले भने–‘फर्निस आयल किन्न प्राधिकरणले पैसा दिए मात्र किन्ने हो ।’

चलाउनुस, नचलाउनु
    सेत्तो हात्तीको रुपमा लिइने दुहबी मल्टिफ्यूल केन्द्रमा पुगेकी उर्जा मन्त्री राधा ज्ञवाली र नेपाल विद्युत प्राधिकरणका निर्देशक लेखनाथ कोइरालाले दुई थरी कुरा गरेपछि केन्द्रका कर्मचारीहरु अन्योलमा परेका छन् ।
    बुधबार मात्र केन्द्र निरीक्षणमा पुगेकी उर्जा मन्त्री ज्ञवालीले २४ घण्टानै मल्टिफ्यूल चलाएर अहिले चलिरहेको प्रवेशिका परीक्षा (एसएलसी) मा लोडसेडिङ घटाउन निर्देशन दिएकी थिइन् तर त्यसको भोलिपल्ट पुगेका प्राधिकरणका निर्देशक लेखनाथ कोइरालाले मल्टिफ्यूल सञ्चालनका लागि प्राधिकरण पैसा दिन नसक्ने बताएका थिए । ‘मन्त्री आउनुभो २४ घण्टा चलाउनुहोस् भन्नुभयो, प्राधिकरणका निर्देशक आउनुभयो, अब पैसा दिन सकिदैन, नचलाउनुहोस्, भन्नुभो, हामी त पुरै अन्योलमा पर्यौ ।’–एक कर्मचारीले भने–‘तेल किन्नका लागि पैसा दिएसम्म सञ्चालन गर्ने हो, पैसा नदिए कसरी सञ्चालन गर्नु ।’

No comments: