Saturday, October 11, 2014

युद्धग्रस्त इजरायलमा परोपकारी नेपाली मन

http://rajdhani.com.np/article/0719774001413000702

भीम गौतम

द्धन्द्धको चपेटामा परेको इजरायल पुगेका नेपालीलाई पत्तो छैनकि कुन बेला बमवारुद्धको आक्रमणको संकेत आउँछ र बङकरभित्र छिर्नुपर्छ । इजरायल र प्यालेष्टाइनबीचको हिंसात्मक युद्ध चलेको कारण जुनसुकै बेलापनि आक्रमण हुन सक्ने सम्भावना छ । इजरायलमाथि आक्रमणको संकेत स्वरुप घण्टी बजेपछि बाँच्नका लागि बङकरभित्र छिर्नुको विकल्प पनि छैन । पैसा कमाउनकै लागि ज्यानलाई हत्केलोमा राखेर यस्तो जोखिमतामाझ काम गरिरहेका ती नेपालीको मन कति कठोर होला ? हामी कल्पना गर्न सक्छौ तर सोचेभन्दा उल्टो छ । विश्वभर पुगेका नेपालीमध्ये सबैभन्दा बढी परोपकारी र नरम मन भएका यिनै इजरायलमा बसेका नेपाली छन् भन्दा अचम्मै लाग्छ । तर यथार्थता यही देखिन्छ ।

११ बर्षअघिदेखि रोजगारीको सिलसिलामा करिब १५ हजार नेपाली इजरायल पुगेका थिए । ५ बर्ष अघिदेखि इजरायल जान बन्द गरेपनि फेरि पठाउने तयारी सरकारको छ । हाल करिब ५ हजार नेपाली इजरायलमा छन्, त्यसमध्ये ९० प्रतिशत महिला छन् । इजरायलमा पुगेका नेपालीमध्ये पनि ९० प्रतिशत बुढाबुढी स्याहार्ने अर्थात केयर गिभरको रुपमा काम गर्छन । थोरैले मात्र कृषि र होटलमा काम गर्छन । युद्धग्रस्त क्षेत्र भएकोले हरेक घरमा बङकर (सुरुङ) र आक्रमणको संकेत गर्ने घण्टी राखिएको छ । घण्टी बज्ने वित्तिक्कै आफूलाई बचाउन सुरुङ छिर्नुपर्छ ।
यस्तो जोखिमताबीच बुढाबुढीको स्याहारसुसार गरेका नेपालीहरुको मन भने समाजसेवामा तानिएको छ । इन्टरनेट र फेसबुकमा नेपाली पीडा हेरेपछि उनीहरु हृदय फुकाएर सहयोग गर्न तत्पर हुन्छन् । विभिन्न कारणले नेपालीले समस्या भोगेको थाहा पाएपछि उनीहरु आफूले बुढाबुढीको सेवा गरेर पाएको रकम पीडित नेपालीको सेवाका लागि सहयोग पठाउँछन् । इजरायलमा तीन दर्जनजति नेपाली संस्थानै छन् । तीमार्फत हालसम्म पीडामा रहेका नेपालीलाई डेढ करोड रुपैयाँभन्दा बढी सहयोग भैसकेको छ । ‘युद्धको चपेटामा रहेको इजरायलमा रोजगारीका लागि पुगेका नेपालीहरुले धेरै पीडित नेपालीलाई सहयोग गरेका छन् ।’–आठ बर्ष इजरायल बसेर फर्केका सहयोगी मनहरुको समाजका महासचिव कृष्ण निरौला भन्छन्–‘तीन दर्जनभन्दा बढी संस्था इजरायलमा छन्, यीमार्फत डेढ करोडभन्दा बढी सहयोग त पीडित नेपालीलाई भैसक्यो, आफ्नो पीडा सम्झेर हामी इजरायलमा बस्ने नेपालीको मन पग्लीहाल्छ ।’
इजरायलमा रहँदा २०६८ सालमा कृष्ण ज्ञवाली संस्थापक र निरौला महासचिव बनेर स्थापना गरिएको हेल्पिङ ह्याण्ड इन इजरायल भन्ने सामाजिक संस्था अहिले नेपालमा सहयोगी मनहरुको समाजको रुपमा गत माघमै नेपालमा दर्ता भैसकेको छ । एक करोड रुपैयाँको परोपकारी कोष स्थापना गर्ने लक्ष्य राखेको समाजले हालसम्म ५० लाख रुपैयाँ भने जम्मा गरिसकेको जनाएको छ । ‘इजरायलमा बस्दा नेपालीमा हुने पीडादायी घटनाले मन छुन्छ, आफ्नो गाँस काटेर पीडितलाई सहयोग गर्न तयार हुन्छ ।’–निरौलाले अनुभव सुनाए–‘कमाउनका लागि पुगेका नेपाली मनभित्र अरुको पीडामा मलम लगाउनुपर्छ भन्ने भावना र इच्छा पनि जागृत भएको छ । ’
इमेल, इन्टरनेट, पत्रपत्रिकामा पीडामा कथा पढेपछि उनीहरुमा सहयोगको भावना आइहाल्छ अनि मन फुकाएर सहयोग पनि गर्छन । ‘नेपालबाट विदेशमा गएर बस्ने धेरै नेपालीले नेपालको सामाजिक क्षेत्रमा धेरै सहयोग गरेका छन् ।’–चितवनको कान्दामा चेपाङहरुका लागि घर बनाइरहेका लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम भन्छन्–‘इजयरायलमा बस्ने नेपालीको मन धेरै परोपकारी छन्, उनीहरुले नेपालीको पीडा सुनेपछि तुरुन्तै सहयोग गरिहाल्छन् ।’
महाकालीमा आएको बाढी होस् वा सुनकोशीमा आएर पहिरो होस्, उनीहरुले सहयोग गरेकै छिन् । विपन्न, गरिब, विभिन्न रोगले थलिएर उपचार नपाएर जीवन मरणको दोसाधमा रहेका पीडित, अपांगका साथै लोपोन्मुख चेपाङ लगायतलाई उनीहरुले धेरै सहयोग गरेका छन् । अनाथालय, वृद्धाश्रम, अस्पताल, विद्यालय, क्याम्पस, सामाजिक संघसंस्थामा पनि धेरै सहयोग गरेका छन् ।
हालै सुनकोशी पहिरोपीडितलाई इजरायलमा बस्दै आएका नेपालीले गरेको २ लाख २० हजार रुपैयाँ सहयोग पठाएका हुन् । इजरायलमा कार्यरत नेपालीको समुह (रोमान्टीक गु्रप) ले राहत स्वरुप सो सहयोग गरेको हो ।
हालै नेपालमा सहयोगी मनहरुको समाजले पनि क्यान्सरबाट पीडित मकवानपुरकी १९ महिनाकी सम्वृद्धि तिमल्सिनालाई ३५ हजार, मोरङकी मेघराज बस्नेतलाई ५० हजार र चितवनका समीर बस्नेतलाई २ लाख ७७ हजार रुपैयाँ , चितवनको रत्ननगर हाइस्कुल रोड टाढीमा चितवनमा सानोघर संचालन गरि अनाथ बच्चाहरुको पालनपोषण गरि रहनु भएकी सानो घरकी संचालिका तथा सुस्त मनस्थिति सेवा केन्द्रलाई ३५ हजार, यौनजन्य हिंसा पीडित तथा प्रभावितका कार्यरत रक्षा नेपालका लागि २ लाख ५१ हजार रुपैयाँ सहयोग गर्यो ।

यी त केही उदाहरण मात्र भए, नेपालीले पाएको पीडाबारे सुन्ने वित्तिक्कै इजरायलका नेपालीहरु सहयोग उठाउन जुट्छन् । आर्थिक अभावमा उपचार नपाएर मर्ने अवस्थामा पुगेका धेरै पीडित नेपालीलाई उनीहरुले बचाएका छन् । २४ घण्टानै इजरायलका बुढाबुढीहरुलाई स्याहार गर्ने उनीहरुको मन पीडित नेपालीको स्याहारका लागि पनि सक्रिय छ । उनीहरुले आफ्नो, छोरीछोरी र आफन्त जन्मोत्सवका साथै अन्य विशेष पर्वको अवसरमा समेत दान गर्ने गरेका छन् । मृतक आत्माको सम्झनामा समेत उनीहरुले दान दिने गरेका छन् ।
इन्टरनेट र फेसबुकमा नेपाली पीडा हेरेपछि उनीहरु हृदय फुकाएर सहयोग गर्न तत्पर हुन्छन् । विभिन्न कारणले नेपालीले समस्या भोगेको थाहा पाएपछि उनीहरु आफूले बुढाबुढीको सेवा गरेर पाएको रकम पीडित नेपालीको सेवाका लागि सहयोग पठाउँछन् ।

No comments: