Thursday, October 16, 2014

लेखासमितिले बोलायो बोर्ड र टानका पदाधिकारी


राजधानी समाचारदाता
काठमाडौं, २९ असोज
संसद्को सार्वजनिक लेखासमितिले पर्यटन बोर्डमा भएको अनियमितताबारे तत्कालीन पर्यटन सचिव एवं बोर्ड कार्यकारिणी समितिका अध्यक्ष सुशील घिमिरेलगायतका पदाधिकारीलाई बोलाएको छ ।
पर्यटन बोर्डको १९२औं बैठकको निर्णयबारे विवाद बढेपछि बुधबारको लेखासमितिको बैठकले घिमिरेसहित बैठकमा उपस्थित बोर्ड सञ्चालक समितिका सदस्य शरदचन्द्र पौडेल, डिल्लीप्रसाद शिवाकोटीलगायतका पदाधिकारीलाई समेत आगामी बैठकमा बोलाउने निर्णय गरेको हो । पर्यटन बोर्डको अनियमिततामा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पनि मुछिएको भन्दै टानका पदाधिकारीसमेत बोलाउने निर्णय गरेको छ ।
बुधबार लेखासमितिले सरकारद्वारा पर्यटन बोर्डभित्र भएको अनियमितताबारे छानबिन गर्न गठित समितिका संयोजक पूर्णचन्द्र भट्टराईसहितका सदस्य तथा बोर्डका कायममुकायम कार्यकारी निर्देशक सुवास निरौलालाई समेत बोलाएर यसबारे जानकारी लिएको थियो । छानबिन समितिका तर्फबाट संयोजक भट्टराईले पर्यटन बोर्डभित्र आर्थिक कारोबार अपारदर्शी भएको तथा स्वेच्छाचारी र मनोमानी ढंगले बोर्ड चलाएको बताएका थिए ।
बिनाटेन्डर सामान खरिद गर्ने गरेको, अन्तिम आदेश नदिई खर्च गरिएको, अनावश्यक पस्की दिने गरिएको, कामकारबाहीमा पदीय हैसियत दुरुपयोग गरेको लगायत बताएका थिए । छानबिन समितिका अर्का सदस्य अच्यूत गुरागार्इंले बोर्डका कार्यकारी निर्देशकले बिनाप्रतिस्पर्धा भनसुनको भरमा मन्त्रीका मान्छेलाई अनावश्यक जागिर खुवाएको, १ करोड २१ लाख तिर्नुपर्ने दायित्व भए पनि १९२आंै बैठकबाट ७ करोड ४० लाख बोर्डको बहुमतबिना गैरकानुनी ढंगले निर्णय गरेको बताएका थिए ।
बोर्डका कामु कार्यकारी निर्देशक सुवास निरौलाले भने पर्यटन बोर्डको ऐन र नियमावलीअनुसार सञ्चालन भएको बताउँदै आफूलाई खेद्ने काम गरेको बताएका थिए । बैठकमा सभासद्हरू धनराज गुरुङ, रामहरि खतिवडा, भानुभक्त ढकाललगायतले प्राप्त कागजपत्रको आधारमा बोर्डमा अनियमितता देखिएको बताएका थिए ।

No comments: