Wednesday, October 8, 2014

नेपाललाई थप दुई सय मेगावाट विद्युत बेच्न भारत सकारात्मक

–छिट्टै भारतबाट निर्णयः मानन्धर
भीम गौतम\राजधानी
काठमाडौं, २१ असोज । छिमेकी राष्ट्र भारत नेपाललाई थप दुई सय दुई मेगावाट विद्युत बेच्न सकारात्मक देखिएको छ ।
भारत पुगेको नेपाल विद्युत प्राधिकरणका टोली र भारतीय विद्युत मन्त्रालयका अधिकारीबीच भएको द्धिपक्षीय  छलफलमा भारत नेपाललाई थप २ सय दुई मेगावाट विद्युत बेच्न सकारात्मक भएको हो । आगामी हिउँदका लागि थप २ सय १२ मेगावाट विद्युत आयात गर्न प्राधिकरणले भारत समक्ष प्रस्ताव गरेको थियो । हाल भारतबाट १ सय ४० मेगावाट विद्युत आयात भईरहेको छ भने हिउँदमा १ सय ९० मेगावाटसम्म विद्युत आयात हुने गरेको छ ।
कुलेखानी जलविद्युत आयोजनाको जलाशय नभरिएमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपणपछि प्राधिकरणले भारतबाट थप विद्युत आयातका लागि निमित्त उपकार्यकारी निर्देशक कन्हैया मानन्धरसहित तीन सदस्यीय टोली भारत पुगेको थियो । ‘भारतीय विद्युत मन्त्रालयमा भएको छलफलको क्रममा नेपाललाई २ सय २ मेगावाट विद्युत नेपाललाई दिन सकारात्मक भएको छ, छलफलको क्रममा सहमति पनि भएको छ ।’–मानन्धरले भने–‘औपचारिक रुपमा सहमति हुन बाँकी छ, विजुली बेच्नु अघि भारतको तर्फबाट बनाउनुपर्ने पुर्वाधार लगायतबारे टुंगो लगाएर भारतले छिट्टै नेपाललाई यसबारे जानकारी दिनेछ ।’ उनका अनुसार, भारतले प्राविधिक रुपमा गर्नुपर्ने कामहरु टुंगो लगाएर त्यहाँको विद्युत मन्त्रालयले नेपालको परराष्ट्रमार्फत उर्जा मन्त्रालयमा त्यसबारे जानकारी पठाउनेछ ।’
भारतीय विद्युत मन्त्रालयका साथै नेपालमा विद्युत आयात हुने विहार, युपी, उत्तराखण्ड लगायतका अधिकांश नाका क्षेत्रका विद्युतसँग सम्बन्धित निकायका साथै भारतीय नीजि कम्पनीहरुसँग प्राधिकरणको टोलीले छलफल गरेको थियो । पञ्चेश्वर विकास प्राधिकरणको पहिलो बैठकमा भाग लिन आएका भारतका प्रतिनीधि र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेबीच थप विद्युत आयातबारे गरेको कुराकानीमा भारत सकारात्मक बनेपछि प्राधिकरणले मानन्धरसहितको टोली पठाएको थियो ।
हिउँदमा १९० मेगावाटसम्म विद्युत आयात गरिरहेको प्राधिकरणले हाल आठ नाकाबाट विद्युत आयात गरिरहेको छ । प्राधिकरणका अनुसार, कटैया क्षेत्रबाट हाल एक सय मेगावाट आयात भईरहेको थप एक सय, राजविराजबाट १० मेगावाट आयात भईरहेको थप पाँच, जलेश्वर, रक्सोल र नेपालगञ्जबाट १२ मेगावाटमा थप ३÷३, रामनगरबाट २५ मेगावाटमा थप २७ मेगावाट, सिराहा नाकाबाट ७ मेगावाट आयात भईरहेको थप ८ मेगावाट र टनकपुरबाट ४० मेगावाटमा थप २० मेगावाट थप गर्ने प्रस्ताव गरिएको छ । त्यसैगरी भारततर्फको प्रशारण लाइनको मर्मत, सम्भार हुन नसक्दा हाल आयात गर्न बन्द रहेका लोहियाहेड–गड्डाचौकीबाट थप ५ मेगावाट, भैरहवा नाकाबाट १० मेगावाट, कृष्णनगरबाट १० मेगावाट, कटैया–दुहबीबाट १५ मेगावाट र पलिया धनगढीबाट थप ७ देखि १० मेगावाट विद्युत थप आयात गर्ने प्रस्ताव प्राधिकरणको छ ।
भारतको पुर्णिमाहुँदै कुसाहा आउन बनाउनुपर्ने १६० एमबीएको दुई ट्रान्सफर्मरका साथै फारवेञ्ज हुँदै कटैया आउने दुई ट्रान्सफर्मर थप बनाउनुपर्ने भएपनि भारतले निर्माण कार्य अघि बढाईसकेको छ । ‘भारतको तर्फबाट नेपालमा आयात गर्नुपर्ने विद्युतका लागि बनाउनुपर्ने पुर्वाधारहरु निर्माणमा सक्रियता अघि बढाईसकेको छ ।’–मानन्धरले भने ।
हाल विद्युतको माग ११ सय मेगावाट रहेकोमा आपुर्ति ६ सय ५० मेगावाट मात्र छ । भारतबाट हाल १ सय ३५ मेगावाट आयात भईरहेको छ भने ४ सय ५० मेगावाट विद्युत अभाव छ ।

No comments: