Saturday, October 18, 2014

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा काफ्ले


राजधानी समाचारदाता
काठमाडौं, ३० असोज । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मुकेशराज काफ्लेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
इन्जिनियर अध्ययन संस्थान पुल्चोकमा अध्यापन गर्दै आएका र प्राधिकरणका पुर्व सञ्चालक सदस्य समेत रहेका काफ्लेलाई बिहीबारको मन्त्री परिषदले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । सरकार प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले बाँकी अवधिका लागि काफ्लेलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।
कार्यकारी निर्देशकमा नियुक्त भएका काफ्लले जलविद्युत उत्पादन, वितरण र प्रशारण लाइन निर्माणका लागि आफ्नो मुख्य जोड हुने बताए । ‘प्राधिकरणको काम, कर्तव्य र दायित्वलाई पुरा गर्न पूर्ण सक्रिय भएर लाग्नेछु ।’–उनले भने ।
खुल्ला प्रतिष्पर्धामा बैकल्पिक उम्मेदवारको नाताले कार्यकारी निर्देशक नियुक्त गर्न सर्वोच्च अदालतमा काफ्ले मुद्दा दायर गरेकोमा तत्कालीन प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र न्यायाधीश चोलेन्द्र शमशेर जबराको संयुक्त इजलाशले १५ साउनमा उनलाई नियुक्ति गर्न परमादेश (बाध्यकारी आदेश) दिएको थियो । कार्यकारी निर्देशकका लागि भएको खुला प्रतिस्पर्धामा १८ मंसीर २०६९ मा उनको नाम वैकल्पिक सूचीमा निस्किएको थियो भने रामेश्वर यादवको नाम मुख्य सूचीमा निस्किएको थियो । भदौ २०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुण्ँस्तरहीन ट्रान्सफर्मर प्रकरण्ँमा रामेश्वर यादवलाई पक्राउ गरेर विशेÈ अदालतमा मुद्दा हालेपछि उनी निलम्बनमा परेका थिए । त्यसपछि ऊर्जा मन्त्रालयले यादवलाई छनोट हुँदाको कार्यादेश (टीओआर) अनुसार काम नगरेको भन्दै उनलाई हटाएर तत्कालीन जल तथा ऊर्जा आयोगका सहसचिव अर्जुन कार्कीलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो ।

मुख्य सूचीमा रहेको व्यक्तिको पद कुनै कारणले एक बर्षभित्र रिक्त रहेमा वैकल्पिक उम्मेदवार स्वत प्राधिकरणको कार्यकारी निर्देशक बन्न पाउने व्यवस्था भए पनि आफूलाई नियुक्त नगरेको भन्दै काफ्लेले २२ कातिर्क २०७० मा सर्वोच्च अदालतमा मुद्धा हालेका थिए ।

No comments: