Saturday, October 18, 2014

‘रुफ टप’ सोलारको कार्यविधि छिट्टै

काठमाडौं, ३० असोज । सरकारले बजेटमा सार्वजनिक गरेको शहरी क्षेत्रमा रुफ टप (छाना) मा सोलार जडान कार्यक्रमका लागि आवश्यक कार्यविधि सरकारले छिट्टै ल्याउने तयारी अघि बढाएको वैकल्पिक उर्जा प्रवद्र्धक केन्द्रले जनाएको छ ।
रुफ टप सोलार पीभी सिष्टम एवं नेट मिटरिङ कार्यविधि २०७१ तयार गरेर विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयमा पेश गरेको बताउँदै केन्द्रले छिट्टै कार्यविधि पारित भएर कार्यवन्यनमा आउने जानकारी दिएको हो । केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले कार्यविधि मन्त्रालयमा पेश गरिसकेको र छिट्टै पारित भई कार्यक्रम कार्यवन्यनमा आउने जानकारी दिए ।
रुफ टप सोलारबारे बुधबार राजधानीमा आयोजित कार्यक्रममा सरोकारवाला निकायका प्रतिनीधिहरुले लोडसेडिङको भयावह समस्यालाई दृष्टिगत गरी शहरमा सोलार कार्यक्रम ल्याउन लागेको उल्लेख गदै नेट मिटरिङ गर्दा कार्यक्रम झन प्रभावकारी हुनेमा जोड दिएका थिए । नीजि क्षेत्रका केही प्रतिनीधिहरुले भने लोडसेडिङको भयावह समस्याको बेला नेट मिटरिङभन्दा पहिला विजुली उपलब्धतामा जोड दिएका थिए ।
सभासद् एवं संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले रुफटप सोलार तत्काल कार्यवन्यन गर्न आग्रह गर्दै लोडसेडिङको समस्या न्यूनीकरण गर्न इनर्जी मिक्समा जानु उपयुक्र्त हुने बताए ।
वातावरण सचिव डा. कृष्णचन्द्र पौडेलले सरकारले रुफ टप सोलार र नेट मिटरिङलाई जोड दिएको उल्लेख गर्दै यसको तत्काल कार्यवन्यन गर्नका लागि अघि बढेको जानकारी दिए । तत्काली कार्यविधि बनाएर कार्यक्रम अघि बढाउन लागेको जानकारी दिँदै उनले आधुनिक विज्ञान प्रविधिको उपयोगविना मुलुकको रुपान्तरण असम्भव भएको बताए ।
विश्व बैकका प्रतिनीधि रविन श्रेष्ठले उर्जा सुरक्षाका लागि विजुली, थर्मल र सोलार अर्थात मिक्स इनर्जीको अवधारणा अघि बढाउनुपर्ने बताए । विज्ञ जगनाथ श्रेष्ठले रुफ टप सोलारलाई नेट मिटरिङ सम्भव भएको बताए । नीजि क्षेत्रको संस्था सेमनका प्रतिनीधि नविन भुजेल लगायतले लोडसेडिङको समस्या भईरहेको बेला नेट मिटरिङको सम्भावना कम रहेको बताए ।

No comments: