सुरुङ निर्माणमा ढिलाइ, मन्त्रीसमेत असन्तुष्ट
भीम गौतम\राजधानीमेलम्ची, १० कात्तिक
सहरी
विकास मन्त्रालयले २०७३ वैशाखमा मेलम्ची खानेपानी आयोजनामार्फत काठमाडौंमा
पानी वितरण गर्ने सार्वजनिक गरेपछि खुसी भएका काठमाडौंवासी फेरि निराश
हुनुपर्ने भएको छ । आयोजनाको निर्माणमा भइरहेको सुस्त कामले सो अवधिमा
मेलम्चीको पानी काठमाडौंमा आउन निकै कठिन देखिएको हो ।
मेलम्चीदेखि
सुन्दरीजलसम्मको अडिटसहित २७ दशमलव ५ किलोमिटर लामो सो खानेपानी आयोजनाको
निर्माण कार्यमा देखिएको सुस्ततालगायतको कारणले २०७३ वैशाखमै खानेपानी आउन
कठिन देखिएको हो । आयोजनाका अनुसार १ दशमलव ५ किलोमिटर अडिटसहित २७
किलोमिटर सुरुङमध्ये मुख्य सुरुङको निर्माण कार्य ७ दशमलव ५ किलोमिटर मात्र
पूरा भएको छ ।
लक्ष्यअनुसार निर्माण
कार्य पूरा गर्नका लागि प्रतिदिन कम्तीमा ४० मिटर सुरुङ निर्माण गर्नुपर्ने
हुन्छ । तर, हाल दैनिक २४ मिटर सुरुङ मात्रै निर्माण हुँदै आएको छ ।
‘दुईओटा क्षेत्रमा रकमा आएको समस्याको कारण निर्माण रोकिएको छ, लक्ष्य पूरा
गर्न प्रतिदिन ३५÷४० मिटर खन्नुपर्छ तर अहिले २४ मिटरजति मात्र काम
भइरहेको छ,’ आयोजना प्रमुख घनश्याम भट्टराईले सुरुङ निर्माणमा ढिलाइ भएको
स्विकार्दै राजधानीसँग भने, ‘दुई क्षेत्रमा आएको समस्या चाँडै समाधान भएर
सबै क्षेत्रबाट सुरुङ निर्माण अघि बढाउँदा प्रतिदिन कम्तीमा ३६ मिटर
निर्माण हुन्छ ।’
आयोजनाका अनुसार
सिन्धुली अपर साइड र ग्याल्थुम साइडमा सुरुङ निर्माणको क्रममा रक कमजोर
भेटिएपछि त्यसको सपोर्ट निर्माण कार्य अघि बढेको छ । जसको कारण दुवै
सुरुङको काम अघि बढ्न नसकेको पनि आयोजना प्रमुख भट्टराईले जानकारी दिए ।
२०४८ सालकै निर्वाचनमा तत्कालीन प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले
मेलम्चीको पानीले काठमाडौंका सडक पखाल्ने घोषणा गरेको सो आयोजना २०५५
सालदेखि नै सुरु भएको हो । तर, सरकारले समयमै काम गर्नका लागि उचित सहजीकरण
गर्नुका साथै ठेकेदार कम्पनी र परामर्शदातालाई सक्रिय गराउन नसक्दा आयोजना
निर्माणमा ढिलाइ हुँदै आएको छ ।
ठेकेदार
इटालियन कम्पनी सीएमसीले निर्माण गरिरहेको सो आयोजनासँगको सम्झौतामा समेत
सुरुङको निर्माण कार्य २०७३ को असोजमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
तर,
मन्त्रालयले निर्माण कार्य छिट्टो बनाएमा प्रतिदिन १५ हजार डलर प्रोत्साहन
दिने घोषणा गरिसकेको छ । तर, अहिलेको निर्माण गति हेर्दा लक्ष्यभन्दा पनि
ढिला हुने देखिएको छ । पोइरी, हिफापलगायतका मल्टी डिसिप्लिनरी
कन्सल्ट्यान्ट लिमिटेडले परामर्शदाताको रूपमा काम गरिरहेको छ ।
मेलम्ची
खानेपानीको सुरुङ मार्ग अवलोकन गर्न सोमबार सुन्दरीजल पुगेका सहरी
विकासमन्त्री डा. नारायण खड्का, इटालियन विदेश राज्यमन्त्री डेल्टा भेडोभा,
इटालियन राजदूत ड्यानेल मेन्योनीलगायत परामर्शदाता कम्पनीमा टिम लिडर
रबर्ट स्मिथले आयोजनाको सुरुङ निर्माणमा ढिलाइ हुनुमा कमजोर भूगर्भ,
सामग्री अभाव, दक्ष जनशक्ति अभावलगायतका कारण बताएका थिए ।
मन्त्री
खड्काले भने मेलम्चीको निर्माण सुस्तताप्रति गम्भीर असन्तुष्टि जनाए ।
‘अहिलेको प्रगति हेर्दा सन्तोषजनक छैन, प्रतिदिन सुरुङको निर्माण कार्य गति
३० मिटरभन्दा माथि हुनुपर्छ, एक÷दुई महिनाभित्र यसमा सुधारिएन भने लक्ष्य
पूरा गर्न कठिन छ,’ मन्त्री खड्काले भने ।
दुई
वर्षअघि चाइना रेल्वे–१५ ब्युरो ग्रुप कर्पोरेसनले ठेक्का तोडेपछि सीएमसी
इटालीले एक वर्षअघि ठेक्का पाएको थियो । ७ अर्ब ७२ करोडमा दिइएको ठेक्का
सम्झौतामा तीन वर्षभित्र सुरुङ निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । तर,
मेलम्ची निर्माणमा ढिलाइ भएपछि सबैतिरबाट आलोचित बनेको सरकारले भने २०७३
वैशाखभित्रै काठमाडौंमा खानेपानी ल्याइसक्ने सार्वजनिक घोषणा गरेको थियो ।
तर, सो घोषणा निर्माण पक्षमा भइरहेको ढिलाइले पूरा नहुने निश्चित देखिएको
हो ।
No comments:
Post a Comment