Saturday, October 18, 2014

‘हुदहुद’ ले भरिदै कुलेखानी जलाशय

भीम गौतम\राजधानी
काठमाडौं, २९ असोज । बर्षा सकिँदा समेत लोडसेडिङ घटाउने मेरुदण्डको रुपमा लिइने कुलेखानीको इन्द्र सरोवर नभरिँदा नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु चिन्तित बनेका थिए तर हालै आएको सामुद्रिक आँधी हुदहुदको कारण बर्षा भएपछि कुलेखानी जलाशय भरिने भएको छ ।
कुलेखानी भरिएमा र भारतबाट २५० मेगावाट आयात भएमा आगामी हिउँदमा दैनिक १४ देखि १६ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिएकोमा नभरिएर चिन्तित बनेका प्राधिकरणका अधिकारीहरु नेपालकै एक मात्र जलाशययुक्त आयोजना भरिने भएपछि खुशी भएका छन् । बर्षा सकिँदा समेत नभरिने लक्षण देखिएको कुलेखानी हुदहुदका कारण आएको बर्षाले भरिने भएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए । ‘कुलेखानी नभरिने भयो भनेर चिन्तित भएका थियौ, हुदहुदका कारण आएको बर्षाले भरिने भएको छ ।’–प्रमुख क्षेत्रीले भने–‘यसबाट प्राधिकरणका हामी सबै खुशी भएका छौ ।’ कुलेखानी नभरिदा बढी लोडसेडिङ हुने र चर्को आलोचना खेप्नुपर्ने कारण हरेक बर्ष बर्षा सकिन लाग्दा प्राधिकरणका अधिकांश अधिकारीहरुको ध्यान कुलेखानी जलाशय भरिन्छकि भरिन्न भन्नेतिर केन्द्रित हुने गर्छ । कुलेखानी नभरिएमा आगामी हिउँदमा दैनिक १६ देखि १८ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण प्राधिकरणको छ । गत बर्ष दैनिक १२ घण्टामा लोडसेडिङ सीमित गर्न सक्नुमा कुलेखानी जलाशय भरिनुलाई समेत प्राधिकरणले मुख्य कारण मानेको छ ।
हुदहुदको कारण बर्षा भएपछि मात्र तीन दिनमा कुलेखानीको इन्द्र सरोवरमा पानीको सतह ८५ सेन्टिमिटर बढेको छ । प्राधिकरणका अनुसार, हुदहुदका कारण मंगलबार ४७, बुधबार २९ र बिहीबार ९ सेन्टिमिटर पानीको सतह बढेको छ । १५ सय ३० मिटरको सतह रहेको कुलेखानी जलाशय गत बर्ष भरिएर बोरा ओछ्याएर थप ५० सेन्टिमिटर सतह पुर्याइएको थियो ।
एक÷डेढ महिनाभित्र कुलेखानी जलाशयमा १५ सय ३० मिटर पुगिसक्ने र त्यसपछि चर्को माग हुने बेलासम्ममा थप पानीको सतह बढ्न सक्ने भएकोले प्राधिकरणले त्यसका लागि बोरा ओछ्याउने तयारी अघि बढाएको छ । ‘हालै आएको बर्षाले कुलेखानी भरिएर थप पानी पुग्ने अनुमानले बोरा ओछ्याउन लागेका छौ ।’–प्रमुख क्षेत्रीले भने ।
कुलेखानी भरिएपछि आगामी हिउ“दमा सर्वसाधारणले दैनिक छ घन्टा मात्र बिजुली देख्न पाउने बाध्यतात्मक अवस्थाको अन्त्य भएको छ । जलाशय भरि“दा हिउ“दमा दैनिक तीन घन्टा लोडसेडिङ घट्ने प्राधिकरणले जनाएको छ ।
कुलेखानीबाहेक सबै आयोजना रन अफ दि रिभर आयोजना भएका र हिउँदमा एक तिहाइ मात्र विद्युत उत्पादन हुने भएकाले कुलेखानी जलाशययुक्त आयोजनालाई हिउ“दको लोडसेडिङ घटाउनका लागि प्राधिकरणको मेरुदण्ड र सबैभन्दा महत्ववपूर्ण आयोजनाको रुपमा लिइन्छ । कुल ७ सय १८ मेगावाट कुल जलविद्युत उत्पादन क्षमता रहेकोमा अहिले कुलेखानी पहिलो र दोस्रो मात्र जलाशययुक्त आयोजना हुन् । कुलेखानी पहिलो ६० मेगावाट र दोस्रो ३२ मेगावाट क्षमताको आयोजना हो ।
प्राधिकरणले भारतबाट हाल १९० मेगावाटसम्म भारतबाट हिउँदमा आयात गरेकोमा थप २ सय मेगावाट आयात गर्ने तयारी अघि बढाएको छ । यसबारे प्राधिकरणको एक टोलीले भारत पुगेर प्रस्ताव समेत गरिसकेको छ । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डे भारतबाट विद्युत आयात गरेर भएपनि प्राधिकरण दैनिक १२ घण्टा लोडसेडिङभन्दा बढी लोडसेडिङ नगराउनका लागि सक्रिय रहेको बताउँछन् ।

1 comment:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.