Tuesday, March 14, 2017

विकास निर्माणमा ‘ड्रोन’

     कारोबार संवाददाता    0 + -

तस्विर : कारोबार
काठमाडौं : नेपालमा ड्रोनको उपयोगितालाई व्यापक बनाई विकास निर्माणमा उपयोग गर्न सकिने सरोकारवालाले बताएका छन् । प्रविधिको दुनियामा ड्रोनको आविष्कारलाई विकास निर्माणमा उपयोग गर्न सकिने बताउँदै यसको उपयोगका लागि कानुनी रूपमा समेत खुकुलो बनाउनुपर्ने उनीहरूको माग थियो ।
ड्रोनको माध्यमबाट किसानले जग्गाको मापन गरेर विषादी छनोट गर्नेदेखि विकासे आयोजनामा इन्जिनियरले गर्ने सर्भेलगायतका काम  गर्न सकिने उनीहरूको तर्क छ । 
नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले ड्रोन प्रविधिले विकासमा ठूलो फड्को मार्न सकिने बताए ।
हुइरोबटिक्स नामक अन्तर्राष्ट्रिय संस्थाले नेपालका नेपाल फ्लाइङ ल्याब्स, नेपाल इन्जिनियर्स एसोसिएसन र रोबटिक्स एसोसिएसन अफ नेपालको सहकार्यमा एसोसियसनले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले उड्ने सीसी टिभीको रूपमा रहेको ड्रोनलाई विकास निर्माणमा प्रयोग गर्नु अत्यावश्यक रहेको बताए ।
“अति संवेदनशील क्षेत्रबाहेक अन्यमा ड्रोनको उपयोग खुला गरेर यसलाई विकास निर्माणमा उपयोग गर्नु आवश्यक छ,” उनले भने । हाल निजी र सरकारको अति संवेदनशील सुरक्षा निकाय रहेको क्षेत्रमा ड्रोन उपयोग गर्न रोक लगाइएको छ ।
खुला ठाउँमा भने अहिले ड्रोन बिक्री वितरण हुनुका साथै भाडामा लिएर सञ्चालन गर्न पाउने व्यवस्था छ । ड्रोन ६८ हजारदेखि ८ लाख ५० हजार रुपैयाँसम्ममा किन्न पाइन्छ । 
नेपाल फ्लाइङ ल्याब्स तथा हुइरोबटिक्स नेपालका संयोजक उत्तम पुडासैनीले नेपालमा ड्रोनको प्रयोगलाई विकास निर्माणमा उपयोग गर्न सकिने बताए । “नेपालमा यसलाई जमिनको सर्भेक्षण गर्न, कृषि उत्पादन बढाउन, खोज र उद्धारलगायतका कार्यमा पनि यसको उपयोग गर्न सकिन्छ,” उनले भने । उनका अनुसार, मानव जनशक्तिको उपयोगबाट महिनांै लाग्ने काम छोटो समयमै ड्रोनबाट गर्न सकिन्छ । 
कार्यक्रममा हुइरोबटिक्स नामक अन्तर्राष्ट्रिय संस्थाले नेपालका नेपाल फ्लाइङ ल्याब्स, नेपाल इन्जिनियर्स एसोसिएसन र रोबटिक्स एसोसिएसन अफ नेपालको सहकार्यमा ‘सेवाका रूपमा ड्रोन’ नामक प्रतियोगिता आयोजना सञ्चालन गर्ने जानकारी देखिएको थियो ।
फेब्रुवरी १ देखि सुरु भएको ड्रोनलाई कसरी व्यावसायिक रूपमा प्रयोग गर्न सकिन्छ भन्ने आइडिया संकलनको कार्य मार्च १५ सम्म चल्ने र संकलित आइडियाहरूको मार्च १८ मा प्रस्तुति गरिने संयोजक पुडासैनीले जानकारी दिए ।
http://www.karobardaily.com/news/74294

No comments: