Thursday, March 23, 2017

अति कम विकसित देशमा दिगो उर्जा उपलब्धता चुनौतीपूर्ण’



उर्जा विकासमार्फत नेपालको स्तरोन्नतिः उर्जा मन्त्री
कारोबार संवाददाता
काठमाडौ,  ९ चैत्र ।
अति कम विकसित राष्ट्र (एलडीसी) हरुमा दिगो उर्जाको उपलब्धता सबैभन्दा चुनौतीपूर्ण रहेको बताउँदै यसतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
नेपाल सरकार, अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख तथा विकासोन्मुख साना टापु राज्यका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय र राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले बुधबार राजधानीमा आयोजना गरेको एसिया प्रशान्त क्षेत्रका अल्पविकसित मुलुकहरुका लागि ‘दिगो ऊर्जा’ विषयको क्षेत्रीय बैठकमा वक्ताहरुले यस्तो बताएका हुन् । एसिया प्रशान्त क्षेत्रका १३ अल्पविकसित देशका प्रतिनीधिका साथै दातृ तथा विकास साझेदार सहभागी बैठकमा उनीहरुले उर्जा पहुँच र दिगोपनतामा चुनौती रहेकोले यसका लागि सबै राष्ट्र केन्द्रित हुनुपर्ने बताए । सामाजिक र आर्थिक विकाससँगै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्र बनाउनका लागि उर्जाको विकास अनिवार्य भएको बताए ।
दुई दिने बैठकको शुभारम्भ कार्यक्रममा बोल्दै ऊर्जामन्त्री जनार्दन शर्माले उर्जा विकासमार्फत नेपालको स्तरोन्नति गर्न सकिने बताए । ‘ऊर्जा क्षेत्रको दिगो विकासबाट नै नेपाललाई मध्यम आय भएको विकासशील मुलुकका रुपमा स्तरोन्नति गर्न सकिन्छ ।’–उनले भने–‘सरकारले यही लक्ष्यका साथ आवश्यक नीति र योजना बनाएर अघि बढेको छ ।’
सरकारले आठ हजार मेगावाट बराबरको जलाशययुक्त परियोजनाहरु निर्माण गर्न लागेको जानकारी दिँदै सम्पन्न मुलुकहरु लगानीका लागि देशहरु खोज्दै हिडेकोमा नेपाल उनीहरुको लागि उपयुक्र्त हुने बताए । ऊर्जा क्षेत्रको विकासका लागि जनताको सहभागिता तथा स्वदेशी तथा विदेशी निजी क्षेत्रका लगानीकर्ताको लगानीलाई सरकारले स्वागत गर्ने उनको भनाई थियो ।
साना टापु राज्यका लागि संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालयका प्रमुख एवं उप महासचिव ज्ञानचन्द्र आचार्यले दिगो विकासका लक्ष्य हासिलका लागि अति कम विकसित राष्ट्रहरुले हाल अपनाएको नीति तथा योजनालाई विश्लेषण गरेर अझ प्रभावकारी रुपमा अघि बढाउन बैठक आयोजना गरिएको जानकारी दिए ।  एसिया–प्रशान्त क्षेत्रका सरकारलाई नीतिसँगै उर्जा विकासका लागि आवश्यक आर्थिक, भौतिक र प्राविधिक सहयोग उपलब्ध र यी देशबीचको अनुभव आदानप्रदानका लागि आयोजित बैठकले उर्जाका निती र योजना अघि बढाउन थप सहज हुने बताए । ‘उर्जा क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक भएकोले यसमा देखिएका चुनौतीहरुलाई न्यूनीकरण गर्नका लागि पनि बैठक केन्द्रित हुन्छ ।’–बुधबार आयोजित पत्रकार भेटघाटमा उनले भने ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले नेपालमा उर्जा उत्पादनको सम्भावना धेरै भएपनि उत्पादन कम भउको भन्दै उर्जामा ग्रामीण जनताको पहुँच र दिगो विकासमा केन्द्रित हुनुपर्ने बताए । भरपर्दो ऊर्जा तथा आर्थिक विकासका लागि नवीकरणीय ऊर्जासहित जलविद्युतमा योजना आयोग केन्द्रित रहेको उनको भनाई थियो ।
नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङले उर्जा क्षेत्रमार्फत उद्यमशिलताको विकासका लागि प्रयास भईरहेको बताउँदै युरोपियन युनियनले उर्जा विकासमा सहयोग गरिरहेको बताए ।


No comments: