Wednesday, March 22, 2017

भूकम्पप्रतिरोधी घरको नयाँ डिजाइन तयार

     कारोबार संवाददाता    0 + -

तस्विर : कारोबार
काठमाडांैः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितका लागि ६ वटा भूकम्पप्रतिरोधी घरको नयाँ डिजाइन तयार गरेको छ । यसअघि सरकारले तयार गरेको १७ वटा डिजाइनका घर सबै प्रभावित क्षेत्रका लागि महंगो भएको भन्दै आलोचना भइरहेको बेला नयाँ डिजाइनका घर तयार गरिएको हो ।
भूकम्प प्रभावित जिल्लाको ग्रामीण भेगलाई लक्षित गरी प्राधिकरणले किफायती लागतमा बन्ने घरको नमुना डिजाइन गरिएको प्राधिकरणले जनाएको छ । तयार गरेको नयाँ डिजाइनलाई मंगलबार प्रमुख कार्यकारी अधिकृत प्रा.डा.गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको प्राधिकरण कार्यकारी समितिको बैठकले स्वीकृति दिने निर्णय गरेको छ ।
प्राधिकरणका अनुसार, सोसाइटी अफ नेपलिज आर्किटेक्चर (सोना) ले ५ वटा र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले एउटा घरको डिजाइन बनाउन सहयोग गरेका थिए । सो डिजाइनअनुसार, दुई लाख ९२ हजार रुपैयाँ लागतमा दुई कोठे भवन निर्माण गर्न सकिनेछ  । 
प्राधिकरण कार्यकारी समितिका सदस्य डा. हरिराम पराजुली संयोजकत्वको मापदण्ड निर्धारण समितिले प्रमाणीकरण गरेपछि नयाँ डिजाइनअनुसार ढुंगाको जोडाइ र माटोको गारोका एक तल्ले घर र ढुंगाको गारोमा माटोको जोडाइ तथा सिमेन्टको समेत जोडाइमा भूकम्पप्रतिरोधी घर बनाउन सकिनेछ ।
 यसैबीच प्राधिकरण कार्यकारी समितिको बैठकले जोखिमयुक्त बस्तीमा रहेकालाई स्थानान्तरण गर्न आवश्यक जग्गा÷घडेरीको व्यवस्थापन गर्नेबारे गृहकार्य गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिने निर्णय गरेको छ ।
प्राधिकरणले यसअघि जोखिमयुक्त बस्तीबाट अन्यत्र बसाइँ सर्न चाहने प्रभावितलाई जग्गा किन्ने प्रयोजनका लागि दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेबारे निर्णय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो । 
यस्तै बैठकले काठमाडौं उपत्यकाका पुरातात्विक सम्पदा पुनर्निर्माणमा स्थानीय समुदायको चासोलाई सम्बोधन गर्ने गरी प्रक्रिया अघि बढाउन सम्पदा पुनर्निर्माण उपसमितिलाई निर्देशन दिएको छ । 
http://www.karobardaily.com/news/74797
 

No comments: