Sunday, March 5, 2017

बल्ल सकियो चमेलियाको साँघुरिएको सुरुङ


भीम गौतम
काठमाडौ, २१ फागुन ।
संसदको सार्वजनिक लेखा समितिको निर्देशनपछि रोकिएको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको साँघुरिएको (स्वीजिङ) सुरुङको काम बल्ल सकिएको छ ।
दुई बर्ष अघि लेखा समितिले १ अर्ब ९ करोड भेरियसनको क्रममा अनियमितता भएको भन्दै भुक्तानी रोक्न निर्देशन दिएपछि रोकिएको साँघुरिएको सुरुङको काम सकिएको हो । भुक्तानी रोक्न निर्देशन दिएपछि ठेकेदार कम्पनीले काम रोकेको थियो । ४ किलोमिटर सुरुङमध्ये ८ सय ४३ मिटर साँघुरिएकोमा ६ सय ११ मिटर निर्माण सम्पन्न भएपछि यसको निर्माण कार्य रोकिएको थियो । चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजय दाहालले शनिबार साँघुरिएको सुरुङ निर्माण कार्य सकिएको जानकारी दिए । ‘गत असोज दोस्रो सातादेखि साँघुरिएको सुरुङको निर्माण काम अघि बढाइएको थियो, बाँकी २ सय ३२ मिटरको काम सकिएको छ ।’–उनले भने–‘सबैभन्दा जटिल कार्य साँघुरिएको सुरुङको मर्मत थियो, त्यो सकिएको छ ।’
अहिलेका उर्जा मन्त्री जर्नाद्धन शर्मा सार्वजनिक लेखा समितिका सभापति हुँदा अनियमितताको आरोपमा साँघुरिएको सुरुङको निर्माण रोकिएको उनी उर्जा मन्त्री भएर आएपछि गत असोजमा चीनीयाँ ठेकेदार कम्पनीलाई बोलाएर काम गर्न सहमत बनाएका थिए । गत २८ सेक्टेम्बर २०१६ बाट काम सुरु गरेर ८ मार्च २०१७ मा सम्पन्न गर्ने प्रतिवद्धता ठेकेदार चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी) ले जनाएकोमा त्योभन्दा चार दिन अघिनै निर्माण सम्पन्न गरेको हो । लेखा समितिले दिएको निर्देशनबाट काम रोकिएपछि समयमा आयोजना सम्पन्न नहुँदा बर्षेनी डेढ अर्ब रुपैयाँ घाटा भएको प्राधिकरणले स्रोतले जनाएको छ । जलविद्युत आयोजना एक दिन मात्र ढिला हुँदा पनि दैनिक ४० लाख रुपैयाँ घाटा पर्ने गरेको छ ।
९६ प्रतिशत काम सकिएपछि साँघुरिएको सुरुङ निर्माण नहुँदा आयोजनामा ढिलाई हुँदै आएको थियो । ६५ मिटर रक ट्रयाप निर्माण गर्नुपर्नेमा १३ मिटर मात्र सकिएको, अडिट टनेल बन्द गर्नुपर्ने लगायतका काम बाँकी रहेको आयोजनाले जनाउको छ । चमेलिया निर्माण कार्य अन्तिम चरणमा पुगेको र आगामी सेक्टेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखी अघि बढेको आयोजना प्रमुख दाहालले जानकारी दिए । ‘आगामी डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेपनि ठेकेदार कम्पनीलाई त्यसभन्दा अघि सेक्टेम्बरमै सम्पन्न गर्ने गरी काम गर्न अनुरोध गरिरहेका छौ ।’–उनले भने–‘दशैसम्ममा चमेलिया जलविद्युत आयोजना निर्माण पूरा गर्ने लक्ष्यका साथ अघि बढेका छौ ।’
आठ अर्ब ४९ करोड ५४ लाख ८४ हजार कूल लागत अनुमान गरिएको आयोजनाको लागत १५ अर्ब ६ करोड पुगिसकेको छ । २०६४ सालबाट निर्माण सुरु भएर २०६८ सालमै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको आयोजनाको काम अझै सकिएको छैन । सुरुमा प्रति मेगावाट २८ करोडमा निर्माण सम्पन्न हुने लक्ष्य रहेपनि त्यसको दोब्बर पुग्न थालेको छ । आयोजनाबाट वार्षिक १८ करोड ४२ लाख १० हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।



No comments: