Sunday, March 12, 2017

पश्चिम सेतीमा फेरि अलमल

     भीम गौतम   0 + -

फाइल फोटो

प्रबर्द्धकद्वारा दोस्रोपटक ‘हाइड्रोलोजी’ अध्ययन

काठमाडौंः पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजनाको प्रवद्र्धक चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनलले फेरि ‘हाइड्रोलोजी’ अध्ययन गर्ने भएको छ ।
आयोजना निर्माणको काममा निरन्तर अलमल गर्दै आएकोे कम्पनीले फेरि अध्ययन गर्ने भएपछि आयोजना निर्माणको काम थप पछि धकेलिने देखिएको छ । कम्पनीले यसअघि दुई वर्ष लगाएर हाइड्रोलोजी अध्ययन गरिसकेको थियो । 
७ सय ५० मेगावाटको यो आयोजनको हाइड्रोलोजी अध्ययन गर्न कर्पोरेसनको टोली सोमबारै काठमाडौ आईपुगेको छ । टोलीले अब अध्ययन अघि बढाउने लगानी बोर्डका सहसचिव एवं प्रवक्ता मधु भेटुवालले जानकारी दिए ।
माघ पहिलो साता विद्युत् प्राधिकरण र कर्पोरेसनबीच संयुक्त विकास उपक्रम (जेभीए)मा प्रारम्भिक सम्झौता गरेको चिनियाँ कम्पनीले यसको अनुमोदन गर्नुपर्नेमा फेरि हाइड्रोलोजी अध्ययन अघि बढाउन लागेको हो ।
“हाइड्रोलोजी अध्ययनका लागि हाइड्रोलोजीको थप अध्ययन गर्नुपर्ने भएकोले टोली आईपुगेको छ,” उनले भने, “दुई वर्ष हाइड्रोलोजीको अध्ययन गरे पनि यसमा केही थप स्पष्टता आवश्यक परेकाले फेरि अध्ययन गर्न लागेको जानकारी गराएकोले बोर्डले सहजीकरण मात्र गरिरहेको छ ।”
चिनियाँ कम्पनीको ७५ प्रतिशत र २५ प्रतिशत विद्युत् प्राधिकरणको स्वपुँजी (इक्विटी) लगानी रहने गरी भएको प्रारम्भिक सम्झौतालाई प्राधिकरण सञ्चालक समितिले भने अनुमोदन गरिसकेको छ ।
कर्पोरेसनको बोर्डले अनुमोदन गर्न ढिलाइ गरेपछि १० दिन अघि लगानी बोर्डले कर्पोरेसनलाई यसबारे पत्र लेखेको थियो तर पत्रको जवाफ अहिलेसम्म दिएको छैन । जेभीए अनुमोदनमा ढिलाइ गरेको कर्पोरेसनले फेरि टोली पठाएपछि लगानी बोर्डका अधिकारीहरू अचम्ममा परेका छन् । 
एक महिनाअघि जेभीए अनुमोदन नगरी कर्पोरेसनले सरकारसँग केही ग्यारेण्टी मागेपछि बोर्डले पत्र समेत पठाएको थियो । कर्पोरेसनको ७ सय ५० मेगावाटलाई घटाएर ६ सय मेगावाटमा झार्नेगरी प्राविधिक प्रतिवेदन तयार गरेको छ तर चिनियाँ कम्पनीले आयोजनाको क्षमताबारे प्रश्न गरेकोमा बोर्डले सुख्खायाममा ७ सय ५० मेगावाटमै बनाउनुपर्ने उत्तर पठाएको थियो ।
 हालै चिनियाँ कम्पनीले प्रसारणलाइनको समस्याबारे प्रश्न उठाएकोमा आयोजनास्थलबाट कोहलपुरसम्म डबल सर्किटको ४ सय केभीको प्रसारणलाइन निर्माण गरिरहेको भन्दै यो सन् २०२१ सम्ममा निर्माण सम्पन्न हुने उल्लेख गरेको थियो ।
यस्तै, जग्गा प्राप्तिबारे प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले निर्धारण गरेर उपलब्ध गराउने, आयोजना विकास सम्झौता (पीडीए) गर्दा विद्युत् खरिद सम्झौता (पीपीए)का सम्बन्धमा स्पष्ट हुने पत्र पठाएको थियो ।
प्रत्युत्तर समेत नपठाएको कर्पोरेसनले फेरि टोलीले कहिलेसम्म अध्ययन गर्ने भन्ने स्पष्ट छैन । प्राविधिक अध्ययन गर्न अझै समय लाग्ने र टोलीको प्रतिवेदन नआएसम्म कर्पोरेसन बोर्डले अनुमोदन गर्ने सम्भावना कम रहेकोले पश्चिम सेती निर्माणमा अझै ढिलाई हुने संकेत देखिएको बोर्डका एक अधिकारीले जानकारी दिए ।
२०६८ फागुनमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनीबीच भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक वर्षभित्र संयुक्त कम्पनी स्थापना गर्ने उल्लेख थियो । सम्झौतामा संयुक्त कम्पनी स्थापना गरेर अक्टोबर २०१४ मा वित्तीय व्यवस्थापन गरी सोही वर्षको जुलाईबाट निर्माण सुरु गरेर डिसेम्बर २०१९ मा सम्पन्न गर्ने लक्ष्य थियो ।
तर जेभीए अनुमोदन नहुँदा आयोजनाको कुनै काम पनि अघि बढ्न सकेको छैन भने अझै वेष्टसेती हाइड्रोपावर डेलभमेन्ट कम्पनी गठन कहिले हुने टुंगो लागिसकेको छैन ।
१६ बर्षसम्म स्मेकले लाइसेन्स होल्ड गरेर निर्माण सम्पन्न नगरेपछि सरकारले चिनियाँ कम्पनीलाई दिएकोमा सो कम्पनीले समेत आलटाल गर्न थालेपछि छिट्टै पश्चित सेती बन्न आशा रहेका यस क्षेत्रका बासिन्दा निरास बनेका छन् । 
http://www.karobardaily.com/news/73883

No comments: