फाइल फोटो
काठमाडौः नेपाल विद्युत् प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ । प्राधिकरणले परीक्षणको रूपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ ।
चैत ३ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा (एसएलसी)लाई लक्षित गरी चैतको सुरुदेखि नै आन्तरिक रूपमा विद्युत् व्यवस्थापन गरी परीक्षणको रूपमा देशलाई लोडसेडिङमुक्त बनाउने भएको हो ।
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएपछि यस वर्षको तिहारबाट परीक्षणको रूपमा उनले काठमाडौ उपत्यकालाई लोडसेडिङमुक्त बनाउने गरी परीक्षण गरेका थिए ।
उनी यसमा सफल भएपछि देशलाई नै लोडसेडिङमुक्त बनाउने अभियानमा जुटेका हुन् । हाल काठमाडौंका साथै पोखरा, काभ्रे लगायतका क्षेत्र लोडसेडिङमुक्त छ भने अन्य क्षेत्रमा ५ घण्टासम्म लोडसेडिङ हुँदै आएको छ ।
बढी विद्युत् माग हुने समयमा आवश्यकताको आधारमा १४ मेगावाटको हेटौंडा डिजेल प्लान्ट र ३९ मेगावाटको दुहबी मल्टिफ्यूल सञ्चालन गरेर भए पनि लोडसेडिङमुक्त बनाउने योजनामा प्राधिकरण छ ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले चैतदेखि लोडसेडिङमुक्त बनाउन लागिएको पुष्टि गरे । “चैतदेखि देशभरलाई लोडसेडिङमुक्त बनाउने योजना परीक्षणको रूपमा सुरु हुन्छ, विगतमा पनि सफल भएकोले यसपटक पनि सफल हुने अपेक्षा गरेका छौं,” उनले भने, “कुलेखानी जलाशययुक्त आयोजना सञ्चालन गरेर भए पनि अहिलेको विद्युत् अभावलाई पूर्ति गर्ने योजना बनाएका छौं ।”
प्राधिकरणका अनुसार चैतदेखि पिक आवरमा विद्युत् माग १ हजार २ सय ५० मेगावाट हुनेछ । प्राधिकरण भारप्रेषण केन्द्रले माग पूर्तिका लागि पिकिङ आयोजनालाई उपयोग गरी प्राधिकरणमार्फत ४ सय ५ मेगावाट, निजी क्षेत्रबाट १ सय ४५ मेगावाट तथा भारतमार्फत उपलब्ध हुने ३ सय ९० मेगावाट गरी आपूर्ति ९ सय ४० मेगावाट हुने जनाएको छ ।
पिक आवरमा तीन सय मेगावाट खपत गर्ने उद्योगलाई लाइन नदिइने तथा अपुग १४ मेगावाट हेटौंडा डिजेल प्लान्टबाट आपूर्ति गरिने र अपुग रहने अवस्थामा ३९ मेगावाटको मल्टिफ्यूल समेत सञ्चालन गरिने तयार गरेको प्राधिकरणले जनाएको छ ।
एसएलसीको अवधिसम्म बढी विद्युत् खपत हुने उपकरण प्रयोग गरी सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेको छ । प्राधिकरणले जेनेरेटटर भएका व्यवसायीहरूलाई यस अवधिमा सञ्चालन गरेर प्राधिकरणलाई सहयोग गर्न पनि आह्वान गरेको छ ।
एसएलसी सकिने बेलासम्ममा नदीमा पानी प्रवाह बढेर उत्पादन थपिँदै जाने र त्यसपछि देशलाई पूर्ण लोडसेडिङमुक्त बनाउन सकिने प्राधिकरणको लक्ष्य छ ।
सय मेगावाट थप्न भारतसँग प्रस्ताव
विद्युत् प्राधिकरणले दुई प्रसारणलाइनमार्फत एक सय मेगावाट थप्न भारतलाई पत्र पठाएको छ । ३ सय ९० मेगावाट विद्युत् भारतबाट आयात गरिरहेको प्राधिकरणले १३२ केभीको कटैया–कुसाहा र रक्सौल–परवानीपुर प्रसारणलाइनमार्फत ५०/५० मेगावाट थप्न प्रस्ताव गरेको हो ।
विद्युत् प्राधिकरणले दुई प्रसारणलाइनमार्फत एक सय मेगावाट थप्न भारतलाई पत्र पठाएको छ । ३ सय ९० मेगावाट विद्युत् भारतबाट आयात गरिरहेको प्राधिकरणले १३२ केभीको कटैया–कुसाहा र रक्सौल–परवानीपुर प्रसारणलाइनमार्फत ५०/५० मेगावाट थप्न प्रस्ताव गरेको हो ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले हालै नेपाल र भारतबीच भएको सचिवस्तरीय संयुक्त बैठकको निर्णयको आधारमा थप विद्युत् दिन भारतलाई पत्र पठाइएको जानकारी दिए ।
उनका अनुसार यसका लागि भारतको एनभीभीएन विद्युत् व्यापार निगम लिमिटेडलाई पत्र पठाइएको छ भने दुईपक्षीय छलफलबाट मूल्य तय गरिनेछ । भारतीय सरकारको अनुदानमा निर्माण सम्पन्न भएका दुवै प्रसारण लाइनको चार्ज भने भएको छैन ।
http://www.karobardaily.com/news/73822
No comments:
Post a Comment