फाइल फोटो
काठमाडौँ: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाका ९६ प्रतिशत प्रभावितलाई निजी आवासका लागि पहिलो किस्ता वितरण गरेको छ ।
३० फागुन २०७२ देखि अनुदान वितरण सुरु गरेको प्राधिकरणले एक वर्षमा ९६ प्रतिशतलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान वितरण गरेको हो ।
अनुदान सम्झौता सम्पन्न भएका ५ लाख ५४ हजार ६१४ घरधुरीमध्ये ५ लाख ३३ हजार ६९१ घरधुरीलाई पहिलो किस्ताको रकम वितरण गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले जानकारी दिए ।
१२ वैशाख २०७२ मा गएको भूकम्पका कारण करिब ८ लाख घरधुरी क्षतिग्रस्त भएका थिए । तर पुनर्निर्माणको कामले भने अझै गति लिएको छैन ।
राजनीतिक विवादले गर्दा गतवर्ष पुसमा प्राधिकरण गठन भई फागुनमा आएर मात्र सरकारले घोषणा गरेको अनुदान वितरण सुरु गरिएको थियो । पहिला दुई लाख अनुदान दिने घोषणा गरेको सरकारले पछि एक लाख रुपैयाँ थप गरेको थियो ।
काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेक भूकम्प अतिप्रभावित ११ जिल्लामा ९८ प्रतिशत लाभग्राहीले पहिलो किस्ता प्राप्त गरिसकेको प्राधिकरणले जनाएको छ । हालसम्म प्रभावित सिन्धुपाल्चोकका शतप्रतिशत भूकम्प प्रभावितले मात्र अनुदान सम्झौता गरेका छन् ।
सरकारी जग्गा मिचेर बनेका घर तथा लालपुर्जा नभएको र जग्गासम्बन्धी विवाद भएका केही घरधुरीले आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा पहिलो किस्ताको अनुदान लिन सकेका छैनन् । प्राधिकरणका अनुसार, पहिलो किस्ता लिएर सरकारी मापदण्ड र प्रक्रिया पुर्याई घरको जग पुनर्निर्माण कार्य सम्पन्न गरेका एक हजार ४३८ घरधुरीले दोस्रो किस्तावापतको अनुदानसमेत प्राप्त गरिसकेका छन् ।
३० फागुन २०७२ देखि अनुदान वितरण सुरु गरेको प्राधिकरणले एक वर्षमा ९६ प्रतिशतलाई पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान वितरण गरेको हो ।
अतिप्रभावित ओखलढुंगा, नुवाकोट, रामेछाप, दोलखा, गोरखा, धादिङ, काभ्रे, रसुवा, सिन्धुली, मकवानपुर, काठमाडांै, ललितपुर र भक्तपुर जिल्लाबाहेक अन्य प्रभावित १७ जिल्लामा भूकम्प प्रभावितको प्रमाणीकरण कार्य अघि बढेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले दोलखामा पहिलो र दोस्रो किस्ता बुझेर मापदण्डअनुसार घरको पनुर्निर्माण गरिरहेका ४४ घरधुरीलाई तेस्रो किस्तावापतको एक लाख रुपैयाँ अनुदानसमेत वितरण गरिसकेको जनाएको छ ।
दोस्रो किस्ताको रकम भने १ हजार ४३८ ले मात्र पाएका छन् । प्राधिकरणले दोस्रो किस्ता वितरणमा ढिलाइ नहोस् भन्ने उद्देश्यले अग्रिम रूपमा जिल्लामा अनुदान रकम पठाइसकेको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले पहिलो किस्ता लिएर सरकारी मापदण्ड र प्रक्रिया पूरा गरी घरको जग हालेका लाभग्राहीले तत्काल दोस्रो किस्ताको रकम प्राप्त गर्न सक्ने बताए ।
“जिल्लामा प्राविधिक निरीक्षण फाराम भरेर पहिलो प्रक्रिया पूरा गरेको प्रमाणित भए दोस्रो किस्ताको अनुदान रकम लिन सकिन्छ, हामीले दोस्रो किस्तावापतको अनुदान रकम वितरणका लागि जिल्लामा पहिले नै पठाइसकेका छौं,” उनले भने ।
http://www.karobardaily.com/news/74349
No comments:
Post a Comment