–महिनाकै एक ट्रान्सफर्मर चोरी
–चोरेर कवाडीमा विक्री
भीम गौतम÷राजधानी
हेटौडा (मकवानपुर), ७ बैशाख । सबै सर्वसाधारणलाई उज्यालो पुर्याउने ट्रान्सफर्मरनै चोरी हुन्छ भन्दा पत्यार नलाग्न सक्छ तर नेपाल विद्युत प्राधिकरणको हेटौडा क्षेत्रीय कार्यालय अन्तर्गतका जिल्लाहरुमा तामाको तार कवडीमा विक्री गर्नका लागि ट्रान्सफर्मरनै चोरी गर्ने क्रम बढेको छ ।
लोडसेडिङको मौका पारेर तथा करेण्ट प्रवाह भईरहेको बेला तारनै छुट्याएर ट्रान्सफर्मरमै चोर्ने क्रम मकवानपुर, चितवन, बारा लगायतका जिल्लाहरुमा बढेको हो । चोर्ने वित्तिक्कै ट्रान्सफर्मर गएको क्षेत्रमा विजुली बत्ती निभ्नुका साथै अहिले प्राधिकरणसँग ट्रान्सफर्मर नभएकोले हप्तौ अन्धकारमा बस्नुपर्ने हुन्छ ।
प्राधिकरण हेटौडा क्षेत्रीय कार्यालयका अनुसार, एक बर्षभित्र मात्र तामाको तारका लागि १२ वटा ट्रान्सफर्मर चोरी भएको छ । प्रत्येक महिनाको एक ट्रान्सफर्मर चोरी हुनु डरलाग्दो समस्या रहेको क्षेत्रीय कार्यालयका कर्मचारीहरु बताउँछन् ।
कार्यालयका अनुसार, मकवानपुरको पालुङ क्षेत्रमा २५ केभीए र १५ केभीएका दुई र हेटौडा क्षेत्रका ५० केभीएका चार र २५ केभीएको एक वटा ट्रान्सफर्मर चोरी भएको छ । त्यसैगरी चितवनको भरतपुरमा १०० केभीएका १ तथा टाँडीमा ५०÷५० केभीएका दुई तथा बाराको कलैयामा एक सय केभीएको एक ट्रान्सफर्मर चोरी भएका छन् । ‘तामाको क्वाइलका लागि एक सय केभीएसम्मका लागि ट्रान्सफर्मर चोरी भएका छन्, एक बर्षभित्र मात्र १२ वटा चोरीका घटना हेटौडा क्षेत्रीय कार्यालयमै भएको छ ।’–क्षेत्रीय निर्देशक रामएकवाल यादवले भने–‘ तामाको तारका लागि ट्रान्सफर्मरनै चोरी हुनु डरलाग्दो समस्या बनेको छ, चोरी क्रम गर्ने बढ्दो छ ।’ उनका अनुसार, ट्रान्सफर्मर चोरीमा संलग्नमध्ये टाँडी र भरतपुरबाट एक÷एक जना मात्र पक्राउ परेका छन् भने अन्य अहिलेसम्म पक्राउ परेका छैनन् । सबै प्राधिकरणका वितरण केन्द्रले प्रहरीलाई घटनाबारे जानकारी दिईसकेको छ । प्राधिकरणका अधिकारीहरुका अनुसार, चोरीमा ट्रान्सफर्मरबारे जानकार गिरोहनै सक्रिय छ ।
५० केभीए ट्रान्सफर्मरको मुल्य डेढदेखि दुई लाख रुपैयाँ पर्छ भने २५ केभीको त्यसको आधा तथा १०० केभीएको मुल्य दोब्बर पर्छ । प्राविधिकहरुका अनुसार, ५० केभीए ट्रान्सफर्मरमा ३० देखि ३५ केजी तामाको तार हुन्छ । तामा चोरेर कवाडीको भाऊमा उनीहरुले बेच्ने गरेका छन् । ‘२०÷२२ हजारका लागि दुई÷तीन लाख रुपैयाँ पर्ने ट्रान्सफर्मरनै चोरी हुने गरेको छ ।’–प्राधिकरणका एक अधिकारीले भने–‘ट्रान्सफर्मरबाट तामाको तार निकाल्नका लागि कम्तीमा दुई घण्टा लाग्छ तर यो चोरी हुने क्रम बढ्नु बिडम्बना हो ।’ विशेष गरी ट्रान्सफर्मर चोरीमा संलग्न गिरोहले ट्रान्सफर्मर राखिएको क्षेत्रबाटै वा ट्रान्सफर्मर अन्तै लगेर तामाको तार चोर्ने गरेको छ ।
ट्रान्सफर्मर चोर्दा यसभित्रको ट्रान्सफर्मर आयल चुहिनुका साथै कोर र बुस समेत विर्गने गर्छ । जसको कारण उक्त ट्रान्सफर्मर मर्मत सम्भारका लागि कुल पर्ने मुल्यको झण्डै ८० प्रतिशत खर्च हुने गरेको छ । ट्रान्सफर्मर चोरी हुँदा सर्वसाधारण अध्यारोमा बस्नुपर्ने भएपनि ट्रान्सफर्मर चोर्दा लामो समय लाग्ने हुँदा यसबारे सर्वसाधारणले सहयोग नगरेको गुनासो प्राधिकरणको छ तर प्राधिकरणले समेत ट्रान्सफर्मर चोरीविरुद्धमा जनचेतना जगाउन सकेको छैन । दुई बर्षदेखि विद्युत प्राधिकरणले ट्रान्सफर्मर खरिद नगरेकोले हाहाकार भईरहेको बेला चोरीको कारण प्राधिकरणलाई थप समस्या परेको छ ।
No comments:
Post a Comment