– कुलेश्वरमा पनि एबीपीएस
–सात वितरण केन्द्रमा पनि थपिदै
भीम गौतम\राजधानी
काठमाडौं, २४ चैत्र । काठमाण्डौ उपत्यकाभित्रका छ वितरण केन्द्रका विजुलीका ग्राहकहरुलाई अब विजुलीको विल तिर्न सम्बन्धित केन्द्रमै पुग्नु पर्दैन । अन्य जुनसुकै पाँच वितरण केन्द्रहरुमा पनि विल तिर्न सक्ने एनी ब्रान्च पेमेण्ट सिष्टम (एबीपीएस) नेपाल विद्युत प्राधिकरणले लागु गरेपछि सम्बन्धित केन्द्रमै पुग्नुपर्ने अवस्थाको अन्त्य भएको हो ।
तोकिएकै वितरण केन्द्रमा महशुल तिर्न जानुपर्ने, ग्राहकले झन्झटिलो बेहोर्नुपर्ने परम्परागत अवस्था रहेकोमा एबीपीएस प्रविधि सुरु गरेर प्राधिकरणले ग्राहकहरुलाई विशेष सुविधा दिएको छ । पहिलो चरणमा नमूनाको रुपमा बानेश्वर, रत्नपार्क, पुल्चोक, चाबहिल र लगनखेल वितरण केन्द्रमा सुविधा सुरु गरेको प्राधिकरणले सोमबारदेखि कुलेश्वर वितरण केन्द्रमा पनि सुरु गरेको हो । अव कुलेश्वर क्षेत्रका ग्राहकले समेत बानेश्वर, रत्नपार्क, पुल्चोक, चाबहिल र लगनखेल वितरण केन्द्रबाट सजिलै आफ्नो विल तिर्न सक्नेछन् ।
एबीपीएस सेवा सुरु गरेपछि अब ६ वितरण केन्द्रका विजुलीका ग्राहकहरुले जुनसुकै शाखाबाट समेत विजुलीको महशुल तिर्न सक्ने आयोजनाका प्रबन्धक अनिलमान श्रेष्ठले जानकारी दिए । ‘६ वितरण केन्द्रभित्रका ग्राहकहरुले जुन सुकै शाखाबाट समेत विजुलीको विल तिर्न सक्छन् ।’–उनले भने । एबीपीएसमार्फत सेवा सुरु गरिएको क्षेत्रहरुमा २ हजारभन्दा बढी ग्राहकले अन्तर वितरण केन्द्रमार्फत विजुलीको विल तिर्न थालेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणका अनुसार, चैत्रभित्र रत्तपार्क वितरण केन्द्रको नक्साल काउण्टरको संकलन केन्द्र, बैशाखको दोस्रो साताभित्र कुलेश्वर वितरण केन्द्र अन्तर्गतको बालाजु काउण्टर संकलन केन्द्र र बैशाख २५ गतेभित्र महाराजगञ्ज वितरण केन्द्रमा एबीपीएस लागु गरिन लागेको छ । त्यसैगरी आगामी असारभित्र महाराजगञ्जका साथै ठिमी, कीर्तिपुर र भक्तपुर वितरण केन्द्रमा समेत एबीपीएस लागु गर्न लागेको छ ।
विशेष सुविधापछि ग्राहकलाई बढी सुविधा हुने, ग्राहकबाट बढी महशुल संकलन हुने र व्यवस्थापनलाई पनि दैनिक कति संकलन भयो, कति ग्राहक बढे लगायतबारे तुरुन्तै थाहा भई सबै पारदर्शी हुने अपेक्षा प्राधिकरणको दाबी छ । विशेष सुविधा सुरु भएपछि महशुल तिर्नका लागि सम्बन्धित केन्द्रमै पुग्नुपर्ने, लामो लाइन र धेरै समय लगाउनुपर्ने वाध्यताको अन्त्य भएको छ । यसबाट प्राधिकरणप्रति ग्राहकको सकारात्मक भावना वृद्धि हुने अपेक्षा प्राधिकरणको छ ।
मुलुकभर रहेका एक सय ४० भन्दा बढी प्राधिकरण शाखा र संकलन केन्द्रमध्ये ६४ वटामा मात्र कम्प्युटरमार्फत विलिङ प्रविधि लागु गरिएको छ । अन्य शाखाहरुमा पनि क्रमशः कम्प्युटर प्रविधिमार्फत विलिङ गर्ने सेवा पुर्याउने तथा अन्य वितरण केन्द्रहरुमा समेत क्रमशः एबीपीएस लागु गर्ने योजना प्राधिकरणको छ ।
No comments:
Post a Comment