–१९३९ थान ट्रान्सफर्मर प्रतिष्थापन भएन
भीम गौतम\राजधानी
काठमाण्डौं, १६ बैशाख । ट्रान्सफर्मर नेपाल पठाउने क्रममा बदमासी भएको स्विकार्दै ५६ थान गुणस्तरहिन ट्रान्सफर्मर प्रतिष्थापन गरिसकेको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनी चीनले त्यसपछि प्रतिष्थापन गर्न वेवास्ता गरेको छ ।
नेपाल विद्युत प्राधिकरणलाई प्रतिष्थापन गर्न दुई पटक पत्र लेखेको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनी चीनले पछिल्लो समयमा प्रतिष्थापन गर्न वेवास्ता गरेको हो । १९ अगस्ट र पुनः ११ सेप्टेम्बर २०१३ मा हुवेईले सबै ट्रान्सफर्मरहरू प्रतिस्थापन गर्न प्राधिकरणमा पत्र लेखेको थियो । हुवेर्ईका अध्यÔ लिडोगुले लेखेको पत्रमा विनासर्त सबै ट्रान्सफर्मरहरू नया“ प्रतिस्थापन गर्ने उल्लेख छ । हुवेईको पत्रकै आधारमा प्राधिकरणले प्रतिष्थापनका लागि हुवईलाई २५ पटक पत्र पत्र लेखिसकेको छ तर सो पत्रको वेवास्ता गर्दै आएको छ । पछिल्लो पटक प्राधिकरणले १५ दिन अघि हुवेईलाई पत्र लेखेको थियो ।
गत असोजमा बसेको प्राधिकरण सञ्चालक समितिले १ हजार ९ सय ९५ थान ट्रान्सफर्मर प्रतिस्थापन गर्ने निर्णय गरेको थियो । हुवेईले ५६ थान ट्रान्सफर्मर प्रतिस्थापन गरिसकेको छ । १ हजार ९ सय ३९ ट्रान्सफर्मर प्रतिष्थापन गर्न बाँकी रहेपनि त्यसपछि आफ्नो प्रतिवद्धता विपरित हुवेईले अरु ट्रान्सफर्मर प्रतिष्थापन गरेको छैन । दुई बर्षदेखि ट्रान्सफर्मर प्रकरणको कारण ट्रान्सफर्मर खरिद नगरेपछि अभावको कारण प्राधिकरण ठूलो समस्यामा छ । ‘पहिलो लटमा ५५ थान बाहेक अरु ट्रान्सफर्मरहरु हुवेईले प्रतिष्थान गरेको छैन ।’–प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने ।
गत असोजदेखि पटक पटक पत्र पठाएपनि वेवास्ता गरेपछि वार्ता गरेर सल्टाउने प्रयासमा रहेको प्राधिकरण गुणस्तरहिन ट्रान्सफर्मर वापतको क्षतिपुर्तिका लागि आर्विटेसनमा जाने तयारीमा छ । ‘आर्विटेसनको पुर्व तयारीकै क्रममा छौ, पटक पटक पठाएको पत्रलाई वेवास्ता गरेपछि अब आर्विटेसनमा जान्छौ ।’–प्राधिकरणका एक अधिकारीले भने–‘हुवेईले आफैले पठाएको पत्र विपरित अहिले आएर प्रतिष्थापन नगरेर वेवास्ता गरिरहेको छ ।’
हुवेई कम्पनीद्धारा खरिद ट्रान्सफर्मर प्रकरणमा प्राधिकरणका उच्च कर्मचारीहरूका साथै हुवेईका प्रतिनीधिहरुलाई समेत मुद्दा दायर गरेपछि हुवेईले प्रतिष्थापनमा वेवास्ता गर्दै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरेर भ्रष्टाचार गरेको अभियोगमा प्राधिकरणका २१ कर्मचारीको मुद्दा जारी छ भने अदालतले फरार रहेका ठेकेदार कम्पनीका नेपाली एजेन्टसहित हुवेई कम्पनीका अध्यक्षलाई भने पक्राउ पुर्जी जारी गरेको छ । प्राधिकरणले आर्थिक बर्ष २०६७÷ ०६८ मा १ हजार २ सय ६० थान र विश्व बैंकको सहयोगमार्फत ७ सय ३५ थान ट्रान्सफर्मर खरिद गरेको थियो । विशेष अदालतले पहिलो चरणको ट्रान्सफर्मर खरिदसम्बन्धी मुद्दामा १५ जनालाई १६ करोड ६८ लाख ७५ हजार तथा दोस्रो चरणको खरिदमा ११ जनालाई ७ करोड ३५ लाख ७५ हजार बराबरको धरौटी मागेको हो । दुवै मुद्दामा हुवेई इलेक्ट्रिक कम्पनी चीनका महाप्रबन्धक हु जेन क्वाङलाई मात्र १७ करोड ५० लाख र नेपाल एजेन्ट जु इ त्यानलाई १ करोड ५० लाख रुपैयाँ धरौटी तोकेको छ । हुवेईले नेपाल पठाएको ट्रान्सफर्मरमा बाहिर र भित्र दुवैमा तामा हुनुपर्नेमा बाहिर तामा र भित्र आल्मुनियम पठाएर वदमासी गरेको पत्ता लागेको थियो ।
No comments:
Post a Comment