–६४ करोड रकम कालोसुचीमा
–नतिरे सरकारी बाँकी वक्यौता सरह असुली गरिने
भीम गौतम\राजधानी
काठमाडौं, २३ चैत्र । नेपाल विद्युत प्राधिकरणले ३३ हजार ६ सय ६० ग्राहकलाई कालोसिुची (ब्लाक लिष्ट) मा राखेको छ ।
विजुलीको विल नतिरेर लाइन काटेको ६ महिनासम्म पनि नतिरेपछि विद्युत प्राधिकरणले ग्राहकलाई कालो सुचीमा राखेको हो । कालोसुचीमा परेका ग्राहकमा उद्योगधन्दाका साथै घरायसी ग्राहक समेत छन् ।
प्राधिकरणका अनुसार, कालोसुचीमा रहेको ग्राहकको रकम मात्र ६४ करोड ८२ लाख २५ हजार रुपैयाँ छ । कालोपाटीमा रहेको रकम बुझाउँदा थप २५ प्रतिशत जरीवाना लाग्ने भएकोले कालोपाटीबाट मात्र प्राधिकरणले ८० करोड रुपैयाँ वक्यौता उठाउन बाँकी छ ।
कालोपाटीमा रहेका ग्राहकहरुले अर्को लाइन लिन नमिल्ने व्यवस्था भएपनि प्राधिकरण व्यवस्थापनले वेवास्ता गर्दा कालोसुचीमा पर्ने ग्राहक बढ्दै गएका छन् । सर्वसाधारणले पुनः लाइन लिन असहज भएपनि ठूला उद्योगधन्दा र व्यवसायीहरुले भने पहुँचको भरमा विभिन्न ठाउँमा त्यही नाममा विजुलीको लाइन लिएर प्राधिकरणको व्यवस्थालाई उल्लंघन गर्दा पनि वेवास्ता गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता शेरसिंह भाट भने कालोपाटीमा रहेका ग्राहकलाई अन्यत्र लाइन जडान गर्न नदिनुका साथै कालोपाटीमा रहेको रकम उठाउनका लागि प्राधिकरणले पहल गरिरहेको बताउँछन् । ‘कालोपाटीमा रहेका ग्राहकबाट वक्यौता असुलीका लागि प्राधिकरणले पहल गरिरहेको छ, कालोसुचीमा रहेका ग्राहकलाई अर्को लाइन नदिने लगायतका कार्य भईरहेको छ ।’
२०४५ सालदेखि विजुलीको लाइन काटेर कालोसुचीमा राख्न थालेपनि प्राधिकरणसँग यसअघि कुनै तथ्यांक थिएन भने कालोसुचीमा रहेका कुनै ग्राकहलाई पनि कार्बाही गरिएको थिएन । ‘पहिला कालोसुचीमा को को छन् भन्ने तथ्यांक समेत निकालेका थिएनौ, अब कार्बाही प्रकृया अघि बढाउन लागेका छौ ।’–प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका सह–निर्देशक सुर्य शिवाकोटीले भने–‘कालोसुचीमा रहेका ग्राहकले विजुलीको विल नतिरेमा तीनपुस्ते नाम सार्वजनिक गर्नेदेखि सरकारी वाँकी वक्यौता सरह रकम असुल गर्ने सरहका कार्बाही गर्न लागेका छौ ।’
प्राधिकरणले बाँकी वक्यौता बुझाउनका लागि एक महिनाको समय दिएर एक हप्ताभित्र सार्वजनिक सुचना जारी गर्न लागेको छ । प्राधिकरणका अनुसार, उक्त समयभित्र विल नतिरेमा सम्बन्धित ग्राहकको अन्य क्षेत्रमा लाइन भएमा काट्ने, त्यो गर्दा पनि नतिरेमा नजिकको हकदारको काट्ने, त्यसपछि तीन पुस्ते नाम पत्रपत्रिकाका साथै इन्टरनेट र केबुलमार्फत सार्वजनिक गर्ने, त्यो गर्दा पनि विल भुक्तानी नभएमा सरकारी बाँकी वक्यौता सरह उनको जग्गा, सम्पत्ति लगायत रोक्का गरेर असुल गर्ने योजना प्राधिकरणले अघि बढाएको छ । सुचना जारी गरेको एक महिनाभित्र वक्यौता तिरेमा २५ प्रतिशत जरीवाना छुट दिनेबारे छलफल भईरहेको सहायक निर्देशक शिवाकोटीले जानकारी दिएका छन् ।
साढे ३३ हजार प्राधिकरणका ग्राहकमध्ये सबैभन्दा बढी प्राधिकरणको काठमाडौ क्षेत्रीय कार्यालयका छन् । प्राधिकरणका अनुसार, काठमाण्डौ क्षेत्रमा मात्र २० करोड रुपैयाँ बराबरको रकमसहित ९ हजार ३ सय ५१ ग्राहक कालोसुचीमा छन् । त्यसैगरी हेटौडा क्षेत्रमा १५ करोड ७ लाख बराबरको रकमसहित ६ हजार ३ सय ८९ जना, बुटबल क्षेत्रमा ८ करोड ३२ लाख रकमसहित ४ हजार ५ सय १७ जना तथा विराटनगर क्षेत्रमा ७ करोड ५५ लाख बराबरको रकमसहित ४ हजार २ सय ९७ ग्राहक कालोसुचीमा छन् । त्यसैगरी जनकपुर क्षेत्रमा ७ करोड ८९ लाख रुपैयाँसहित ३ हजार ९ सय ९१ जना, नेपालगञ्ज क्षेत्रमा ३ करोड ३३ लाखसहित २ हजार ५ सय ४४ जना, पोखरा क्षेत्रमा १ करोड २१ लाखसहित १ हजार ४ सय ८६ जना तथा अत्तरिया क्षेत्रमा १ करोड ४३ लाख रुपैयाँसहित १ हजार ८५ जना ग्राहक कालोसुचीमा छन् ।
प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयले कालोसुचीमा रहेका ग्राहकबाट वक्यौता उठाउनका लागि क्षेत्रीय कार्यालयमा पुगेर अन्तरक्रिया गर्नुका साथै वितरण केन्द्रमा समेत निर्देशन दिने कार्य गरिरहेको जनाएको छ । निर्देशानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले सबै क्षेत्रीय कार्यालयहरुलाई कालोसुचीमा रहेको रकम उठाउनका लागि र नतिर्नेहरुलाई प्राधिकरणको विनियम अनुसार कार्बाहीका लागि निर्देशन दिईसकेको जानकारी दिए ।
क्षेत्रीय कार्यालय रकम ग्राहक संख्या
काठमाडौ २० करोड ९३५१
हेटौडा १५ करोड ७ लाख ६३८९
बुटबल ८ करोड ३२ लाख ४५१७
विराटनगर ७ करोड ५५ लाख ४२९७
जनकपुर ७ करोड ८९ लाख ३९९१
नेपालगञ्ज ३ करोड ३३ लाख २५४४
पोखरा १ करोड २१ लाख १४८६
अत्तरिया १ करोड ४३ लाख १०८५
No comments:
Post a Comment