–विजुलीले कुँडो समेत पकाएर दुरुपयोग
–अनुगमन गर्दैन प्राधिकरण
भीम गौतम\राजधानी
काठमाण्डौं, २ बैशाख । नेपाल विद्युत प्राधिकरणको विनियावली अनुसार प्रत्येक विजुलीका ग्राहकको मिटरमा सिल लगाउनुपर्छ । अझ विजुलीको विल दुरुपयोग गर्न जानकार प्राधिकरणका कर्मचारीहरुको त मिटरमा सिल लगाउनैपर्ने हो तर प्राधिकरणका अधिकांश कर्मचारीहरुको मिटरमा सिल नलगाएको पाइएको छ ।
प्राधिकरण स्रोतका अनुसार, ५ हजार ज्यालादारीसहित १५ हजार कर्मचारी रहेको प्राधिकरणमा अधिकांशको सिल नलगाएको पाइएको हो । काठमाण्डौ उपत्यकाभित्र तथा केही शहरी क्षेत्रमा रहेका प्राधिकरण कर्मचारीहरुको मिटरमा सिल लगाइएको पाइएपनि अन्य क्षेत्रमा पनि अधिकांश कर्मचारीको सिल नलगाएको हालै प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयले क्षेत्रीय कार्यालयहरुमा गरेको अन्तरक्रियामा पत्ता लागेको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार, सिल नलगाउनेमध्ये पनि ज्यालादारीका रहेका ५ हजारमध्ये ९० प्रतिशतका साथै अन्य १० हजार कर्मचारीमध्ये ८० प्रतिशत कर्मचारीको विजुलीको सिल लगाइएको छैन ।
प्राधिकरणसँग मिटर सिलिङ गरेका कर्मचारीहरुको ऐकिन तथ्यांक नभएपनि साढे १२ हजारभन्दा बढी कर्मचारीहरुले सिल नलगाएको देखिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । ‘२६ लाख ग्राहकहरुमा समेत कतिपयका ग्राहकको अझै सिल लगाउन प्राधिकरणले सकेको छैन, कर्मचारीले अधिकांशले लगाएका छैनन् ।’–ती अधिकारीले भने–‘कर्मचारीले सिल लगाए नलगाएको अनुगमन कस्ले गर्ने ? सिल नलगाएपछि विजुली उपयोगमा दुरुपयोग भईरहेको छ ।’
प्राधिकरणका कर्मचारीहरुसँग विजुलीको दुरुपयोगका लागि सबै किसिमको प्राविधिक ज्ञान हुने भएकोले उनीहरुले मिटरमा सिलिङ नगरी कुँडो पकाउने लगायतका कार्य समेत गर्ने गरेको गुनासो बेला बेलामा प्राधिकरणमा अरु सर्वसाधारणले गर्ने गरेका छन् । कतिपय स्थानमा रहेका ठूला उद्योगहरुमा कर्मचारीहरुकै मिलेमतोमा सिल नगरी रातभर मिटर थुतेर विजुलीका दुरुपयोग गर्ने, ठूला भोजभत्तेरमा विजुली चोरेर युज गर्ने लगायतका कार्य समेत गरेको प्राधिकरणमा उजुरी आउने गरेका छन् । तर प्राधिकरणले मिटर सिल गरे, नगरेको अहिलेसम्म कुनै अनुगमन गर्न सकेको छैन । आयको मुख्य माध्यम विजुली विक्री भएपनि यसको दुरुपयोग रोक्नका लागि अनुगमन नगर्दा लाखौ रुपैयाँ घाटा प्राधिकरणले बेहार्नुपरेको छ ।
प्राधिकरणका कर्मचारीले कुनै ग्राहकको घरमा मिटर राखेपछि अर्को प्राविधिकस्तरको कर्मचारीले मिटर र बाकस दुवैमा सिल लगाउनुपर्ने हुन्छ । त्यो कर्मचारी अन्यन्त्र सरुवा भएमा त्यो सिल नष्ट गरेर अर्को सिल लगाउने व्यवस्था पनि गरिएको छ । नत्र सिल जडान गर्ने कर्मचारीनै अरुले गडबढ गरेमा कार्बाहीमा पर्ने भएकोले कर्मचारी सरुवा हुँदा पहिलाको सिल नष्ट गरेर नयाँ सिल लगाइने गरिएको हो ।
प्राधिकरणका कर्मचारीहरु भने सबै ग्राहकको मिटरमा सिल गर्ने व्यवस्था प्राधिकरणको नियमावलीमै भएकोले गर्नुपर्ने बताउँछन् । ‘कर्मचारी मात्र होइन, प्रत्येक ग्राहकको मिटरमा सिल राख्नुपर्ने व्यवस्था छ, यो नराखे चोरीको सम्भावना छ, यसबाट प्राधिकरणको आय घट्न जान्छ ।’–प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका सहायक निर्देशक सुर्य शिवाकोटी भन्छन्–‘प्रत्येक ग्राहकको मिटरमा सिल गर्नुपर्छ, यो गर्न सके प्राधिकरणलाई धेरै फाइदा हुन्छ ।’
प्राधिकरणको नियमावलीमा कर्मचारीको मिलेमतोमा विजुली मिटरको सिल तोडेमा सम्बन्धित कर्मचारीलाई विभागीय कार्बाही तथा ग्राहक आफैले तोडेर विगारेमा ग्राहकको लोडको हिसाब गरी जरीवाना गर्ने व्यवस्था गरिएको छ तर दुवैबारे प्राधिकरणले अनुगमन गर्न सकेको छैन । विवाद आएपछि मात्र छानवीन गर्ने प्राधिकरणको प्रवृत्ति र आफूले जानेको भन्दै मिटरको सिल विगार्ने कतिपय प्राधिकरण कर्मचारीको स्वार्थको कारणले प्राधिकरणलाई लाखौ घाटा परेपनि यसबारे कुनै अनुगमन हुन नसकेको प्राधिकरणका अधिकारीहरु बताउँछन् । ‘प्राधिकरण खाली कर्मचारीको अभावमा गर्न नसकेको भनेर पन्छिन खोज्छ, प्राधिकरणकै कर्मचारीको सिल गर्न सक्ने अवस्थामा त प्राधिकरण छनि तर प्राधिकरण पनि यसमा जिम्मेवार देखिएको छैन ।’–ती अधिकारी भन्छन् ।
No comments:
Post a Comment