Monday, April 14, 2014

प्राधिकरणको बक्यौता आठ अर्ष


भीम गौतम\राजधानी
काठमाण्डौं, ३० चैत्र । बर्षको साढे चार अर्ब घाटामा रहेको नेपाल विद्युत प्राधिकरणको बक्यौता मात्र आठ अर्ब पुगेको छ ।
प्राधिकरणले समयमै विद्युत महशुल उठाउन नसक्दा प्राधिकरणको वक्यौता आठ अर्ब रुपैयाँ पुगेको हो । प्राधिकरण स्थापना भएदेखिनै प्राधिकरणमा वक्यौता रहँदै आएको छ । ‘२६ अर्बको विजुली बेच्ने गरेकोमा अहिलेसम्म ८ अर्ब बक्यौता छ ।’–प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका सह–निर्देशक सुर्य शिवाकोटी भन्छन् । उनका अनुसार, २०४२ सालदेखिकै वक्यौता प्राधिकरणले उठाउन बाँकी छ ।
२६ लाख ग्राहक रहेको प्राधिकरणमा २४ लाख घरायसी ग्राहक छन् । घरायसी ग्राहकबाट मात्र प्राधिकरणले ३ अर्ब ५२ करोड रुपैयाँ उठाउन बाँकी छ भने कालोसुचीमा रहेका ग्राहकबाट ६४ करोड रुपैयाँ उठाउन बाँकी छ । त्यसैगरी उद्योगतर्फका ग्राहबाट १ अर्ब २३ करोड र सडक बत्तीको १ अर्ब ८५ करोड रुपैयाँ वक्यौता प्राधिकरणले उठाउन बाँकी छ । गत आर्थिक बर्षको विक्रीको तुलनामा हालसम्म प्राधिकरणले अझै ३१ प्रतिशत वक्यौता उठाउन बाँकी छ ।
प्राधिकरणका अनुसार, आठ क्षेत्रीय कार्यालय रहेको प्राधिकरणको सबैभन्दा बढी वक्यौता उठाउन जनकपुर क्षेत्रीय कार्यालयको बाँकी छ । ८८ प्रतिशत बाँकी वक्यौता उठाउन बाँकी रहेको जनकपुरको आर्थिक बर्ष २०६९÷०७० मा १ अर्ब ८४ करोड ८४ लाख रुपैयाँ बक्यौता रहेकोमा गत माघसम्मको मात्र १ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ उठाउन बाँकी छ । त्यसगरी अघिल्लो आर्थिक बर्षमा ४ अर्ब ८५ करोड ४३ लाख रुपैया विजुली विक्री गरेको हेटौडा क्षेत्रीय कार्यालयको १ अर्ब ९१ करोड २४ लाख, १ अर्ब ३६ करोड ९८ लाख विक्री रहेको नेपालगञ्जको ४१ करोड ६५ लाख, ८० करोड ६५ लाख रुपैयाँ विक्री रहेको अत्तरियाको २३ करोड ३६ लाख रुपैयाँ वक्यौता छ । त्यसैगरी गत बर्ष ३ अर्ब ६३ करोड ५९ लाख रुपैयाँ विक्री रहेको विराटनगर क्षेत्रको ९३ करोड ७७ लाख, ८ अर्ब ३२ करोड ६१ लाख विक्री रहेको काठमाण्डौ क्षेत्रको १ अर्ब ९३ करोडठ ५३ लाख, ३ अर्ब ३० करोड विक्री रहेको बुटबलको ६९ करोड ७८ लाख तथा १ अर्ब ४५ करोड ८ लाख रुपैया विक्री रहेको पोखरा क्षेत्रको सबैभन्दा कम २४ करोड रुपैयाँ मात्र बक्यौता उठ्न बाँकी छ ।
विगतमा प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयले वक्यौता असुली गर्न नसक्दा प्राधिकरणमा बक्यौता बढ्दै गएको हो । निर्देशानालय भने वक्यौता उठाउनका लागि प्राधिकरणले अभियान नै सञ्चालन गरेको बताउँछन् । ‘हामीले क्षेत्रीय कार्यालयहरुमा पुगेर समयमै बाँकी वक्यौता नतिर्ने ग्राहकहरुलाई लक्षित गरी कार्यायोजना बनाएर उठाउन निर्देशन दिएका छौ ।’–प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डे भन्छन्–‘छिटो बक्यौता उठाउनका लागि क्षेत्रीय कार्यालयका प्राधिकरण केन्द्रीय कार्यालयका प्रतिनीधिहरुको उपस्थितीमा अन्तरक्रिया गर्नुका साथै वक्यौताबारेका समस्या सुनी समाधानका लागि छलफल गरिरहेका छौ ।’
प्राधिकरण व्यवस्थापनले बक्यौता उठाउनका लागि प्रयास भईरहेको जनाएपनि हालसम्म वक्यौता उठाउने लक्ष्यालाई निर्धारण कुनै योजना बनाएको छैन भने पहुँचवाला व्यक्तिहरुको शक्तिको आधारमा लाइन काटेर कालोसुचीमा नराखेको कारण पनि वक्यौता उठाउन कठिनाई भईरहेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।


No comments: