Monday, April 14, 2014

कालोसुचीका ग्राहकलाई १५ दिनभित्र बक्यौता बुझाउन प्राधिकरणको अल्टिमेटम



–नतिरेमा अन्य लाइन काटिने
– तीन पुस्ते सार्वजनिक
– सरकारी सेवामा रोक
– कानुनी कार्बाही
भीम गौतम\राजधानी
काठमाडौं, २९ चैत्र । नेपाल विद्युत प्राधिकरणले कालोसुचीमा रहेका ग्राहकहरुलाई १५ दिनभित्र विद्युत महशुलको बाँकी वक्यौता बुझाउन अल्टिमेटम दिएको छ ।
प्राधिकरणले सार्वजनिक सुचना जारी गर्दै प्राधिकरणको कालोसुचीमा रहेका ३३ हजार ६ सय ६० ग्राहकलाई १५ दिनभित्र वक्यौता बुझाउन अल्टिमेटम दिएको हो । ‘१५ दिनभित्र कालोसुचीमा रहेका ग्राहकलाई विद्युत महशुल बुझाउन सार्वजनिक सुचनामार्फत अल्टिमेटम दिएका छौ ।’–प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने–‘बक्यौता नबुझाएमा चार चरणमा उनीहरुमाथि कार्बाही हुनेछ ।’
विजुलीको विल नतिरेर लाइन काटेको ६ महिनासम्म पनि नतिरेपछि विद्युत प्राधिकरणले ग्राहकलाई कालो सुचीमा राख्ने गरेको छ । प्राधिकरणले कालोसुचीमा मात्र ६४ करोड ८२ रुपैयाँ छ ।  कालोपाटीमा रहेको रकम बुझाउँदा थप २५ प्रतिशत जरीवाना लाग्ने भएकोले कालोपाटीबाट मात्र प्राधिकरणले ८० करोड रुपैयाँ वक्यौता उठाउन बाँकी छ ।
प्राधिकरणका अनुसार, १५ दिनभित्र प्राधिकरणले कालोसुचीमा रहेका ग्राहकहले महशुल नबुझाएमा पहिलो चरणमा ती ग्राहकले मुलुकभित्रका अन्य कुनै ठाउँमा सम्बन्धित ग्राहक र परिवारको नाममा लाइन लिएको भए काटिनेछ । त्यसैगरी दोस्रो चरणमा कालोसुचीमा रहेका ग्राहकहरुको तीन पुस्ते नाम सार्वजनिक गर्ने तथा तेस्रो चरणमा तीन पुस्ते नाम सार्वजनिक गर्दा पनि बक्यौता नतिरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, जिल्ला विकास समिति, गाउँ विकास समिति लगायतका सेवामूलक कार्यालयहरुमा दिने सेवामा रोक लगाउने गरी प्राधिकरणले सार्वजनिक सुचनासहित अल्टिमेटम दिएको हो । कालोसुचीमा रहेका ग्राहकलाई सेवा दिनु अघि अनिवार्य रुपमा बक्यौता बुझाउनुपर्ने व्यवस्था गर्न पत्र पठाइने प्राधिकरणले सार्वजनिक गरेको सुचनामा उल्लेख छ । अन्तिम चरणमा त्यो गर्दा पनि महशुल तिर्न नसकेमा सरकारी बाँकी बक्यौता सरह असुल अपर गर्न कानुनी प्रक्रिया अबलम्बन गर्ने प्राधिकरणले जनाएको छ ।
कालोपाटीमा रहेका ग्राहकहरुले अर्को लाइन लिन नमिल्ने व्यवस्था भएपनि प्राधिकरण व्यवस्थापनले वेवास्ता गरी पहुँचको भरमा लाइन दिँदा प्राधिकरणको कालोसुचीको रकम बढेको हो । २०४५ सालदेखि ग्राहकलाई कालोसुचीमा राख्न सुरु गरेपनि प्राधिकरण व्यवस्थापनले त्यसको तथ्यांक संकलन गरी बाँकी वक्यौता उठाउनका लागि कुनै पहल गरेको थियो । अहिले देशभरबाट कालोसुचीको तथ्यांक संकलन गरी वक्यौता उठाउनका लागि कार्यक्रम अघि बढाएको होे । अहिलेसम्म प्राधिकरणले कालोसुचीमा रहेका ग्राहकलाई कुनै कार्बाही गर्न सकेको छैन ।
साढे ३३ हजार प्राधिकरणका ग्राहकमध्ये सबैभन्दा बढी प्राधिकरणको काठमाडौ क्षेत्रीय कार्यालयका छन् । प्राधिकरणका अनुसार, काठमाण्डौ क्षेत्रमा मात्र २० करोड रुपैयाँ बराबरको रकमसहित ९ हजार ३ सय ५१ ग्राहक कालोसुचीमा छन् । सबैभन्दा कम प्राधिकरणको अत्तरिया क्षेत्रमा १ करोड ४३ लाख रुपैयाँसहित १ हजार ८५ जना ग्राहक कालोसुचीमा छन् ।

No comments: