Monday, April 21, 2014

हेटौडा क्षेत्रमा दुई अर्ब वक्यौता


भीम गौतम\राजधानी
हेटौडां,  ६ बैशाख । नेपाल विद्युत प्राधिकरणको हैटौडा क्षेत्रीय कार्यालयमा मात्र दुई अर्ब रुपैयाँ वक्यौता रहेको पाइएको छ ।
आठ क्षेत्रीय कार्यालयमा आठ अर्ब रुपैयाँ वक्यौता रहेकोमा प्राधिकरण हेटौडा क्षेत्रीय कार्यालय अन्तर्गत मात्र दुई अर्ब रुपैयाँ वक्यौता रहेको पाइएको हो । प्राधिकरणको हेटौडा क्षेत्रीय कार्यालय अन्तर्गत मकवानपुर, बारा, पर्सा र चितवन जिल्लाका आठ वितरण केन्द्र पर्छन । ‘हेटौडा क्षेत्रीय कार्यालय अन्तर्गत मात्र दुई अर्ब रुपैयाँ बराबरको बक्यौता छ, त्यो वक्यौता उठाउनका लागि हामीले सबै वितरण केन्द्रहरुलाई सक्रिय बनाएका छौ ।’–हेटौडा क्षेत्रीय कार्यालयका निर्देशक रामएकबाल यादवले जानकारी दिए ।
प्राधिकरणका वितरण केन्द्रमा वक्यौता उठाउने लगायतका समस्या देखिएपछि हैटौडा क्षेत्रीय कार्यालय पुगेको प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयको योजना तथा प्राविधिक विभागका प्रमुख हरिराज न्यौपाने, सहायक निर्देशकद्धय निर्मला शर्मा र सुर्य शिवाकोटी, प्राधिकरण केन्द्रीय लेखाका उप–निर्देशक गोपाल दाहाल लगायतको टोलीले ती वितरण केन्द्रका कर्मचारीहरुलाई तुरुन्तै वक्यौता उठाउन निर्देशन दिएको थियो । ‘बढी वक्यौता रहेका क्षेत्रहरुमा तुरुन्तै उठाउनका लागि प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयबाट पटक पटक पत्र पठाईसकेका छौ भने देशभरिका अधिकांश क्षेत्रीय कार्यालयहरुमा पुगेर निर्देशन समेत दिईसकेका छौ ।’–सहायक निर्देशक शिवाकोटी भन्छन्–‘वीरगञ्ज, कलैया, गौरजस्ता क्षेत्रमा वक्यौता सबैभन्दा धेरै देखिएको छ, बक्यौता उठाउनका लागि तदारुकता देखाउनु जरुरी छ ।’
बढी वक्यौता रहेका कलैया, गौर, वीरगञ्ज लगायतका वितरण केन्द्रका प्रतिनीधिहरुले भने बक्यौता बुझाउन नआउने गरेको तथा लाइन काट्ने वित्तिक्कै आफै जोड्ने गरेको गुनासो पोखेका थिए । उनीहरुका अनुसार, जिल्लास्थित प्रशासनिक निकायका प्रतिनीधिहरुले छिमेकी राष्ट्र भारतसँग जोडिएका नेपालका क्षेत्रहरुमा बक्यौता उठाउनका लागि असहयोग गरेपछि बक्यौता बढ्दै गएको हो । बिजुलीको लाइन काट्ने वित्तिक्कै स्थानीय राजनीतिक दलका साथै अगुवाहरुले समेत प्राधिकरणमा दबाब दिने गरेको कारण लामो समयदेखि वक्यौता रहेका क्षेत्रहरुमा लाइन काट्न नपाएको गुनासो उनीहरुले भेलामा गरेका छन् । कर्मचारीको अभावको कारणले समेत वक्यौता उठाउन समस्या परेको बताउँदै भेलामा सहभागी आठ वितरण केन्द्रका प्रतिनीधिहरुले बक्यौता उठाउनका लागि जनशक्ति थप र कर्मचारीलाई प्रोत्साहन गर्न माग गरेका थिए ।
क्षेत्रीय कार्यालयका अनुसार, वक्यौता वापतको सरकारी कार्यालयतर्फ ५ करोड ८७ लाख, सडक वत्तीतर्फ ४४ करोड, कालोसुचीतर्फ १५ करोड वक्यौता छ । क्षेत्रीय कार्यालय अन्तर्गत पनि सबैभन्दा बढी वीरगञ्ज वितरण केन्द्रमा ५८ करोड रुपैयाँ वकयौता छ । त्यसैगरी गौरमा ४१ करोड र कलैयामा ३३ करोड रुपैयाँ वक्यौता छ । त्यसैगरी भरतपुरमा २० करोड, हेटौडामा १२ करोड, टाँडीमा १० करोड, सीमरामा ६ करोड ६३ लाख र पालुङमा २ करोड १२ लाख रुपैयाँ वक्यौता छ ।



No comments: