Wednesday, April 22, 2015

तामाकोसीमा छुट्टै व्यवस्थापन समूह नहुने


भीम गौतम÷राजधानी
काठमाडौं, ८ वैशाख
निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा कार्यकारी प्रमुखसहितको छुट्टै व्यवस्थापन समूह नराखिनेभएको छ ।माथिल्लो तामाकोसीको ऋण प्रदायक सञ्चय कोषलगायतसँगको सम्झौतामा व्यवस्थापन समूह नियुक्ति गर्ने प्रावधान राखेकोमा अब व्यवस्थापन समूह नराखिने भएको हो । २०६७ पुसदेखि नै राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराई छनोट प्रक्रिया अघि बढाइएकोमा प्रस्तावदातासँगको आर्थिक वार्ता असफल भएपछि रद्द भएको थियो । त्यसपछि पटक–पटक ऋणदाता संस्थाका साथै ऊर्जा मन्त्रालयका उच्च अधिकारीहरूले समेत व्यवस्थापन समूह राख्न प्रयास गरेका थिए ।
आयोजना निर्माण सम्पन्न हुन अब १ वर्ष ३ महिना मात्र बाँकी रहेको अवस्थामा कार्यकारी निर्देशकसहितको व्यवस्थापन समूह असम्भव देखिएको हो । ‘पहिला राजनीतिक हस्तक्षेप हुन सक्ने कारण व्यवस्थापन समूह राख्ने कुरा गरेका थियौं तर स्वाभाविक रूपमा काम अघि बढेकाले त्यसलाई प्रमुख मुद्दा बनाएनौं,’ सञ्चय कोषका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद आचार्यले भने ।
परामर्शदातासमेत विदेशी रहेको अवस्थामा छुट्टै व्यवस्थापन समूह राख्नु आवश्यक नरहेको तर्क नेपाल विद्युत् प्राधिकरण र तामाकोसी व्यवस्थापनले गर्दै आएको थियो ।
पछिल्लो पटक ३१ वैशाख २०७१ मा माथिल्लो तामाकोसी बोर्डको सञ्चालक समितिले ऋण प्रदायक संस्थाहरूलाई व्यवस्थापन समूह अघि बढाउन प्रतिक्रिया मागेकोमा हालसम्म नआएकाले व्यवस्थापन समूह नराखिने निश्चित जस्तै भएको हो । व्यवस्थापन समूह राख्नुपर्ने पक्षमा रहेका ऋणदाताले नै चासो नदिएपछि यो प्रक्रिया अघि बढ्न नसकेको आयोजनाले जनाएको छ ।
ले आयोजना निर्माण कार्य ७५ प्रतिशतभन्दा बढी भइसकेको अवस्थामा व्यवस्थापन समूह राखिने सम्भावना कम रहेको बताए । कार्यकारी प्रमुखसहितको व्यवस्थापन समूह राख्दा प्रत्येक महिना २ करोड रुपैयाँभन्दा बढी खर्च हुनेछ । यही कारण आयोजनाको लागत झन्डै १ अर्ब रुपैयाँ जोगिने भएको छ । एक वर्षसम्म नयाँ छुट्टै व्यवस्थापन समूहबारे प्रतिक्रिया नदिएपछि र अब प्रक्रिया सुरु गरेर प्रस्ताव आह्वानलगायत गरेर छनोट गर्दासम्म आयोजना सम्पन्न भइसक्ने हुनाले अब छुट्टै व्यवस्थापन नरहने तामाकोसी आयोजनाका एक अधिकारीले बताए । उनका अनुसार विदेशी परामर्शदाता भएकाले व्यवस्थापन समूह नराख्दासमेत खासै समस्या परेको छैन । आयोजनामा नरकन्सल्ट एएस÷लाह्मेर इन्टरनेसनल जेभी परामर्शदाता छ । स्वदेशी लगानीमा निर्माणाधीन नेपालकै पहिलो जलविद्युत् आयोजनाको हालसम्म ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार १६ दशमलव ५ किलोमिटर सुरुङमध्ये हालसम्म १४ दशमलव ५ किलोमिटर बढी निर्माण सम्पन्न भइसकेको छ । २०७३ असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट विद्युत् उत्पादन भइसकेपछि नेपालमा हुँदै आएको वर्षाको लोडसेडिङ अन्त्य हुने अपेक्षा गरिएको छ । सुरुमा ३५ अर्ब २९ करोड रुपैयाँ लागत रहेको तामाकोसीको सुरुङमा समस्यालगायतका कारणले बढेर ४० अर्ब पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनी तामाकोसी जलविद्युत् कम्पनी निर्माण गरेर सुरु गरिएको सो आयोजनामा ४१ प्रतिशत प्राधिकरणको रहेको छ ।
http://rajdhani.com.np/article/0858393001429661121

No comments: