Thursday, April 30, 2015

महाभुकम्पबाट क्षतिग्रस्त संरचना पुर्ननिर्माण लागि छुट्टै प्याकेज

–शुक्रबारदेखि क्षतिको आंकलन गरिने
–बजेटको उच्च प्राथमिकता पुर्ननिर्माण
भीम गौतम\राजधानी
काठमाडौं, १६ बैशाख । राष्ट्रिय योजना आयोगले भुकम्पबाट क्षति भएका संरचनाहरुको पुर्ननिर्माण लागि आगामी बर्षको बजेट तथा कार्यक्रममा छुट्टै प्याकेज ल्याउने भएको छ ।
महाभुकम्पबाट क्षति भएका नीजि तथा सार्वजनिक संरचनाहरुको पुर्ननिर्माणका लागि नयाँ आर्थिक बर्ष २०७२÷०७३  का लागि छुट्टै प्याकेज ल्याउन लागेको हो । ‘आयोगले क्षतिको ऐकिन आंकलन गरेर छुट्टै पुर्ननिर्माण कार्यक्रम ल्याउन लागेको छ ।’–आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले भने–‘आयोगको बैठकले शुक्रबारदेखि यसका लागि क्षतिको आंकलन सुरु गर्नेछ ।’ उपाध्यक्ष पोखरेलले महाभुकम्प जानु अघि सरकारले पुर्वाधार क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने लक्ष्य राखेकोमा अब भने बजेट पुरै भुकम्पबाट पीडित सर्वसाधारण तथा सार्वजनिक संरचनाको पुर्ननिर्माणलाई विशेष केन्द्रित हुने जानकारी दिए । ‘महाभुकम्पबाट खर्बौको क्षति भएको छ, यसबारे विस्तृत अध्ययन गरेर कार्यक्रम ल्याउँछौ ।’–उनले भने । आयोगले बैठकनै बसेर यसबारे क्षति आंकलन गर्ने निर्णय समेत गरिसकेको आयोगले जनाएको छ ।
भुकम्पबाट पीडितहरुको गाँसबाँसका लागि तत्काल तथा भुकम्पबाट ध्वस्त भएका विद्यालय, पुरातात्विक मठ, मन्दिर लगायतका सार्वजनिक संरचनाहरुका लागि दीर्घकालीन कार्यक्रम ल्याउनका लागि आयोगले योजना निर्माण अघि बढाईसकेको छ । ‘आयोगले भविष्यमा समेत भुकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि भौतिक संरचना निर्माणको मापदण्डदेखि जनचेतनालाई समेत समेटेर नीति ल्याउने छ ।’–आयोगका सह–सचिव गोपी मैनालीले भने ।
चालु आर्थिक बर्षभित्रै गर्ने तत्कालीन र आगामी बर्षहरुमा गर्ने दीर्घकालीन गरी दुई कार्यक्रम अघि बढाउन लागेको आयोगले क्षतिको आंकलन आउँदो बर्षा अघिनै सक्ने लक्ष्य राखेको छ । इसिमोडको प्राविधिक सहयोगमा गरिने क्षतिको आंकलनका लागि प्राविधिकसहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु, विज्ञका साथै आयोग सचिवालयका कर्मचारीहरु र स्वयंसेवकको टोली शुक्रबारदेखि बढी प्रभावित क्षेत्रमा खटिने आयोगले जनाएको छ ।
प्रत्येक जिल्लामा गृह मन्त्रालय अन्र्तगतको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको दैवीक उद्धार समितिले क्षतिको संकलन गर्ने भएपनि आयोगले पनि अनुगमन गरेर यथार्थ पत्ता लगाउनका लागि छुट्टै अनुगमन गर्न लागेको हो । सरकारले भुकम्पबाट पीडितहरुका लागि उद्धार र तत्कालीन राहत दिने काम शुक्रबारसम्ममा अधिकांश सकिने भएकोले त्यसपछि पुर्ननिर्माण कार्यक्रम अघि बढाइने आयोगले जनाएको छ ।


No comments: