भीम गौतम\राजधानी
काठमाडौं, २१ चैत्र । जलविद्युत उत्पादन क्षमता आधारमा सबैभन्दा कमजोर मुलुकको रुपमा चिनिएको नेपालमा विद्युत चुहावट भने दक्षिण एशियाकै अग्रस्थानमा छ ।
नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराएको एक तथ्यांक अनुसार, नेपालमा २४ दशमलब ६४ प्रतिशत विद्युत चुहावट छ । जुन दक्षिण एशियाकै सबैभन्दा बढी हो । ‘सम्भवत दक्षिण एशियामा सबैभन्दा बढी चुहावट नेपालमा हुन सक्छ ।’–विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने–‘चुहावट नियन्त्रणका लागि हामीले अभियानै चलाएका छौ, पहिलाभन्दा घट्दैछ ।’ नेपालमा पाँच बर्ष अघि विद्युत चुहावट ३० प्रतिशत नाघेको थियो तर अहिले घट्दै गएपनि अन्य दक्षिण एशियाका राष्ट्रहरुको तुलनामा सबैभन्दा बढी हो । नेपालमा हालसम्म भएको अध्ययनको आधारमा ८४ हजार मेगावाट विद्युत उत्पादन क्षमता रहेकोमा ८ सय मेगावाट मात्र उत्पादन छ । यो एकदम न्यून उत्पादन हो ।
प्राधिकरणका अनुसार, भारतमा २४ प्रतिशत मात्र चुहावट छ भने श्रीलंकामा ११ दशमलब २४ प्रतिशत, पाकिस्तानमा १७ प्रतिशत, वंगलादेशमा १४ दशमलब ६१ प्रतिशत र भुटानमा ४ दशमलब ३ प्रतिशत चुहावट छ । छिमेकी राष्ट्र चीनमा समेत ६ दशमलब ५ प्रतिशत मात्र चुहावट छ । भारतका राज्यहरुमा भने ७१ प्रतिशतसम्म चुहावट छ । भारतको जम्बु एण्ड कस्मिरमा ७१ प्रतिशत चुहावट छ भने बिहारमा ६५ प्रतिशत चुहावट छ । अन्य राज्यमा भने धेरै कम छ ।
विकसित राष्ट्रहरुमा पनि तुलनात्मक रुपमा धेरै कम चुहावट छ । विश्व बैकको तथ्यांक अनुसार, अमेरिकामा ६ दशमलब १ प्रतिशत, बेलयायतको ८ दशमलब ६ प्रतिशत, फ्रान्समा ७ दशमलब ३ प्रतिशत, जापानमा ४ दशमलब ७ प्रतिशत, कोरियामा ३ दशमलब ७ प्रतिशत र लाओसमा १० दशमलब ३९ प्रतिशत मात्र विद्युत चुहावट छ ।
विद्युत प्राधिकरणका अनुसार, यस बर्ष १ अर्ब २२ करोड युनिट अर्थात झण्डै झण्डै १० अर्ब बराबरको विद्युत चुहावट हुने अनुमान छ । अघिल्लो आर्थिक बर्षमा ८ अर्ब बराबरको विद्युत चुहावट भएको थियो । १५ प्रतिशत प्राविधिक र १० प्रतिशत अप्राविधिक (चोरी) चुहावट रहेको प्राधिकरणमा यसका लागि कार्यक्रम भने भईरहेको छ तर चुहावट नियन्त्रण प्रभावकारी हुन सकेको छैन । ‘चुहावट नियन्त्रणका लागि अभियाननै सुरु गरेका छौ ।’–प्राधिकरण ग्राहक तथा वितरण निर्देशनानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने–‘मुलुकभर चलाएको चुहावट अभियानले आशावादी भएका छौ ।’ उनका अनुसार, हालसम्म चुहावट नियन्त्रण अभियान अन्र्तगत ५२ लाख २५ हजार बराबरको लाइन काटिसकेको छ भने ४६ लाख ७० हजार रुपैयाँ बराबर असुली भएको छ ।
चोरी क्षेत्रमा सुरक्षाको समस्या, स्थानीयबासीको असहयोग तथा प्राधिकरण कर्मचारीहरुको मिलेमतो लगायतका कारणले चुहावट नियन्त्रण अभियान कमजोर भएपनि प्राधिकरणले भने सफल हुँदै गएको दाबी गर्दै आएको छ । आर्थिक बर्ष २०६७÷०६८ मा प्राधिकरणले २८ दशमलब ३५ प्रतिशत रहेको चुहावटलाई पाँच बर्षभित्र २० प्रतिशतमा झार्ने लक्ष्य राखिएकोमा साढे तीन बर्ष नाघ्दा समेत २४ दशमलब ६४ प्रतिशतमै सीमित रहेको प्राधिकरण स्रोतले जनाएको छ ।
पुरानै र थोरै क्षमताका प्रशारण लाइन, ट्रान्सफर्मर र सव स्टेशनको मर्मत अभाव, गुणस्तरीय सामान उपयोग नगर्नु लगायतका कारणले प्राविधिक चुहावट बढ्दो छ । प्रशारण लाइन र वितरण लाइन गुरुयोजना निर्माणपछि प्राविधिक चुहावट घटाउनका लागि सहयोग पुग्ने आशा प्राधिकरणको छ ।
बक्समा
विद्युत चुहावट
नेपाल २४.६४ प्रतिशत
भारत २४ प्रतिशत
श्रीलंका ११.२४ प्रतिशत
भुटान ४.३ प्रतिशत
पाकिस्तान १७ प्रतिशत
वंगलादेश १४.६१ प्रतिशत
No comments:
Post a Comment