Sunday, May 3, 2015

महाभूकम्पपीडितलाई न किरिया खर्च न राहत

भीम गौतम\राजधानी
फटकशिला (सिन्धुपाल्चोक), १९ वैशाख
सिन्धुपाल्चोक फकटशिला गाविस–८ की २२ वर्षीया शान्ति दनुवार घरमा ५ महिनाका गंगा र जमुनालाई छोडेर पानी लिन धारामा जाँदै थिइन् । तर, उनी घर नफर्किंदै जमुनालाई महाभूकम्पले चुँडेर लग्यो ।
पुरिएको अवस्थामा एक घन्टापछि घर खोतल्दा साढे दुई वर्षीय छोरा र गंगा ज्युँदै भेटिए तर जमुनालाई महाभूकम्पले चुँडेर लग्यो । ‘घर त लग्यो लग्यो, महाभूकम्पले मेरो एउटा मुटुको टुक्रा चुँडेर लग्यो,’ उनले भनिन्, ‘न सरकारले राहत दियो, न त किरिया खर्च नै ।’ उनले लक्ष्मी प्रतिष्ठानले मेलम्चीमा दिएको चामलले अब गुजारा चल्ने बताइन् । छोरी गुमाउँदाको पीडा अह्य भए पनि बचेका बालबच्चा र परिवार पाल्नका लागि सबै पीडा बिर्सेर राहत कसले देला र बिहान, बेलुकाको छाक टारांैला भनेर कुर्नुपर्ने अवस्था सिर्जना भएको पीडा पनि उनले सुनाइन् ।
यस्तै पीडा छ, यही गाउँमा भक्तराम दनुवारको पनि । महाभूकम्पमा उनले आमा चरी दनुवार र भतिजी सजनालाई गुमाए । सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट टाढा भए पनि अरनिको राजमार्गको जिरो किलोबाट १५ किलोमिटरकै दूरीमा रहेको उनको घरसम्म सरकारी निकाय आइपुगेको छैन । ‘त्रिपाल त आएकै छैन, लडेको घरको जस्ताको गर्मिलो ओतमा बस्न विवश छांै न सरकारले किरिया खर्च दियो न त अन्य राहत नै,’ उनले गुनासो पोखे, ‘घरमा भएको सबै अन्नपात पुरियो, हामी गरिब दनुवार जातिको अन्नपात पनि कति नै थियो, त्यो पनि नभएपछि भोकभोकै बस्नुपर्ने अवस्था छ ।’ सरकारले आफ्नो मर्का बुझेर खाद्यान्नदेखि अन्य सहयोग नगरेपछि बाध्य भई मेलम्ची सडकमा आएर कसले के देला भनेर कुर्नुपर्ने अवस्था रहेको पनि उनीहरूले सुनाए । ‘आर्थिक समस्याको कारण ऋण सापटी लिएर १३ दिनमा गर्नुपर्ने काजक्रिया ७ दिनमै सकाए, अब सडक कुर्नुको विकल्प रहेन, सरकारले केही गरेन,’ उनले भने ।
Rahatमहाभूकम्पको कारणले खुट्टा भाँचिएपछि यहाँका श्रीराम दनुवारलाई कसरी पेट पाल्ने भन्ने चिन्ता छ । ‘भुइँचालोले खुट्टा भाँचियो, अब बिसेक हुन्छ कि हुन्न, नभएसम्म परिवार कसरी पाल्ने भन्ने चिन्ता छ,’ उनले भने । शान्ति, भक्तराम र श्रीरामको मात्र होइन, फटकशिला गाविस–८ स्थित दनुवार गाउँमा रहेका अधिकांश विपन्न दनुवारको अवस्था यस्तै छ । दनुवार गाउँमा ३ सय घरधुरी रहेकामा २ सय ६० घर दनुवार छन् । अधिकांशको जग्गा नभएको गुठीको जग्गा कमाउनुका साथै मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् । अधिकांशको घर महाभूकम्पबाट क्षतविक्षत भएपछि बिचल्ली भएको गाविसका पूर्वउपाध्यक्ष वेदलाल दनुवारले बताए । ‘सरकारले घोषणा गरेको तीन दिन बिते पनि काजक्रिया खर्च समेत दिएको छैन, न राहत दिएको छ,’ पूर्वउपाध्यक्ष दनुवारले भने, ‘जस्ताको घर हुनेहरूजस्ता झिकेर ओत लागेका छन्, नहुनेहरू खुला चौरमा पुगेका छन् ।’ उनका अनुसार, महाभूकम्पबाट दनुवार गाउँमा मात्र ६ जनाले ज्यान गुमाएका छन भने १० भन्दा बढी घाइते भए । जग्गा जमिन र राम्रो आम्दानीको स्रोत नभएको कारणले दनुवार बस्ती बिचल्लीमा रहेको भन्दै यहाँका दनुवारवासीले सरकारले जग्गा र घर बनाउनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । ‘कि गुठीको जग्गा देउ, नत्र भने जग्गा र बास देऊ, खान देउ,’ पीडित दनुवारले भने ।
खाद्यान्नको समेत समस्यामा रहेका दनुवारलाई बिहीबार र शुक्रबार विभिन्न संघसंस्थाले चाउचाउ, बिस्कुटलगायतका खाजा मात्र वितरण गरेका थिए । खाद्यान्नको अभाव हुन थालेपछि स्थानीय दनुवारका अगुवाले लक्ष्मी प्रतिष्ठानलाई खाद्यान्नका लागि सहयोग मागेका थिए । सोहीअनुसार शनिबार २ सय ५० घरधुरी दनुवारलाई खाद्यान्न वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष लक्ष्मी गौतमले बताए । ‘सरकारको पनि आँखा नपुगेको र पहुँचसमेत नभएका विपन्न दनुवारहरुलाई हामीले फोकस गरेर खाद्यान्न बाँडेका हौं,’ गौतमले भने ।
मृत्युको कारण दिउँसो सुत्ने रुटिन पनि बढी गर्मी हुने सिन्धुपाल्चोकको फटकशिला, भीमटार लगायतका क्षेत्रमा बिहानभरि काम गरेर दिउँसो सुत्ने गरेको कारण पनि महाभूकम्पका कारण धेरैको मृत्यु भएको छ । बिहान ६ बजे खेतबारीका काम गर्न जाने तथा दिउँसो ११ बजेतिर खाना खाएर १२ बजे पछाडी यस क्षेत्रमा सुत्ने रुटिन रहेका कारण पनि महाभूकम्प जाँदा धेरैको मुत्यु भएको स्थानीयले बताएका छन् । ‘बिहानभरि काम गरेर हामी दिउँसो १÷२ घन्टा सुत्छांै, म पनि कोठामा सुतिरहेको बेला भुइँचालो गएको थियो,’ फटकशिला–८ की बेली दनुवारले भनिन्, ‘झ्याल मात्र बाँकी रहँदा भाग्यले छोरा र म बाँच्यौं ।’
http://rajdhani.com.np/article/0343868001430598495

No comments: