Wednesday, May 6, 2015

महाभूकम्प केन्द्रित बजेट प्राथमिकतामा


वर्षाका लागि वैकल्पिक राजमार्ग बनाउन निर्देशन 

राजधानी समाचारदाता
काठमाडौं, २२ वैशाख
राष्ट्रिय योजना आयोगले महाभूकम्पबाट भएको क्षतिलाई प्राथमिकतामा राखेर बजेट ल्याउने गृहकार्य सुरु गरेको छ । ७ खर्ब ३५ अर्बको बजेट सिलिङ तोकेर यसबारेको छलफल अन्तिम चरणमा पु¥याएको आयोगले १२ वैशाखको महाभूकम्पबाट परिवर्तित अवस्थालाई केन्द्रित गरेर बजेट ल्याउन गृहकार्य सुरु गरेको हो ।
आयोगले पहिलो चरणमा मंगलबार गरेको शान्ति तथा पुनर्निर्माण, वन, भूमिसुधार, भौतिक पूर्वाधार र सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरू सहभागी थिए । उपाध्यक्ष डा. गोविन्दराज पोखरेलसहितका आयोग पदाधिकारी तथा मन्त्रालयका उच्च अधिकारीहरूबीच महाभूकम्प आएपछिको परिवर्तित अवस्थामा बजेटको स्वरूपबारे छलफल भएको थियो ।
‘पहिलो चरणमा बोलाइएका सबै मन्त्रालयका अधिकारीलाई आयोगले दिएको सिलिङमा पुनर्विचार गरी अत्यावश्यक मात्र राख्न र बाँकी महाभूकम्पको पुनर्निर्माणका लागि केन्द्रित गर्न निर्देशन दियौं,’ आयोगका सहसचिव गोपीनाथ मैनालीले भने ।
आयोगले महाभूकम्पका कारण जमिनमा समस्या रहेको र आगामी वर्षामा धेरै सडकहरू पहिरोको खतरामा रहेको भन्दै वैकल्पिक राजमार्गहरू तयारी अवस्थामा राख्नसमेत निर्देशन दिएको छ । पृथ्वी राजमार्गमा आउनसक्ने पहिरोलाई लक्षित गरी कान्ति राजपथलाई तयारी अवस्थामा राख्नसमेत आयोगले भौतिक मन्त्रालयलाई निर्देशन दिएको छ । आयोगले सबै मन्त्रालयलाई महाभूकम्पबाट भएको क्षतिको पूर्ण विवरण छिटो ल्याउन र त्यसका आधारमा प्राथमिकतामा निर्धारण गर्न आग्रह गरेको छ ।
महाभूकम्पबाट क्षति भएका ठूला संरचनाहरूको निर्माण २ खर्ब रुपैयाँको पुनर्निर्माण कोषबाट हुने भए पनि स–साना आयोजनालाई समेत लक्षित गरी बजेट ल्याउन आयोगले मन्त्रालयलाई निर्देशन दिएको छ । दोस्रो चरणमा ऊर्जा, स्थानीय विकासलगायत अन्य मन्त्रालयसँग पनि छलफल गरेर महाभूकम्पबाट भएको क्षतिलाई आधार मानी बजेटको प्राथमिकता निर्धारण गर्न निर्देशन दिने सहसचिव मैनालीले जानकारी दिए ।
आयोगले महाभूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माणका लागि आगामी वर्षको बजेट तथा कार्यक्रममा छुट्टै प्याकेज ल्याउने तयारीसमेत अघि बढाएको छ । यसका लागि आयोगले समेत क्षतिको आँकलन सुरु गरिसकेको जनाएको छ । भूकम्पबाट पीडितहरूको गाँस–बासका लागि तत्काल तथा भूकम्पबाट ध्वस्त भएका विद्यालय, पुराताŒिवक मठ–मन्दिरलगायत सार्वजनिक संरचनाका लागि दीर्घकालीन कार्यक्रम ल्याउन आयोगले योजना निर्माण अघि बढाइसकेको छ ।‘आयोगले भविष्यमा समेत भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि भौतिक संरचना निर्माणको मापदण्डदेखि जनचेतनालाई समेत समेटेर नीति ल्याउनेछ,’ मैनालीले भने ।
http://rajdhani.com.np/article/0534005001430871518

No comments: