हेटौंडामा छिट्टै वैकल्पिक भार प्रेषण केन्द्र
भीम गौतम /राजधानी
काठमाडौं, २८ वैशाख
काठमाडौं, २८ वैशाख
गत
१२ वैशाखमा गएको विनाशकारी भूकम्पपछि नेपाल विद्युत् प्राधिकरणको
केन्द्रीय ग्रिडमा जोडिएका सबै बिजुली एकाएक विच्छेद भए । प्राधिकरणको मुटु
मानिने भार प्रेषण केन्द्र (एलडीसी) मा रहेको मुख्य नियन्त्रण गर्ने
मोनिटर र मुख्य सर्भर ढलेर काम नलाग्ने भए ।जताजतै बिजुली विच्छेद भएपछिको
त्यो महाविपत्तिको अवस्था कम्ती दर्दनाक थिएन तर प्राधिकरण भार प्रेषण
केन्द्रमा‘ब्याक अप’ को रूपमा रहेको एउटा विकास सर्भर क्षति हुनबाट
जोगियो । सोही
‘ब्याक अप’ का कारण
भूकम्प गएको नौ घन्टापछि आपत्कालीन विद्युत् चाहिने क्षेत्रमा प्राधिकरणले
विच्छेद बिजुली जोड्न सक्यो । सोही कारण यस्तो महाविपत्तिका बेला पनि
प्राधिकरणले आवश्यक ठाउँमा बिजुली पठाएर जनमानसबाट स्याबासी पाएको हो ।
‘भार
प्रेषण केन्द्र भवनभित्र ब्याक अपको रूपमा रहेको एउटा सर्भर नजोगिएको भए
हामीले दिनभरिमा बिजुली जोड्न सक्ने थिएनौंं, भाग्यवश त्यो जोगिएको रहेछ,’
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘विद्युत् नजोडिएको
भए विपत्तिमा रहेका बिरामीको उपचारदेखि एयरपोर्टमा विमान अवतरणमा समेत
समस्या पर्ने अवस्था थियो ।’ बिजुली उपलब्ध नभएमा बिरामीको उपचारदेखि
एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टरको उद्धारमा समेत समस्या पर्ने अवस्था
रहेकोमा कर्मचारीको अथक् प्रयासमा जोगिएको सर्भरबाट बिजुली आपूर्ति गर्न
प्राधिकरण सफल भएको थियो । बिग्रिएको भए पनि डेढ महिनाअघि मात्र मुख्य
सर्भर र मोनिटर प्रणाली बिग्रेमा समस्या आउन सक्ने भन्दै केन्द्रले मर्मत
गरेको थियो ।
देशभर वितरण हुने
बिजुलीको माग र आपूर्तिको व्यवस्थापन प्राधिकरणले गर्छ । जसका लागि
केन्द्रमा मुख्य मोनिटर, मुख्य सर्भर तथा थप सब–स्टेसनका साथै अन्य
पूर्वाधारसँग बिजुली जोड्नका लागि इन्जिनियरको रूपमा अर्को सहायक सर्भर पनि
छ । मुख्य मोनिटर र सर्भर ढलेपछि बाँकी रहेको सहायक सर्भरबाटै बिजुली
जोडिएको प्राधिकरणले जनाएको छ ।
महाभूकम्प
गएको दिन त्रासका कारण धेरै अन्योल थियो । भार प्रेषण केन्द्रकै सर्भरसम्म
कर्मचारी पुग्नु तथा प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयले फिडर सबै
हिसाबले सुरक्षित छ भनेर प्रतिवेदन दिनु नै जोखिमपूर्ण थियो । ‘बारम्बार
भूकम्प गइरहेका बेला कर्मचारीको मनोबल उच्च बनाउनुपर्ने समस्या थियो, बल्ल ६
बजेतिर कर्मचारीलाई तयार गरेर साढे ७ बजेसम्म जोगिएको विकास सर्भरबाट
प्रणाली पुनःस्थापना गरियो,’ भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले
भने । उनले थपे, ‘ग्राहक तथा वितरण निर्देशनालयले फिडर सुरक्षा रहेको भनेर
प्रतिवेदन दिएपछि मात्र चार्ज गर्न मिल्छ, त्यो पनि गरेपछि बल्ल बेलुका
मात्र बिजुली आपत्कालीन क्षेत्रहरूमा जोडियो ।’ उनका अनुसार राति साढे ८
बजेसम्म प्राधिकरणका कार्यकारी निर्देशक काफ्ले आफैं बसेर प्रणाली
पुनःस्थापनका लागि सक्रिय भएका थिए ।
प्राधिकरणले
बेलुका ८ बजे आपत्कालीन उद्धारका लागि अत्यावश्यक क्षेत्र र निकायहरू
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सिंहदरबार, शिक्षण, वीरलगायतका अन्य
ठूला अस्पताल, राष्ट्रपति र प्रधानमन्त्री कार्यालयलगायतमा बिजुली सेवा
नियमित गरिसकेको थियो । अहिले भने बिजुली व्यवस्थापन प्रणाली सामान्य
अवस्थामा आइसकेको छ । प्राधिकरणका अनुसार भूकम्प जानुअघि १२ सय मेगावाटको
बिजुली माग रहेकोमा हाल ११ सय मेगावाट पुगिसकेको छ ।
भार
प्रेषण केन्द्रका अनुसार भूकम्प जानेबित्तिकै पहिला मस्र्याङ्दी
जलविद्युत् आयोजनाको बिजुली ट्रिप भएर बन्द भएको थियो भने त्यसपछि
मध्यमस्र्याङ्दी, कालीगण्डकीलगायतका ४३ जलविद्युत् आयोजनाको बिजुली उत्पादन
अवरुद्ध भएको थियो ।
बिजुली बन्द
भएसँगै भूकम्पबाट पीडितको उद्धारका लागि ठूलो समस्या हुने अवस्था रहेपछि
प्राधिकरण व्यवस्थापनले तत्काल २ सय प्राविधिक परिचालन गरेको थियो ।
‘तुरुन्तै प्राधिकरणका सबै कर्मचारी सक्रिय भएर विद्युत् रेस्क्यु गर्न
सक्यौं,’ प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक
रामचन्द्र पाण्डेले भने ।
प्राधिकरणले
ढलेको मोनिटरलाई पाँच दिन लगाएर मर्मतमार्फत प्रणाली पुनःस्थापन गरी
सञ्चालनमा ल्याएको थियो । ‘ढलेको मोनिटरलाई उठाएर मर्मत गरी जोखिम अवस्थामा
भए पनि सञ्चालन गरिरहेका छौं,’ प्रेषण केन्द्रका प्रमुख क्षत्रीले भने ।
केएफडब्लूको सहायतामा सन् २००१ देखि सञ्चालनमा आएको भार प्रेषण केन्द्रको
प्रणालीको आयु १० वर्षको मात्र भएपछि १५ वर्ष भइसक्दा पनि सञ्चालन भइरहेको छ
। एलडीसीको नयाँ प्रणाली ल्याउन परामर्शदाता छनोट प्रक्रिया अघि बढिरहेको
प्राधिकरणले जनाएको छ ।
१२ वैशाखको
महाविपत्तिको आपत्कालीन अवस्थाबाट पाठ सिकेर प्राधिकरणले वैकल्पिक एलडीसी
निर्माणका लागिसमेत प्रक्रिया अघि बढाएको छ । अन्य विकसित मुलुकहरूमा
भूकम्प, बाढीपहिरोजस्ता विपत्ति आएपछि हुन सक्ने प्रणालीको क्षत–विक्षतलाई
ध्यानमा राखेर मुख्य–मुख्य ठाउँमा एलडीसी राखिएको हुन्छ तर नेपालमा
एउटाबाहेक छैन ।
विपत्तिको
सम्भावनालाई दृष्टिगत गरी हेटौंडामा वैकल्पिक एलडीसी बनाउन केएफडब्लूसँग
छलफल अघि बढाइएको प्राधिकरण कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए ।
उनका अनुसार सोमबार भएको छलफलपछि केएफडब्लू कलंकीमा रहेको एलडीसीलाई नयाँ
प्रणाली राख्न तथा हेटौंडामा वैकल्पिक बनाउन अध्ययन अनुसन्धान अघि बढाउन
प्राधिकरण सहमत भएको छ ।
http://www.erajdhani.com/article/0516495001431387841
No comments:
Post a Comment