Tuesday, May 12, 2015

महाविपत्तिका लागि मोबाइल सबस्टेसन भ्यान

भीम गौतम/राजधानीकाठमाडौं, २७ वैशाख
नेपाल विद्युत् प्राधिकरणले भूकम्पजस्ता महाविपत्ति आएलगत्तै विद्युत् सेवा सुरु गर्न मोबाइल सवस्टेसन भ्यान खरिद गर्ने भएको छ । १२ वैशाखमा आएको महाभूकम्पको रेस्क्यु गर्ने क्रममा आइपरेका समस्यालाई दृष्टिगत गरी भविष्यमा हुने कुनै पनि विपत्तिका बेला विद्युत् सेवा सुरु गर्नका लागि सवस्टेसन भ्यान खरिद गर्ने भएको हो ।
‘कुनै पनि महाविपत्तिको बेला मोबाइल सवस्टेसन भ्यान अनिवार्य चाहिन्छ तर प्राधिकरणसँग छैन ।’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लले भने, ‘भविष्यमा आउने जुनसुकै विपत्तिका बेला पनि तत्काल विद्युत्को रेस्क्युका लागि खरिदका लागि अघि बढेका हौं ।’
भ्यान खरिद गर्नका लागि प्राधिकरणले एसियाली विकास बैक (एडीबी) सँग छलफलसमेत अघि बढाएको जनाएको छ । ‘एडीबीका अधिकारीहरूसँग छलफल अघि बढाइसकेका छौं, प्रस्ताव बनाएर पठाउनसमेत लागेका छौं ।’ उनले भने, ‘एडीबीका अधिकारीहरू यसमा सकारात्मक देखिएका छन् ।
दुई ट्रान्सफर्मरसहित तत्काल विद्युत् सुरु गर्न आवश्यक उपकरण हुने सो भ्यान भएपछि तत्काल विद्युत् विच्छेद भएको क्षेत्रमा बिजुली जोड्न सकिने प्राधिकरणले जनाएको छ । विकसित राष्ट्रहरूमा भूकम्प, बाढीपहिरोजस्ता विपत्तिबाट विद्युत् सेवा विच्छेद हुनेबित्तिकै सेवा सुरु गर्नका लागि यो भ्यान हुने भए पनि नेपालमा भने छैन ।
१२ वैशाखमा भूकम्प जानेबित्तिकै प्राधिकरणका कर्मचारीलाई मोबाइल भ्यानलगायतको अभावको कारणले तत्काल बिजुली रेस्क्यु गर्नका लागि समस्या परेको थियो । तैपनि दुई सय प्राविधिक उपयोग गरेर प्राधिकरणले भूकम्प गएकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सिंहदरबार, राष्ट्रपति निवास, प्रधानमन्त्री निवास, शिक्षण, वीरलगायतका अस्पतालमा विच्छेद बिजुली लाइन जोडेको थियो ।
‘मोबाइल सवस्टेसन भएको भए अझै चाँडो जोड्न सक्थ्यो तैपनि दुई सय प्राविधिक खटाएर एक दिनमै देशका महŒवपूर्ण ठाउँमा बिजुली जोड्यौं,’ प्राधिकरणका कार्यकारी निर्देशक काफ्लेले भने ।
विकसित मुलुकमा समेत भूकम्पबाट क्षतविक्षत भएका संरचना मर्मत गरेर तुरुन्तै बिजुली सुरु गर्न हप्तांै लागेको उदाहरण छ तर प्राधिकरणले यसपटक गएको भूकम्पमा भने तुरुन्तै रेस्क्यु गरेको छ । भूकम्प गएको १५ दिनमै विद्युत् सेवा सामान्य अवस्थामा आएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार मुलुकभरका अधिकांश फिडरमा बिजुली चार्ज भइसकेको छ ।
१२ सय विद्युत् माग रहेकामा भूकम्पपछि घट्दै गएकामा ११ सय मेगावाट पुगिसकेको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले जानकारी दिए । ‘केही भूकम्पको कारण विच्छेद विद्युत् जोड्न बाँकी छ तर माग ११ सय मेगावाट पुगिसकेको छ,’ उनले भने । प्राधिकरण अधिकारीहरूका अनुसार काठमाडांैको वितरण प्रणाली अत्यन्त अस्तव्यस्त छ ।
पुरानो र जीर्ण रहेको यो वितरण प्रणालीमा जुनसुकै बेला पनि जोखिम रहेको उनीहरू बताउँछन् ।
http://rajdhani.com.np/article/0679963001431312193

No comments: