Tuesday, May 12, 2015

अस्थायी बसोबासका लागि जस्तापाता र टेन्ट

राजधानी समाचारदाता
काठमाडौं, २८ वैशाख
विनाशकारी भूकम्पबाट पीडितहरूका लागि सरकारले तत्कालीन राहतस्वरूप जस्तापाता र टेन्ट दिने दिने भएको छ । राष्ट्रिय योजना आयोगले बनाइरहेको कार्ययोजनामा तत्काल दुई बन्डलसम्म जस्तापाता र जस्ता पु¥याउन नसकिने क्षेत्रमा सुविधायुक्त टेन्ट दिने भएको हो ।
वर्षामा भूकम्पपीडितहरूले ठुलो समस्या झेल्नुपर्ने अवस्थालाई विश्लेषण गरी सरकारले गाउँका लागि अस्थायी टहरा र सहरमा सेल्टर (आश्रयस्थल) बनाउने अन्तरिम कार्ययोजना बनाइरहेको छ ।
‘सम्भव हुने ठाउँमा वर्षा धान्ने गरी बनाइने टहराका लागि जस्ता र नहुने ठाउँमा सुविधायुक्त टेन्ट दिने अन्तरिम कार्ययोजना बनाउन लागेका छौं,’ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले भने, ‘वर्षा सुरु हुन छोटो समय मात्र बाँकी रहेकाले तत्कालका लागि अस्थायी रूपमा बसोबास गर्ने स्पष्ट खाकासहितको घरको मापदण्ड र कार्ययोजना आयोगले आगामी शुक्रबारसम्म सरकारलाई बुझाउँछ ।’
डा. पोखरेलले विभिन्न संघ÷संस्थाले अस्थायी बसोबासका लागि विभिन्न खाका तथा योजनाबारे आयोगमा समेत पेस गरिरहेको बताउँदै ती सबै प्रविधि र उपायबारे छलफल गरिरहेको जानकारी दिए । आयोग स्रोतका अनुसार विज्ञहरू पूर्वसचिव किशोर थापा र सुरेश आचार्यले अन्तरिम कार्ययोजना बनाइरहेका छन् ।
वर्षाअगावै भूकम्पपीडितहरूको पुनर्उत्थानका लागि बनाइने अस्थायी बसोबासका मन्त्रालयहरूबाट गर्न सकिने कार्यहरूको योजना बनाई बुधबारभित्र आयोगमा पेस गर्न निर्देशनसमेत दिएको छ । ‘अस्थायी बसोबासका लागि कुन मन्त्रालयले कस्ता कार्य र योजना बनाउन सक्छ भनेर सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर बुधबारभित्र कार्ययोजना ल्याउन भनेका छौं,’ आयोगका सहसचिव गोपी मैनालीले भने ।
सहरमा खाली जग्गा नभएकाले खाली सेल्टर र गाउँमा खुला जग्गा भएकाले अस्थायी टहरा बनाउन सके तत्कालीन समस्या समाधान हुने आयोगले ठहर गरेको छ । तर, जेठ महिनाभित्रै अस्थायी बसोबास नबनाएमा त्रिपालमुनि बसेका भूकम्पपीडितहरूको बिचल्ली हुने अवस्था देखिएपछि सम्भव हुने ठाउँमा जस्तापाता र नहुने ठाउँमा वर्षाबाट जोगिन सक्ने सुविधायुक्त टेन्टको व्यवस्थापन गर्नुपर्ने पक्षमा आयोग छ । अस्थायी बसोबासका लागि विभिन्न मोडलहरूबारे छलफल भए पनि अन्तिम टुंगो भने नलागिसकेको र शुक्रबारभित्र अन्तिम रूप दिने आयोगले जनाएको छ ।
‘हिमाल, पहाड वा गाउँ सहरमा कस्ता अस्थायी बसोबास बनाउने भनेर छलफल गरिरहेका छौं, अन्तिम टुंगो लाग्न बाँकी छ,’ आयोग सहसचिव मैनालीले भने,
‘क्षतिको विवरणपछि अहिले आयोगले भूकम्पपछिको पुनःस्थापनको आँकलन गरिरहेको छ, यसको आधारमा अन्तरिम योजना बन्छ ।’
असारदेखि वर्षा सुरु हुने भएकाले पीडितले यस अवस्थामा सबैभन्दा बढी पीडा खप्नुपर्ने कारण जेठभित्रै अस्थायी टहरा र सेल्टर बनाइसक्नुपर्ने अवस्था छ । वर्षापछि स्थायी रूपमा बासको व्यवस्था गर्दा सबै सामान उपयोग हुने गरी अस्थायी टहरा निर्माणका लागि कार्ययोजना र मापदण्ड विज्ञहरूले निर्माण गरिरहेको आयोगले जनाएको छ ।
http://rajdhani.com.np/article/0572127001431389064

No comments: