वैशाखभित्र कार्ययोजना र मापदण्ड
भीम गौतम /राजधानी
काठमाडौं, २४ वैशाख
काठमाडौं, २४ वैशाख
विनाशकारी
भूकम्पपीडितका लागि सरकारले गाउँका लागि अस्थायी टहरा र सहरमा सेल्टर
(आश्रयस्थल) बनाउने भएको छ । गत १२ वैशाखको महाभूकम्पबाट निजी आवास बस्न
नहुने गरी क्षतिग्रस्त भएपछि सरकारले वर्षाअगावै निर्माण हुने गरी अस्थायी
टहरा र सेल्टर बनाउनलागेको हो ।
गृह
मन्त्रालयका अनुसार बिहीबारसम्म महाभूकम्पबाट २ लाख ८८ हजार ७ सय ९८ ओटा
निजी घर पूर्णरूपमा क्षति भएको तथ्यांक संकलन भएको छ । यस्तै, २ लाख ५४
हजार १ सय १२ घरहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । तर, यो तथ्यांक
प्रारम्भिक मात्रै रहेको र क्षति विवरण निकै बढ्न सक्ने अनुमान मन्त्रालयले
गरेको छ ।
यसैलाई मध्यनजर गरी
अस्थायी टहरा र सेल्टरका लागि राष्ट्रिय योजना आयोगले कार्ययोजना तथा
मापदण्ड निर्माण कार्य गरिरहेको छ । ‘सहरमा खाली जग्गा नभएकाले सेल्टर र
गाउँमा खुला जग्गा भएकाले अस्थायी टहरा बनाउने गरी अघि बढेका छौं,’ योजना
आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोखरेलले राजधानीसँग भने, ‘वैशाख
महिनाभित्रै यसका लागि कार्ययोजना र मापदण्ड बनाएर
सरकारलाई दिन्छौं ।’
असार
महिनादेखि वर्षा हुने र त्यसपछि महाभूकम्पबाट पीडितका लागि दिइएको
तत्कालीन टेन्ट र त्रिपालले मात्र वर्षाको पानी थेग्न नसक्ने भएकाले
सरकारले वर्षाभरिको समयका लागि अस्थायी बसोबासको व्यवस्था गर्न लागेको हो ।
असारदेखि वर्षा सुरु हुने र वर्षामा टेन्ट र त्रिपालमा बसेका
महाभूकम्पपीडितहरूले सबैभन्दा बढी पीडा खप्नुपर्ने कारण जेठभित्रै अस्थायी
टहरा र सेल्टर बनाइसक्नुपर्ने अवस्था छ ।
‘असारदेखि
वर्षा सुरु हुने भएकाले महाभूकम्पबाट पीडितहरूका लागि जेठभित्रै अस्थायी
टहरा र सेल्टर बनाउनुपर्छ,’ आयोगका सहसचिव गोपीनाथ मैनालीले भने । टेन्ट र
त्रिपालको सट्टा जस्ताको पाता दिएर भूकम्पबाट क्षतिग्रस्त गाउँगाउँमा
अस्थायी टहरा तथा सहरको खाली क्षेत्रमा धेरै परिवार बसोबास गर्न सक्ने गरी
सेल्टर बनाएपछि स्थायी रूपमा भने आगामी आर्थिक वर्ष २०७२÷०७३ को बजेटमा
पुनर्निर्माणको प्याकेज ल्याउने योजना सरकारको छ ।
महाभूकम्पले
अति विकट क्षेत्रमा जाने सडकमार्ग विच्छेद भएको तथा आवश्यक सामग्रीहरू
पु¥याउन ढिला हुँदा वर्षाअघि अस्थायी टहरा बनाउनु चुनौतीपूर्ण छ । तर,
सरकारी अधिकारीहरूले ठाउँ हेरी आवश्यकताको आधारमा हेलिकोप्टरबाट समेत
सामग्री लैजाने बताएका छन् ।
वर्षापछि
स्थायी रूपमा बासको व्यवस्था गर्दा सबै सामानहरू उपयोग हुने गरी अस्थायी
टहरा निर्माणका लागि कार्ययोजना र मापदण्ड विज्ञहरूले निर्माण गरिरहेको
आयोगले जनाएको छ ।
‘पहिलो चरणमा निजी
आवास र विद्यालय सञ्चालनका लागि अस्थायी भवन बनाउने गरी कार्ययोजना र
मापदण्ड बनिरहेको छ,’ आयोगका सहसचिव मैनालीले भने, ‘पछि पुनर्निर्माण गर्दा
सामग्रीहरू उपयोगी हुने गरी संरचना निर्माणमा जोड दिइएको छ ।’
आयोगले
विज्ञहरूलाई बोलाएर गरेको छलफलमा समेत उनीहरूले मौसम, भूधरातल र ढाँचाको
आधारमा स्थानीय स्रोतसाधनको उपयोग हुने गरी तत्कालीन अस्थायी टहरा बाउन
सल्लाह दिएका थिए ।
छलफलमा नेपाल
विज्ञान, प्रविधि तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.जीवराज पोखरेल,
नेपाल इन्जिनियर्स एसोसिएसन अध्यक्ष धु्रव थापा, नेपाल आर्किटेक समाजका
अध्यक्ष किशोर थापा, विज्ञ शंकरनाथ रिमालका साथै यूएन हयाबिट्याट, एक्सन
एडका प्रतिनिधिलगायत सहभागी थिए । अधिकांशले दातृ निकायमा निर्भर नभई
सरकारको स्वामित्वमा स्थानीय प्रविधि र स्रोतसाधनको उपयोग गरेर छिट्टो
अस्थायी टहरा निर्माण कार्य अघि बढाउन सुझाव दिएका थिए ।
http://rajdhani.com.np/article/0013001001431045056
No comments:
Post a Comment