लोडसेडिङ बढ्ने
भीम गौतम /राजधानी
काठमाडौं, १० जेठ
काठमाडौं, १० जेठ
कालीगण्डकी नदीले पुरिएपछि नेपाल विद्युत् प्राधिकरणले नेपालकै सबैभन्दा ठुलो १ सय ४४ मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजनाको उत्पादन बन्द गरेको छ । आइतबार बिहान सवा ११ बजेसम्म विद्युत् उत्पादन भइरहेको सो जलविद्युत् आयोजना कालीगण्डकी थुनिएर भरिएको जलाशय फुटेर जोखिमता आउन सक्ने भन्दै उत्पादन बन्द गरिएको हो । प्राधिकरणका उपकार्यकारी निर्देशक शेरसिंह भाटले पुरिएको जलाशय फुट्दाको अवस्थामा जलविद्युत् आयोजना तथा त्योभन्दा तल्लो क्षेत्रमा रहेका क्षेत्रमा थप जोखिमता देखिने भएकाले आयोजनाको उत्पादन बन्द गरिएको जानकारी दिए ।
‘कालीगण्डकी जलविद्युत् आयोजनाको बाँधसम्म भरिएको जलाशय आउन साढे तीन घन्टा लाग्छ । तर, एकै पटक फुटेर छिटो आउन सक्ने तथा फुटेपछिको कालीगण्डकीका ढोका खोल्न प्राविधिक समस्या भएकाले कालीगण्डकी बाँधको ढोका खुला गरिएको हो,’ उनले भने । उत्पादन बन्द गरेको कालीगण्डकी जलविद्युत् आयोजनाको उत्पादन कहिलेदेखि सुरु गर्ने भन्नेबारे पनि प्राधिकरणमा अन्योल देखिएको छ ।
बाँधको प्राविधिक अवस्था हेरेर मात्र आयोजना सञ्चालन हुने÷नहुनेबारे टुंगो लाग्न सक्ने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काङ्खलेले जानकारी दिए । ‘भरिँदै गएको जलाशय कसरी फुट्छ भन्ने आधारमा मात्र उत्पादन गर्ने÷नगर्नेबारे टुंगो लाग्छ,’ कार्यकारी निर्देशक काङ्खलेले भने ।
प्राधिकरणद्वारा निर्माणाधीन ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजना नदी थुनिएकोभन्दा तीन किलोमिटर तल मात्र रहे पनि सो आयोजनाको प्रारम्भिक कार्य सुरु नभएकाले खास क्षति नहुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जलाशय फुटेमा ठेकेदार कम्पनीले निर्माणका लागि लगेका क्रसर र अन्य मेसिनमा भने क्षति पुग्न सक्नेछ ।
कालीगण्डकीको उत्पादन बन्द भएपछि अघोषित रूपमा काठमाडौं र आसपासका क्षेत्रमा लोडसेडिङ नभइरहेको बेला आइतबार साँझदेखि नियमित लोडसेडिङ हुने र अवस्था हेरेर लोडसेडिङ बढ्न सक्ने प्राधिकरणले जनाएको छ । कालीगण्डकीको उत्पादन बन्द भएपछि प्राधिकरणले भारतबाट थप आयात गर्न लागेको छ । ‘हाल भारतबाट १ सय ७० मेगावाटको हाराहारीमा विद्युत् आयात भइरहेकोमा ५० मेगावाट थपिएको छ,’ प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले भने ।
http://erajdhani.com/article/0252918001432515197
No comments:
Post a Comment