आयोजना निर्माण एक वर्ष लम्बियो गोगरदेखि लामाबगर सडक पूर्ण क्षतिग्रस्त
भीम गौतम /राजधानी
काठमाडौं, ३० वैशाख
काठमाडौं, ३० वैशाख
राष्ट्रिय
गौरवको स्वदेशी लगानीमा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी
जलविद्युत् आयोजना महाभूकम्पपछि खतरामुक्त देखिएको छ ।मंगलबार परामर्शदाता र
विज्ञहरूले आयोजनास्थल पुगेर गरिएको अध्ययनले आयोजना खतरामुक्त देखिएको हो
। १२ वैशाखमा गएको महाभूकम्प र त्यसपछि निरन्तर गइरहेको पराकम्पनले पहुँच
मार्ग र बाँधमा केही समस्या देखिए पनि आयोजना खतरामुक्त रहेको आयोजना
प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए । ‘१२ वैशाख र बुधबारका ठूला तथा
अन्य भूकम्पका महाकम्पनले आयोजनास्थलमा केही क्षति भए पनि आयोजना खतरामुक्त
रहेको विज्ञहरूको प्रारम्भिक अध्ययनमा देखिएको छ,’ उनले भने, ‘विज्ञहरूले
विस्तृत अध्ययनपछिको प्रतिवेदनको आधारमा आयोजना अघि बढ्नुपर्छ ।’
आयोजनाका
अनुसार आयोजनाका भूमिगत संरचनाहरू सुरुङ र विद्युत्गृहमा कुनै क्षति भएको
छैन भने बाँध १७ सेन्टिमिटर धसिएको छ । ‘गम्भीर किसिमले चर्किएको छैन, १७
सेन्टिमिटर धसिएको मात्र हो,’ आयोजना प्रमुख श्रेष्ठले भने । भूकम्पका कारण
गोगरदेखि लामाबगरसम्मको ११ किलोमिटरको सडक भने क्षतिग्रस्त भएको छ ।
आयोजनाका अनुसार सात ठाउँमा ठूलो पहिरो गएको छ । त्यसैगरी, आयोजनाको कभर
ड्यामसमेत भत्केको छ । बाँध रहेको लामाबगरसम्म सडक विच्छेद भएकाले वर्षाअघि
नै बाँधलाई मर्मत गरेर थप क्षति हुन नदिने गरी पुनर्निर्माण गर्नु
चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ । भूकम्पको पराकम्पन रोकिएपछि कम्तीमा
एक महिना विज्ञहरूको विस्तृत अध्ययन र बाँध सुरक्षित बनाउन समय आवश्यक
पर्ने भए पनि भूकम्पको धक्का बारम्बार गइरहेकाले यसका लागि समस्या देखिएको छ
। गोगरदेखि लामाबगरसम्मको सडकमा बारम्बार पहिरोसमेत गएकाले थप समस्या
देखिएको आयोजनाले जनाएको छ । ‘सडक बनाउन नसके पनि पैदल मार्गसमेत बनाएर
बाँध वर्षाअघि नै मर्मत गरेर सुरक्षित बनाउन लागेका छौं,’ आयोजना प्रमुख
श्रेष्ठले भने । आगामी वर्षाभरिलाई आयोजना निर्माणका लागि आवश्यक सबै उपकरण
र सामग्रीहरू ल्याइसक्नुपर्ने र ल्याउन लागिएकोमा भूकम्पपछि ल्याउन नसक्दा
आयोजनाको निर्माण सम्पन्न मिति कम्तीमा एक वर्ष पछाडि धकेलिने भएको छ ।
आयोजना ०७३ असारसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको थियो ।
‘सकेसम्म आयोजनाको निर्माण मितिलाई ढिलाइ गर्ने पक्षमा हामी छैनांै । तर,
भूकम्पपछि कम्तीका एक सिजन ढिला हुने देखिएको छ,’ आयोजना प्रमुख श्रेष्ठले
भने, ‘सबै सामग्री ल्याउन नसकेपछि काम ढिलाइ त हुने भयो नै ।’
आयोजना
अघि बढाउन मजदुरको अभावसमेत समस्याको रूपमा देखिन थालेको छ । अधिकांश
दोलखा र सिन्धुपाल्चोकका मजदुरहरू रहेको आयोजनामा ती दुवै जिल्ला भूकम्पबाट
बढी प्रभावित भएपछि यस्तो समस्या देखिएको हो । आयोनजामा रहेका अधिकांश
भारतीय र चिनियाँ कामदारसमेत भूकम्पछि फर्किसकेका छन् । आयोजनाका अनुसार
सबै मजदुरहरू काममा फर्कन लामो समय लाग्ने भएकाले आयोजनाको काम दु्रतगतिमा
अघि बढाउन कठिन छ । भूकम्पपछि आयोजनाको निर्माण कार्य पूर्ण रूपमा रोकिएको छ
।
http://rajdhani.com.np/article/0326686001431605113
No comments:
Post a Comment