Wednesday, May 6, 2015

९५ प्रतिशत विद्युत् ‘रेस्क्यु’ भारतबाट ‘रेस्क्यु’ उपकरण सहयोग

भीम गौतम /राजधानी
काठमाडौं, २२ वैशाख
नेपाल विद्युत् प्राधिकरणले महाभूकम्पका कारण क्षति पुगेको बिजुलीको उद्धार (रेस्क्यु) कार्य ९५ प्रतिशत सकेको छ । महाभूकम्प गएको दिनदेखि नै रेस्क्यु सुरु गरेको प्राधिकरणले विद्युत् विच्छेद भएका ९५ प्रतिशत क्षेत्रमा बिजुली पु¥याएर रेस्क्युको काम अन्तिम चरणमा पु¥याएको हो । सबै जिल्ला सदरमुकाम तथा विद्युत् पुगेका सबै जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा नियमित भएको प्राधिकरणले जनाएको छ । ‘रेस्क्युको कार्य ९५ प्रतिशत सकिएको छ,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजधानीसँग भने, ‘विकसित मुलुकमा महिनौं लाग्ने भए पनि प्राधिकरणका दक्ष कर्मचारीको सामूहिक प्रयासमा महाभूकम्प गएको १० दिनमै यति धेरै प्रगति गर्न सकेका हौं ।’

काठमाडौं उपत्यकाभित्र समेत अधिकांश फिडर चार्ज भइसकेको प्राधिकरणले जनाएको छ । ‘काठमाडौंमा सबैजसो फिडरमा बिजुली चार्ज भइसकेको छ,’ प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘ग्रामीण क्षेत्रमा भने लामो फिडर भएकाले अनुगमन गरेर मात्र बिजुली चार्ज गर्नुपर्ने हुनाले केही समय बढी लाग्न सक्छ ।’ क्षतविक्षत विद्युत् सेवालाई तत्काल रेस्क्यु गर्न प्राधिकरणले उपकार्यकारी निर्देशकद्वय पाण्डे र कन्हैयालाल मानन्धरलगायत सम्मिलित टोली बनाएको छ । टोलीले दिनरात नभनी बिजुली सेवा दिनका लागि कार्य गरिरहेको र बिजुली प्राप्त भएपछि भूकम्पबाट पीडितका लागि केही उज्यालोको राहत भएको उपकार्यकारी निर्देशक मानन्धरले बताए । प्राधिकरणले सबै क्षतविक्षत पूर्वाधार र संरचना पुनर्निर्माण गर्नका लागि भने कम्तीमा एक वर्ष लाग्ने जनाएको छ ।
प्राधिकरणका अनुसार काठमाडौं उपत्यकाभित्र १ सय ५० फिडरमार्फत बिजुली उपलब्ध गराएको छ । ‘व्यक्तिगत रूपमै त पु¥याउनका लागि घर क्षतिग्रस्त भएको हुनाले समय लाग्छ तर सबै फिडरमा चार्ज भइसकेपछि अब विच्छेद भएको बिजुली जोडिएको छ,’ उपकार्यकारी निर्देशक पाण्डेले भने । महाभूकम्पका कारण काठमाडांै उपत्यकाको सबै बिजुली प्रणाली क्षतविक्षत भएकोमा भूकम्प गएकै दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल, सिंहदरबारलगायतका महŒवपूर्ण क्षेत्रमा रेस्क्यु गरिएको र त्यसपछि निरन्तर जारी राखिएको प्राधिकरणले जनाएको छ ।
विशेषगरी महाभूकम्पका कारण सिन्धुपाल्चोक, गोर्खा, रसुवा, धादिङ, दोलखा, काभ्रेपलाञ्चोकलगायतका जिल्ला विशेष प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले गरेको प्रारम्भिक विवरणअनुसार झन्डै ६० हजार बिजुलीका पोल भूकम्पका कारण क्षति भएको छ । भूकम्पको क्रममा करिब २ हजार ट्रान्सफर्मर डिस्चार्ज भएको पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार औद्योगिक क्षेत्रबाहेक बिजुलीको माग ७ सय मेगावाट रहेकोमा बिहीबारसम्म प्राधिकरणले ५ सय ५० मेगावाटबराबरको बिजुली प्रवाह गरिसकेको छ । १२ सय मेगावाट मागमध्ये अहिले सबै उद्योग व्यवसाय सञ्चालनमा नरहेकाले १ हजार मेगावाट मात्र माग छ । महाभूकम्पका कारण धेरै संरचनामा क्षति भएपछि छिमेकी राष्ट्र भारतबाट रेस्क्युका लागि विभिन्न उपकरण सहयोगस्वरूप आउन थालेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार भारतको नर्थ विहार पावर डिस्ट्रिब्युसन कम्पनी लिमिटेडले ७४ थान वितरण ट्रान्सफर्मर, एबीसी केबल १५ किलोमिटर, २ हजार इन्सुलेर सेट दिएको सहायता भन्सार आइपुगेको छ । त्यसैगरी, पावर ग्रिड कर्पोरेसन इन्डिया लिमिटेडमार्फत ९५ ड्रम ट्रान्सफर्मर आयल तथा दुई आयल स्टोरेज ट्यांक र एक आयल फिल्टर मेसिनसमेत सहायता पठाएको छ । गुजरातले समेत पावर ग्रिड कर्पोरेसनमार्फत ट्रान्सफर्मर पठाएको छ ।
http://rajdhani.com.np/article/0558352001430871628

No comments: