भीम गौतम /राजधानी
काठमाडौं, २८ भदौ
काठमाडौं, २८ भदौ
१
सय ३२ केभीको सोलु कोरिडोर प्रसारण लाइन निर्माण ठेक्का प्रक्रियामा
अनियमितता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊर्जामन्त्री राधा
ज्ञवालीसँग बयान लिएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले कम
रकम कबोल गर्ने कम्पनीलाई ठेक्का नदिएर बढी रकम कबोल गर्नेलाई दिएपछि
छानबिन गरिरहेको अख्तियारले बोलाएपछि मन्त्री ज्ञवाली सोमबार टंगालस्थित
अख्तियार पुगेकी थिइन् । ज्ञवाली विद्युत् प्राधिकरण सञ्चालक समितिकी
अध्यक्षसमेत हुन् ।
अख्तियारका
एक पदाधिकारीले मन्त्री ज्ञवाली अख्तियारमा उपस्थित भएर ठेक्काको निर्णय
प्रक्रिया, मोहन इनर्जीलाई दिनुको कारण, ज्यागुवार कम्पनी अयोग्य हुनुको
कारणसहितको बयान लिखित रूपमा दिएकी थिइन् । ‘बयानको आधारमा थप अनुसन्धान
गरी दोषी देखिएमा त्यसविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्छ,
अहिले अनुसन्धान भइरहेको छ,’ अख्तियारका एक आयुक्तले भने । अख्तियारले
मुद्दा दायर गरेमा मन्त्री ज्ञवाली स्वतः पदमुक्त हुनेछिन् ।
गत
४ भदौमा बसेको प्राधिकरण बोर्ड बैठकले भारतको मोहन इनर्जी नामक कम्पनीलाई २
अर्ब २६ करोड रुपैयाँमा ठेक्का दिने निर्णय गरेको थियो । अन्तिम छनोटमा
आउनबाटै रोक्नका लागि भारतको ज्यागुवार कम्पनीलाई चारओटा असम्बन्धित कुरा
देखाएर अयोग्य सावित गरिएको सो निर्णयविरुद्ध ऊर्जा सचिव राजेन्द्रकिशोर
क्षत्री र बोर्ड सदस्य सन्तोषनारायण श्रेष्ठले नोट अफ डिसेन्ट लेखी सबै
निर्णय प्रक्रियामा असहमति जनाएका थिए ।
प्रतिस्पर्धामै
आउन नदिन नियतवश परामर्शदातालाई मूल्यांकन गर्न लगाएर ज्वागुवरलाई रोकिएको
उनीहरूको फरक मत छ । ऊर्जा सचिवले फरक मत राखेपछि अहिले यही कारण मन्त्री र
सचिवबिच बोलचाल बन्द भएको छ भने ऊर्जा मन्त्रालयका कामकारबाहीसमेत
प्रभावित भएको छ । मन्त्रीले आर्थिक लाभका आधारमा २६ करोड बढी कबोल
गर्नेलाई ठेक्का दिनैपर्ने अडान लिएपछि सचिवले असहमति राखेका थिए ।
ऊर्जा
मन्त्रीसहित प्राधिकरणका सञ्चालकहरू लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज
लामिछाने तथा कार्यकारी निर्देशक मुकेशराज काफ्लेसहितको बहुमतले
मोहन इनर्जीको पक्षमा निर्णय गरेका थिए ।
आयोगले
प्राधिकरणका सञ्चालकहरू अग्रवाल, लामिछाने, मिश्र तथा कार्यकारी निर्देशक
काफ्लेसहितका निर्णय प्रक्रियामा संलग्न कर्मचारीसँगसमेत बयान लिएको छ ।
ज्यागुवारले
२० दशमलव ३५ मिलियन डलर र मोहन इनर्जीले २२ दशमलव ९७ मिलियन डलरमा विडिङ
कोट गरेका थिए । तर, प्राधिकरण सञ्चालक समितिले ज्यागुवारलाई अयोग्य घोषणा
गर्दै बढी कबोल गर्ने मोहन इनर्जीलाई योग्य बनाएको थियो । अख्तियारले
यसबारे ११ भदौमा सबै कागज पत्र नियन्त्रणमा लिएको थियो । बोलपत्रमा मोहन र
ज्यागुवारसहित केईसी इन्टरनेसनल, टाटा प्रोजेक्ट, कल्पतरु पावर
ट्रान्समिसन, ज्योति स्ट्रक्चर र ग्यामन भारत सहभागी थिए । ऊर्जा सचिव
क्षत्री र सदस्य श्रेष्ठले बोलपत्रहरूको मूल्यांकन गर्दा नियुक्त
परामर्शदाता, मूल्यांकन समिति र पुनर्मूल्यांकन समितिले समेत स्थापित
क्राइटेरियाबमोजिम मूल्यांकन नगरेको र न्यूनतम कबोल अंक पेस गर्ने
बोलपत्रदातालाई अयोग्य ठहर गर्दा निर्धारण गरिएको वस्तुनिष्ठ तथा विश्वसनीय
छ भन्न सक्ने अवस्थासमेत विद्यमान नरहेको भन्दै फरक मत राखेका थिए । तर,
मन्त्रीसहितका बहुमतले जसरी पनि बढी कबोल गर्नेलाई नै दिने भन्दै निर्णय
गरेका थिए । उनीहरूले तोकिएको सर्त र प्रावधानको आधारमा ज्यागुवार अयोग्य
देखिएकाले बाँकीमध्येको कम कबुल गर्नेलाई ठेक्का दिएको दाबी गर्दै आएका
छन् ।
आर्थिक वर्ष २०७१÷०७२ मै
निर्माण सम्पन्न हुनुपर्ने सोलु कोरिडोर विवादका कारणले हालसम्म सुरु हुन
सकेको छैन । तत्काल प्रसारण लाइन निर्माण सुरु गर्दा पनि साढे दुई वर्ष
लाग्ने प्राधिकरणले जनाएको छ । समयमै प्रसारण लाइन नबनेमा १८ मेगावाटको
सोलु जलविद्युत् आयोजना २०७४ माघमा निर्माण गरिसक्ने लक्ष्य छ भने ५ दशमलव २
मेगावाटको जुनबेंसी २०७४ साउन, ८२ मेगावाटको लोअर सोलु २०७५ साउन, २३
दशमलव ५ मेगावाटको सोलुखोला २०७५ साल साउन तथा ८६ मेगावाटको सोलुखोला
(दुधकोसी) जलविद्युत् आयोजना २०७६ चैतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
समयमै प्रसारण लाइन बनाउन नसकेमा प्राधिकरणले लोअर सोलु र सोलुखोला
जलविद्युत् आयोजनालाई ४५ प्रतिशत हर्जना तिर्नुपर्छ । ठेक्कापट्टामै विवाद
देखिएपछि आयोजनाको निर्माण पछाडि धकेलिने निश्चित भएको छ । सोही कारण
देखाएर मुलुकलाई अनियमितता गरी बढी रकम कबोल गर्नेलाई ठेक्का दिइएपछि
आर्थिक अनियमितता भएको ठहरसहित अख्तियारले छानबिन गरिरहेको छ । सोही क्रममा
मन्त्री ज्ञवाली अख्तियार पुगी बयान दिएकी हुन् ।
http://rajdhani.com.np/article/0279087001442279121
No comments:
Post a Comment