Tuesday, September 15, 2015

तराई बन्दले क्रस बोर्डर प्रसारण निर्माणमा ढिलाइ

राजधानी समाचारदाता
काठमाडौं, २८ भदौ
लगातारको तराई बन्दको कारणले नेपाल–भारत अन्तरदेशीय (क्रस बोर्डर) प्रसारण लाइन निर्माणमा ढिलाइ हुने भएको छ । भदौ महिनाभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको क्रस बोर्डर प्रसारण लाइन एक महिनादेखिको लगातार बन्दको कारणले ढिलाइ हुने भएको हो ।
निर्माणमा ढिलाइ हुँदा आगामी हिउँदमा लोडसेडिङ बढ्ने भएको छ । तिन वर्षभित्र मुलुकलाई लोडसेडिङमुक्त बनाउने आधारको रूपमा सरकारले यही अन्तरदेशीय प्रसारण लाइन बनेपछि भारतबाट हुने विद्युत् आयातलाई लिएको छ ।
४ सय केभीको सो ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन नबने आगामी १ नोभेम्बरदेखि भारतबाट आयात गरिने भनिएको ९० मेगावाट विद्युत् आयातमा समस्या हुँदा आगामी हिउँदमा लोडसेडिङ बढ्न सक्ने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए ।
‘हामीले क्रस बोर्डर प्रसारण लाइनमार्फत भारतबाट थप ९० मेगावाट विद्युत् आयात गर्न सम्झौता गरेका छौं । तर, बन्दले समयमा नबन्ने भएको छ,’ सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको अन्तत्र्रिmयामा उनले भने । विद्युत् प्राधिकरणले भारतबाट थप ९० मेगावाट आयात भएमा तथा कुलेखानी जलाशय भरिएमा आगामी हिउँदमा ८ घन्टादेखि १३ घन्टासम्म दैनिक लोडसेडिङ प्रक्षेपण प्राधिकरणको छ । तर, क्रसर बोर्ड निर्माणमा ढिलाइ नहुने र जलाशयसमेत नभरिने देखिएको छ । भारतबाट हाल प्राधिकरणले २ सय ५० मेगावाट विद्युत् आयात गरिरहेको छ । १ हजार २ सय मेगावाट विद्युत्को माग रहेकोमा अझै ५ सय मेगावाट विद्युत् अभाव छ ।
भूकम्पले क्षति पु¥याएका विभिन्न परियोजनाबाट ९३ मेगावाट बिजुली अझै उत्पादन हुन नसकेकाले वर्षामा समेत लोडसेडिङ बढेको बताए । ‘आन्तरिक उत्पादनकै आधारमा लोडसेडिङ अन्त्य गर्न अझै ८÷१० वर्ष लाग्छ, ठुला जलाशय नबनी हिउँदमा अन्त्य हुँदैन,’ कार्यकारी निर्देशक काफ्लेले भने, ‘भूकम्पले अझै ९० मेगावाट विद्युत् ग्रिडबाट बाहिर भएकाले वर्षामा समेत लोडसेडिङ बढेको छ ।’
कार्यकारी निर्देशक काफ्लेले विभिन्न कारणले अघि बढ्न नसकेको खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण अघि बढेको तथा मातातीर्थ–हेटौंडा प्रसारण लाइनको निर्माण छिट्टै सुरु हुन लागेको जानकारी दिए । सेजनका अध्यक्ष गोकर्ण अवस्थीले मुलुकको आर्थिक उन्नतिका लागि ऊर्जा अत्यावश्यक पूर्वाधार भएकाले ठुला परियोजनामा निजी तथा विदेशी लगानी आकर्षित गर्न सरकारले विशेष प्रयास थाल्नुपर्ने बताए । 
http://rajdhani.com.np/article/0128509001442283689

No comments: